मोफसल

तेह्रथुमका २४ वडामा सचिव छैनन्, दैनिक सेवा प्रवाहमै समस्या

तेह्रथुमका २ नगरपालिका र ४ गाउँपालिकाका ४३ वडामध्ये २४ वटा वडा सचिवविहीन छन् । सचिव नहुँदा वडा कार्यालयको दैनिक कार्यसम्पादनमा समस्या हुँदै आएको छ । सेवाग्राहीले कार्यालयका सेवा लिनुपर्दा समस्या बेहोर्दै आएका छन् । जिल्लामा १९ जनामात्रै सचिवहरु रहेका छन् ।७ वटा वडा रहेको सिंगो आठराई गाउँपालिकामा दुई जनामात्रै सचिव छन् । ५ वटा वडा रहेको फेदाप गाउँपालिकामा ३ जना सचिव छन् । म्याङलुङ नगरपालिकाका १० वडामध्ये ५ जना सचिवमात्रै कार्यरत छन् । मेन्छ्यायेम गाउँपालिका र लालीगुराँस नगरपालिकामा दुई–दुई जनामात्रै सचिव छन् ।

मेन्छ्यायेममा ६ वटा लालीगुराँसमा ९ वटा वडा रहेका छन् । छथर गाउँपालिकाका ६ वटा वडामध्ये पाँच वडामा सचिव कार्यरत रहेका छन् । पर्याप्त कर्मचारी नहुँदा गाउँपालिका र नगरपालिकाहरुले एउटै सचिवलाई ४ वटासम्म वडा कार्यालयको कामको जिम्मेवारी दिएका छन् । आठराई गाउँपालिकाका चित्रकुमार भट्टराइले गाउँपालिकाका १, ३, ५ र ७ नम्बर वडा कार्यालयको काम गर्दै आएको बताउनुभयो ।

आफूले गाउँपालिकाका केही शाखाको कामसमेत गर्दै आएको उहाँको भनाई छ । कर्मचारी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या हुन थालेको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहलाई कर्मचारी अभावको समस्याले सताएको छ ।सचिव व्यवस्थापनका लागि पटक–पटक प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्दा समेत समाधान नभएपछि अहिले भएका सचिवहरूबाट काम चलाइएको म्याङलुङ नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो ।

कर्मचारी अभावको समस्या सबै कार्यालयमा रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंको भनाई छ । उहाँले कर्मचारीको दरबन्दी अनुसार व्यवस्था गर्न पटक–पटक माग गरिए पनि सुनुवाई नभएको गुनासो गर्नुभयो ।

साभार उज्यालो बाट