राजनीति

जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको तयारी

सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्याधीश नबनाउने तयारी भइरहेको सत्तारुढ दल नेकपाका एक शीर्ष नेताले बताएका छन् ।प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । यसअघि दुई पटक बैठक स्थगित भएको थियो ।

आजको बैठकले भने जोशीबारे निर्णय गर्ने सुनुवाई समितिका एक सदस्यले बताए । स्रोतका अनुसार जोशीको सिफारिस अस्वीकृत गर्ने सत्तारुढ दल नेकपाको तयारी छ ।‘शैक्षिक प्रमाणपत्र मात्र होइन, फैसलाहरु पनि विवादमा छन्’ नेकपाका एक सांसदले अनलाइनखबरसँग भने, ‘आकस्मिक कुनै घटना क्रम भएन भने अस्वीकृत गर्ने सम्भावना छ ।’

नेकपाका शीर्ष नेताहरुले आइतबार राति पार्टीका सांसदहरुलाई त्यही सन्देश पठाएको स्रोतको दाबी छ । ‘यदि पर्याप्त कारण र आधार छ भने संसदीय सुनुवाई समितिले अस्वीकृत पनि गर्न सक्छ है भन्ने सन्देश दिन खोजिएको हो,’ जोशीलाई प्रधानन्यायाधीश नबनाउने संकेत गर्दै नेकपाका ति नेताले भने ।त्यसअघि नेकपाले राजीनामा दिएर सम्मानजनक निकास दिन जोशीलाई सन्देश पठाएका थिए । तर, उनले त्यसलाई बेवास्ता गरेपछि अस्वीकृत गर्ने रणनीति बनेको हो ।

१५ सदस्यीय सुनुवाई समितिमा सत्तारुढ दल नेकपाका ९ र सत्ता साझेदार फोरमको एक सांसद छन् ।

अनलाइनखबर