खेलकुद फिचर

वर्षौपछि गुन्जिए असारे भाखा र बेठी ( भीडियो )

पाँचथर : पाँचथरको फालेलुङ गाँउ पालिका र फिदिम नगरपालिकाका विभिन्न बेँशीमा ३० वर्ष पछि असारे भाखा र बेठी गुञ्जिएका छन ।
२०१५ देखि ४५ सालसम्म वर्षेनी बेठी लगाएर असारे गीत गाँउदै रोपाँइ गर्ने यी बेँशीमा यो वर्ष तीस वर्षपछि धुमधाम पुर्वक रोपाँई गरिएको हो ।
२०४५ सालसम्म वर्षेनी बेठी लगाएर असारे गीत गाँउदै रोपाँई गरिने यो बेँशीमा ३० वर्षपछि यस्तो रमझम फर्किएको सहभागिहरुको टिप्पणी छ ।

 

यसरी असारे भाखा र बेठी लाग्दा ज्येष्ठ नागरिक पुरानो सस्कृति पुनरावलोकन भएकोमा खुशी देखिन्छन यस्तो उत्सवमा नयाँ पुस्ता खुशी नहुने कुरै भएन । पुरानो सस्कृति लोप हुनसँगै युवापुस्तामा कृषिप्रतिको आकर्षण घट्न थालेपछि असारे भाखा र बेठीसँगै नौमति वाजाको संरक्षणको थालनी स्वरुप गाँउ पालिकाकै पहलमा बेँशीहरुमा असारे भाखा र बेठी गुञ्जाउने प्रयास गरिएको हो ।

सेलेजुङ र सासुटार जस्तै जिल्लाका सावासेरा सिम्ले,खोक्चे,चिलिङदिन र काफ्ले खण्डमा विगतमा घञ्चमञ्च बाजागाजा र असारे भाखा सहित बेठी लाग्ने गरेको थियो । युवापुस्ताले आफ्ना अविभावकसँग सिप ग्रहण नगर्दा यो परम्परा लोप हुन लागेको बुढापाकाको अनुभव छ ।
विगतमा बेठीको निम्तो मान्न असार भर भ्याई नभ्याई हुने गरेकोमा पछिल्ला केहि वर्ष एकठाँउवाट पनि निम्तो नआँउदा वाजागाजा नै थन्क्याएर वसेका दर्जीहरुपनि परम्परा लोप हुन नहुने तर्क गर्छन ।

फालेलुङ गाँउ पालिकाले आगामी वर्षदेखि परम्परागत सस्कृति संरक्षणका कार्यक्रमलाई पनि प्राथमिकतामा राख्ने भएको छ । यस्ता कार्यक्रमले निरन्तरता पाउनसके सस्कृति संरक्षण त हुन्छ नै यस्ले पर्यटन प्रवर्धनमा पनि टेवा पुग्थ्यो कि ?