समाज

बिहे गरे २६ लाख, बच्चा जन्माए ऋण मिनाहा !

धेरैजसो देशले जनसंख्या वृद्धिलाई रोक्न प्रजनन दर घटाउने रणनीति अंगिकार गरेका छन् । तर, यो संसारमा एउटा यस्तो देश पनि छ जसले तीन बच्चा जन्मिए २६ लाख रुपैयाँसम्मको ऋण मिनाहा र चार बच्चा जन्माउने महिलालाई जीवनभर आयकर छुट दिने घोषणा गरेको छ ।

हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले आप्रवासी जनताको परनिर्भरता घटाउन र देशको भविष्य जोगाउन भन्दै यस्तो घोषणा गरेका हुन् ।
हंगेरीको जनसंख्या हरेक वर्ष ३२ हजारको दरले घटेको छ र युरोपेली संघको तुलनामा यहाँका महिलाहरुको बच्चाको औसत संख्या कम छ ।

देशमा बच्चाहरुको जन्मदर बढाउने योजनाको घोषणा गर्दै प्रधानमन्त्री भिक्टर अर्बनले नवविवाहित दम्पत्तिलाई बिनाब्याज २६ लाख रुपैयाँसम्मको ऋण दिने र उनीहरुका तीनवटा बच्चा जन्मिनासाथ ऋण मिनाहा गरिदिने बताएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री अर्बनले भनेका छन् पश्चिम देश आप्रवासीहरुलाई कम जनसंख्याको समस्याको रुपमा हेर्दछन् । तर पलायन भएका प्रत्येक बच्चाका लागि एक बच्चा आउनु जरुरी छ । यसरी जनसंख्या ठीक ठाउँमा आउँछ । उनले भनेका छन्– हंगेरीका जनता दोस्रो तरिकाले सोच्दछन् । हामीलाई संख्याको होइन, नागरिकको आवश्यकता छ ।

नीतिको विरोध

प्रधानमन्त्रीले यस कुराको घोषणा गरिरहेको बेला राजधानी बुडापेस्टमा यसविरुद्ध आक्रोश देखिएको थियो । उनको कार्यालय अगाडि करिब दुई हजार प्रदर्शनकारी भेला भएर घोषणा फिर्ता लिन माग गरिरहेका थिए । राजधानीको अन्य क्षेत्रमा पनि यसविरुद्ध आन्दोलन भइरहेको थियो ।

समाचारका अनुसार प्रधानमन्त्री भिक्टरको भाषणले सबैभन्दा धेरै प्रशंसा त्यतिबेला भयो जब उनले जन्मदर बढाउनका लागि सात सूत्रीय योजना घोषणा गरे । उनको योजनाका केही बुँदाहरु यस्ता छन्–

· आगामी तीन वर्षमा २१ हजारभन्दा बढी शिशु कक्षा स्थापना गरिने छ ।

· स्वास्थ्य क्षेत्रमा थप २।५ अर्ब डलर खर्च गरिने छ ।

· सात सिट क्षमताको गाडी किन्नेहरुलाई सरकारले सहयोग गर्ने छ ।

· घर बनाउन अनुदान दिइने छ ।

प्रधानमन्त्री भिक्टरले आफ्नो सम्बोधन ‘हंगेरी जिन्दावाद, हंगेरीका जनता जिन्दावाद‘’ नाराबाट अन्त्य गरेका थिए ।

हंगेरीमा महिलाहरुको औसत १।४५ बच्चा छन् जुन युरोपेली संघको औसत १।५८ भन्दा कम हो ।युरोपेली संघ अन्तर्गत फ्रान्सका महिलाहरुको सबैभन्दा बढी औसत १।९६ बच्चा छन् भने स्पेनमा सबैभन्दा कम १।३३ बच्चा छन् ।

विश्वभरमा सबैभन्दा धेरै प्रजनन दर पश्चिम अफ्रिकी मुलुक नाइजरमा छ । यहाँ प्रतिमहिला ६।२४ बच्चा छन् ।

साभार अनलाइनखबर

error: Content is protected !!