अर्थ

छथर जोरपाटी गाउँपालिकामा ‘पेश्की शून्य’ अभियान सुरु

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले यो वर्षबाट ‘पेश्की शून्य’ अभियान सुरु गरेको छ ।अग्रीम भुक्तानी अर्थात् पेश्की रकम लिएपछि फछ्र्यौट गर्न चासो नदिएका कारण वेरुजु बढ्न थालेपछि ‘पेश्की शून्य’ अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

पेश्की दिने प्रथालाई निरुत्साहित गर्दै कामका आधारमा भुक्तानी दिन थालिएको गाउँपालिकाले जनाएको छ ।अहिले सरकारको नीति अनुसार सम्झौता भएको कुल बजेटमध्ये ३३ प्रतिशत रकम पेश्की बापत लिने व्यवस्था छ ।तर योजना सम्झौता गरेपछि अग्रीम भुक्तानी अर्थात पेश्की रकम नदिइ कामका आधारमा मूल्यांकन गरी भुक्तानी दिइने छथरजोरपाटी गाउँपालिकाका योजना प्रमुख उपेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।पेश्की शून्य अभियानले सरकारी बेरुजु हुने क्रम रोकिने र काम पनि तोकिएको समयभित्र सम्पन्न भइसक्ने गाउँपालिकाको अपेक्षा छ ।

छथरजोरपाटी गाउँपालिकामा चालू आर्थिक वर्षका लागि २२ करोड २३ लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।विनियोजित रकमबाट चालू आर्थिक वर्षमा ३ सयको हाराहारीमा योजना तथा कार्यक्रम संचालित छन् ।

इमेजखबर बाट