राजनीति

६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

७ फाल्गुन २०७५, मंगलवार

आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाउन लागिएको हो । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल भएको छ । यस वर्ष पनि दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवस मूल समारोह समितिले अहिले सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको गरिरहेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति रहेको छ । सो क्रममा सेनाद्वारा तोप तथा बन्दुकको बडाइँ ९स्याल्भो र भली फायर० गर्नुका साथै ६९औं प्रजातन्त दिवस अंकित ब्यानरले सुसिज्जत नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि र बेलुन उडाइने छ । सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिने सो कार्यक्रममा नेपाली सेनाका जवानहरुले शान्तिको प्रतिकको रुपमा परेवासमेत उडाउनेछन् ।

सोही विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवशका अवसरमा शुभकामना सन्देश दिने कार्यतालिका रहेको गृह मन्त्रालयले जनाएको छ । प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको छ ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा अभूतपूर्व उपलब्धिहरु हासिल गरेको बताउनुभएको छ ।
६९औं प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देस जारी गर्दै उहाँले आजको दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना ब्यक्त गर्नुभएको छ ।

२००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेको स्मरण गर्दै प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा हामीले अभूतपूर्व उपलब्धिहरु हासिल गरेको सन्देसमा भनिएको छ ।

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गर्नुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा उपराष्ट्रपतिले शुभकामना सन्देस दिँदै प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर वीराङ्गनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको दाबी गर्नुभएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देस दिँदै उहाँले मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको बताउनुभयो ।

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको उहाँको शुभकामना सन्देसमा उल्लेख गरिएको छ ।

यसैगरि पूर्वराजा ज्ञानेन्द्र शाहले अझै पनि आम नेपालीले प्रजातन्त्रको अनुभूत गर्न नपाएको बताउनुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै उहाँले देश दौडाहाका क्रममा आफूले नागरिकले प्रजातन्त्रको अनुभुति गर्न नपाएको महसुस गरेको उल्लेख गर्नुभएको हो ।

शाहले जनतामा नैराश्यता, वितृष्णा बढेको र युवा पुस्तामा देश छाड्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गनभएको विज्ञप्तीमा उल्लेख छ ।

साभार