खेलकुद

विश्वकप फुटबलको फाइनलमा फ्रान्स

बेल्जियमलाई १–० ले पराजित गर्दै फ्रान्स रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सेन्ट पिटसवर्ग स्टेडियममा करिब ६० हजार दर्शकमाझ भएको पहिलो सेमिफाइनल भिडन्तमा खेलको ५१ औँ मिनेटमा गरेको गोल नै फ्रान्सलाई उपाधि नजिक पुर्याउन पर्याप्त भयो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा फ्रान्सलाई जिताउने क्रममा खेलको ५१ औँ मिनेटमा कर्णर बललाई सदुपयोग गर्दै बार्सिलोनाका डिफेन्डर स्यामुएल युमिटीले जाली चुमाएका थिए ।

एन्टोइन ग्रिजमनले दिएको कर्णर बललाई हेडरमार्फत युमिटीले जाली चुमाएपछि फ्रान्स १–० ले विजयी हुँदै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा २००६ यता पहिलो पटक सेमिफाइलनमा पुगेको फ्रान्सलाई फाइनलमा पुर्याउन त्यही गोल नै पर्याप्त भयो ।

पहिलो हाफमा बेल्जियमले खेलमा दबाब राखे पनि दुवैतर्फबाट भएका गोल प्रयास सफल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

यस जीतका साथ फ्रान्सले तेस्रो पटक विश्व कपको फाइनलमा स्थान बनायो । सन् १९९८ र सन् २००६ मा उसले फाइनल खेलिसकेको छ । सन् १९९८ मा विजेता बनेको फ्रान्स सन् २००६ मा इटालीसँग पराजित भएको थियो ।

अब फ्रान्सले उपाधिका लागि बुधबार राति हुने इङ्ल्यान्ड र क्रोएसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग जुलाई १५ मा मस्कोमा भिडन्त गर्नेछ । बेल्जियमले भने तेस्रो स्थानका लागि खेल्नेछ ।