फिचर

पाथीभरामा चढाइएका ७५ क्विन्टल सिक्का धोएर सफा गरिँदै

पाँचथर : पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको मन्दिरमा दर्शनार्थीहरूले चढाएका सिक्कालाई धमाधम धोई पखाली गरी सफा गर्ने काम भइरहेको छ ।

श्रद्धालु दर्शनार्थीहरूले भेटीका रूपमा चढाएका सिक्काहरू जिल्ला सदरमुकाम फुङ्लिङमा ल्याएर अहिले सफा गर्ने काम भइरहेको हो । सिक्कालाई अहिले दैनिक ९ जनाले धुने र सफा गर्दै सुकाउने कार्य गरिरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले बताए । ‘अहिले धमाधम धोई पखाली गर्ने काम भइरहेको छ ।

यस कार्यमा दैनिक ९ जना खटिएका छन्’ कार्यकारी अधिकृत भट्टराईले भने, ‘केही सिक्का भने साट्ने काम भइरहेको छ ।’ हालसम्म २ लाख ८२ हजार बराबरको सिक्का भने सटही गरिएको बताइएको छ । एनएमबी बैङ्क, नेपाल बैङ्क, सेन्चुरी बैङ्क तथा विभिन्न मठमन्दिर र गुम्बाहरूमा सटही गरिएको हो । अझै पनि धोएर थन्क्याएको नै ७५ क्विण्टल सिक्का साट्न बाँकी छ ।

उता मन्दिरमा पनि १० क्विण्टल जति जम्मा भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी नवीन निरौलाले जनाए । पाथीभरामा सङ्कलन गरिने भेटी स्वरूपको नगद ९कागजी रुपैयाँ० प्रत्येक साता ल्याउने गरिए पनि सिक्का भने एक सिजनमा एक पटक मात्र ल्याउने गरिन्छ । धोएर थन्क्याएको सिक्कालाई पनि साट्ने तयारी भएरहेको कार्यकारी निर्देशक भट्टराईको भनाइ छ । धोएर राखिएको सिक्कालाई ताप्लेजुङ शाखामार्फत् एनएमबी बैङ्कसँग साट्ने सम्झौता भएको छ ।

भट्टराईका अनुसार चाँडै नै ती सिक्का पनि सटही हुनेछन् । एक पाथी सिक्कामा करिब २२ किलो हुन्छ । दर्शनार्थीको भीड हुने बेलामा दैनिक दुई क्विण्टलभन्दा बढी सिक्का जम्मा हुने कर्मचारीहरू बताउँछन् । मौसम राम्रो हुँदा रामनवमी पर्वको समय फागुनदेखि वैशाख र दसैंको बेला असोजदेखि कात्तिकभर धेरै भीड लाग्छ ।

रेडियो मितेरी Live

error: Content is protected !!