राजनीति

बिम्स्टेक १६औँ मन्त्रीस्तरीय बैठक सुरू

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीको शोल्टी होटलमा सुरू भएको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा जारी उक्त बैठकमा सदस्य देशका परराष्ट्र–बाह्य मामिला–विदेशमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारी(सचिवस्तरीय) १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन्।

मन्त्रीस्तरीय बैठकले बिम्स्टेक शिखर सम्मेलनमा हुने विभिन्न समझदारीपत्रको खाकाको तयारी, काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण गर्नेछ।

बैठकमा बङ्गलादेशका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारत बाह्य मामिला राज्यमन्त्री भि. के सिंह, म्यानमारका अन्तर्रा्ष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय सहभागी छन्। भुटानमा आम निर्वाचन घोषणा भएकाले विदेश सचिव सोनाम छोङले नै मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाएका छन्।

साभार नागरिक