मोफसल

तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतबाट पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले  बैंकिङ कसुरमा दोषी ठहर भएर फरार तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले तत्कालीन सञ्चालक ज्ञवालीलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको हो । नेपाल राष्ट्र बैंक बादी रहेको मुद्दामा अदालतबाट दोषी ठहर भइसकेकाले अब उनलाई अदालतमा पेश गरेर सजाय भुक्तानका लागि पठाउने तयारी महाशाखाले गरेको छ ।तत्कालीन पुनरावेदन अदालत पाटनको इजलासले ज्ञवाली र श्रीमती गौरी खनाल ज्ञवालीलाई २०७३ जेठमा बैंकिङ कसुरमा दोषी ठहर गर्दै ४ वर्ष कैद र १२ करोड ५० लाख रूपैयाँ जरिबाना तिराउने फैसला सुनाएको थियो ।

ऋण दुरुपयोग अभियोगमा ज्ञवालीसहित ८ जनालाई पुनरावेदन अदालत पाटनका  न्यायधीशद्वय चण्डीराज ढकाल र किशोर सिलवालको इजलासले दोषी ठहर  गरेको थियो। राष्ट्र बैंकले बैंकिङ कसुरमा त्यसबेला २३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।

ज्ञवाली प्रबन्ध सञ्चालक रहेको किस्ट बैंकबाट ६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा लिई दुरुपयोग भएको भेटिएपछि कारबाही थालिएको थियो । ज्ञवालीले कमसल धितो मूल्याङ्कन गरी कर्जा लगानी नीतिविपरीत जम्को प्रकाशन प्रालिका लागि ऋण स्वीकृत गरेको अभियोगमा राष्ट्र बैंकले मुद्दा चलाएको थियो ।

साभार अन्पूर्ण बाट