समाज

आज साउने सोमवार र हरिशयनी एकादशीको एकसाथ ब्रतः मन्दिरहरुमा घुईंचो

आज साउनको पहिलो सोमवार । यस दिन हिन्दू धर्मावलम्बी महिलाहरु भगवान महादेवको व्रत बसी पूजा आराधना गर्दैछन् ।

साउनमा रातो, हरियो पहिरनमा सजिएका महिलाहरु भगवान शिवजीको आराधना गर्ने गर्दछन् । यस दिन शिवजीका भक्तहरु बोलबम यात्रामा निस्कने पनि गर्दछन् ।

यस दिन काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा विहानैदेखि भक्तजनहरु पूजा अर्चनाका लागि पुगेका छन् ।

अझ आजै हरिशयनी एकादशी पनि परेकाले भगवान विष्णुका भक्तजनहरु विभिन्न नारायण मन्दिरहरुमा पूजा आराधनाका लागि पुगेका छन् ।

यसदिन मानव जीवनमा निकै महत्वपूर्ण मानिने बनस्पती तुलसीको बिरुवा घर घरमा रोप्ने प्रचलन पनि छ ।

आषाढ शुक्ल एकादशीका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले हरिशयनी एकादशी भन्ने गरिएको शास्त्रीय मान्यता रहेको छ ।

तुलसीलाई भगवान् विष्णुको स्वरुप मानिने भएकाले घर आँगन तथा मठमा रोपिने तुलसीलाई चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने गरिन्छ ।

हरिबोधनी एकादशीमा भगवान् विष्णु जाग्ने शास्त्रीय मान्यता छ ।

वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वे्दिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।