समाज

छोरी जन्माएको भन्दै घर निकाला

सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएकी छन् ।
सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताइन् । उनले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले माइतमा बस्न बाध्य भएको बताइन् ।
साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका–३, प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेकी थिइन् । विवाहपछि छोरी जन्मिएको भन्दै श्रीमान्ले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पीडित साहले पत्रकार सम्मेलनमा बताइन् । दुई वर्षदेखि दुहबीमा रहेकी आमाको घरमा बस्दै आएको बताउँदै साहले घर फिर्ता आएर रु १० लाख लिएर आउनुपर्ने माग श्रीमान्ले गरेको बताइन् ।
आफू पीडित भएर पनि सम्बन्धित निकायले न्याय र चासो नदिएका कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पीडित साहले बताइन् । दुई वर्षकी छोरीसहित पत्रकार सम्मेलनमा उपस्थित भएकी साहले आफू अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरिन् ।
आफू छोरी जन्माएकै कारण श्रीमान् र घरपरिवारबाट अलग भएकोमा उनले दुःख व्यक्त गरिन् । उनले श्रीमान्सहित ससुरा ललित साह तथा सासु छिनादेवी साहले घरबाट निकालेको र घरमा फिर्ता आए रु १० लाख ल्याउन पटक पटक दबाब दिएको बताइन् । पीडित साहले श्रीमान्कै घरमा बस्न पाउनुपर्ने मागसमेत गरेकी छन् ।

रासस