मोफसल

रुपमतीको बलात्कारपछि हत्या भएको पुष्टि, दुई जना पक्राउ

विराटनगर महानगरपालिका–बलुवाईकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको छ । दुबै जना लागूऔषध प्रयोगकर्ता हुन् । लागूऔषधको नसामा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।विराटनगर महानगरपालिका(८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमती गत शनिवार घरबाट छिमेकमा टिभी हेर्न जाने क्रममा हराएकी थिइन् ।
भोलिपल्ट बिहान घरदेखि करिब ५०० मिटर दक्षिण खोलामा नग्न अवस्थामा शव भेटिएको थियो । छिमेकी महमद नेमाको घर जाने क्रममा दुई जनाले जवरजस्ती लगेर बलात्कार गरी शव खोलामा फालेको प्रहरीको दाबी छ ।पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या भएको देखिएको प्रहरी स्रोतको दाबी छ ।
घटना लगतै अनुसन्धान सुरु गरेको प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको थियो । घटना लगतै पक्राउ परेका दुबैले घटना स्वीकार गरेपनि प्रहरीले प्रमाण जुटाउन सकेको थिएन । खोलामा शव फ्याकेका कारण प्रमाण जुटाउन समय लागेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको बताए ।

साभार अनलाइनखबर

error: Content is protected !!