फिचर

अनुगमन टोलीलाई टेर्दैनन् फिदिमका मासु व्यवसायी

मितेरी समाचार
मासुको स्वच्छता र सफाईसँगै कानूनी प्रक्रिया पूरा गरेर व्यवसाय गर्न स्थानीय प्रशासनले बारम्बार सुझाव दिएपनि पाँचथरको फिदिमका मासु व्यवसायीहरूले अटेर गर्दै आएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पटक पटकको अनुगमनको क्रममा पशु बध गर्ने ठाउँ सफा राख्दै मुल्य सूची राखेर स्वच्छ मासु विक्री गर्न र व्यवसाय दर्ता गर्न भनिएपनि व्यवसायीहरूले अटेर गर्दै आएको पाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दिलनाथ लम्सालसँगै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर इन्द्रनारायण शाह सम्मिलित टोलीले आज गरेको अनुगमनको क्रममा फिदिमका अधिकाँश मासु व्यवसायीलाई पुरानै सुझाव सहितको ‘चिट’ दिएको छ । अब पनि नसुध्रिए कानून अनुसार कारबाही पनि गर्ने चेतावनी अनुगमन टोलीले दिएको छ । ‘व्यवसाय नगर्न भनेका होइनौँ । कानूनी प्रक्रिया पूरा गरेर स्वच्छ र सफा मासु बेच्नुहोस’ भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख शाहले मासु व्यवसायीहरूलाई भनेका छन् । उनले व्यवसाय गर्दै गर्दा व्यवसायीहरूले उपभोक्ताको स्वास्थ्यलाई ख्याल पनि गर्नु पर्ने बताए । अनुगमन टोलीसँग केही मासु व्यवसायीहरूले भने पहिले भन्दा मासु काट्ने ठाउँ निक्कै सफा र सुग्गर राखेको जिकिर पनि गरे ।
जहाँ यस्तो देखियो…..
फिदिमको मासु र माछा अधिक विक्री गर्दै आएको पूर्वाञ्चल फ्रेस हाउस सञ्चालकलाई पनि टोलीले चिट दिएको छ । चिटमा बुचरले एप्रोन,माक्स र पञ्जा लगायतको सामग्री प्रयोग नगर्दा उपभोक्तालाई बेच्ने मासु र माछा फोहोर पनि हुने जनाएको छ । मिश्र फ्रेस हाउसका सञ्चालक धनकुमार मिश्रलाई भने टोलीले फ्रेस हाउस निक्कै फोहोर देखिएको भन्दै तुरुन्त सफा गर्न भनेको छ । यससँगै मुल्य सूची नभएको, व्यवसाय दर्ता प्रमाणपत्र पनि नभएकोले १५ दिनसम्ममा व्यवसाय दर्ता गर्न सुझाव दिएको छ । फिदिम बजारकै भानु मार्गमा फ्रेस हाउस सञ्चालन गर्दै आएकी नसिमा खातुनलाई पनि फ्रेस हाउसमा मुल्य सूची नराखेको, फ्रेस हाउस फोहोर देखिएको, प्रयोग गरेको पानीको निकास व्यवस्थित नहुँदा दुर्गन्धीत भएको र एप्रोन, माक्स, पञ्जा प्रयोग नगर्ने गरेको भन्दै तुरुन्त सुध्रिन सुझाव दिएको छ ।
फिदिम बजारको सुंगुर र भैँसी बध गर्दै आएको शिक्षा लाइनमा रहेका बधशालाहरू भने सदावहार फोहोर देखिएको छ । बारम्बार सफा राखेर मासु बिक्री गर्न भनेपनि बधशाला सञ्चालकहरू बधशालाको जग्गाधनीहरूले सहयोग नगर्ने गरेको भन्दै पन्छिने गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक निरजकुमार भट्टराईले भने केन्द्र प्रमुख डा.इन्द्रनारायण शाहसहित सहायक प्रमुख जिल्ला अधिकारी दिलनाथ लम्साल,मासु व्यवसायी र बधशाला भएको जग्गाधनीहरूलाई बोलाएर छलफल गरि समस्या समाधान गर्न आवश्यक रहेको बताए ।
अनुगमन टोलीले सदरमुकाम फिदिमको १२ वटा बधशालाको अनुगमन गरेका थिए । अनुगमन टोलीमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल,फिदिम नगरपालिकाको कर्मचारी हाङ्नारायण हाङ्सरुम्बा, प्रहरी सहायक निरीक्षक महाप्रसाद बञ्जरा,नेपाल पत्रकार महासँघ जिल्ला शाखा पाँचथरको सह–सचिव जङ्ग तामाङ लगायतको सहभागिता रहेको थियो ।