फिचर

पाँचथर र इलामका पर्यटकीय क्षेत्र विकासका लागि सामुहिक लगानीको पहल

पाँचथर र इलामका सिमावर्ती क्षेमा पर्ने पर्यटकीय क्षेत्रको बिकासका लागि पहल शुरुवात गरिएको छ । पाँचथरको फालेलुङ गाँउ पालिकाको आयोजनामा यस्तो पहल थालिएको हो ।

 

दुवै जिल्लावाट संघीय र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद,पुर्व मन्त्री, पर्यटन व्यवसायी, पाँचथरको फालेलुङ,इलामको माइ जोगमाई र सन्दकपुर गाँउ पालिकाका जन प्रतिनिधिको उपस्थितिमा भएको भेलाले दुवै जिल्लाका पर्यटकीय क्षेत्रमा पुर्वाधार निर्माणका लागि सामुहिक लगानीको वातावरण बनाउने सहमति पनि गरियो ।

 

भारसँग नेपाललाई सिमाना जोड्ने इलामको सन्दकपुरमा आयोजित भेलाले इलामको सन्दकपुर,पाँचथरको फालौट,तीनसिमाना,चिवाभञ्ज्याङ र तिम्बुङ पोखरी क्षेत्रमा नेपाल,भारता,वेष्ट बंगाल र भुटान सहित पश्चिमा मुलुकवाट बार्षिक हजारौं पर्यटक आउने गरेपनि पुर्वाधार अभावमा त्यस्को प्रत्यक्ष लाभ लिन नसकेकाले दुवै जिल्लाका गाँउ पालिकाको सहकार्य जरुरी देखिएको निश्कर्ष निकालेको छ ।

 

इलाम पाँचथर र ताप्लेजुङका उच्च पहाडी र हिमाली क्षेत्रका सिमावर्ती पर्यटकीय स्थलमा छिमेकी भारत र सिक्किमले सरकारी लगानीमै होटल,लज र रेष्टुरेन्ट सहित भ्यु प्वाइन्टहरु निर्माण गरी आम्दानी गरिरहेका छन ।

अधिकांश स्थानमा खानेपानी र दाउरा पनि नेपालकै प्रयोग हुन्छन कच्ची नै भएपनि इलाम र पाँचथर तर्फवाट खनिएका बाटो भएर प्रशस्तै पर्यटक यहाँसम्म आइपुग्छन तर नेपाल तर्फ पर्यटक बस्ने पुर्वाधार नबन्दा नेपालले आम्दानीको ठुलो हिस्सा गुमाइ रहेका बखत सम्बन्धित क्षेत्रका स्थानीय तहको साझेदारी शुरुवात भए प्रदेश र संघीय सरकारले लगानीको वातावरण बनाउने संघीय सांसद बशन्तकुमार नेम्वाङले प्रतिबद्वता जनाए ।

भेलाले दुबै जिल्लाका सिमावर्ती क्षेत्रका पर्यटकीय स्थलको पहिचान र प्रचार प्रसार सँगै ती क्षेत्रमा पुर्वाधार निर्माण गर्न सामुहिक लगानी गर्नका साथै अन्तर पालिका समन्वय गर्न फालेलुङ गाँउ पालिका अध्यक्ष सञ्चकुमार केरुङको संयोजकत्वमा पर्यटन प्रबर्धनका लागि समन्वय गर्न समिति गठन गरेको छ ।

समितिमा तीनवटै पालिकाका अध्यक्षहरु सदस्य, प्रदेश र संघीय सांसद सहित जिल्ला समन्वय समिति प्रमूखहरु सल्लाहकार सदस्य रहने व्यवस्था मिलाइएको छ । समितिले पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङमा गाँउ पालिकालाई सदस्य सस्थाका रुपमा मनोनित गर्दै दिगो रणनीति निर्माण गर्ने तयारी गरेको छ ।

लगानीका लागि आन्तरिक स्रोत मात्रै पर्याप्त नहुने भएकाले प्रदेश र संघीय सरकारसँगै दातृ निकायवाट पनि लगानीको वातावरण वनाउन समितिले भूमिका निर्वाह गर्नुपर्ने सुझाव पुर्व मन्त्री श्रीप्रसाद जवेगूको थियो ।