फिचर

इलामको सुकिलुम्बा विमानस्थलमा परिक्षण उडान सफल

फिदिम : इलाम सदरमुकाम ९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा गरिएको परीक्षण उडान सफल भएको छ । सोमवार विहान पहिलो पटक काठमाडौंबाट ११ बजेर ५७ मिनेटमा सुकिलुम्बा विमानस्थल तारा एयरको जहाज आइपुगेको थियो ।

१९ सिट क्षमताको तारा एयरको ट्वीनअटर विमान १ घन्टा २ मिनेटमा इलाम आइपुगेको क्याप्टेन सञ्जीव श्रेष्ठले बताए ।  कच्ची नै भएपनि विमानस्थलमा जहाज अवतरण गर्न समस्या नभएको वताए । ‘ पानी परेन आकाश पनि राम्ररी खुल्यो, त्यसैले सहजै अवतरण ग¥र्यौं ।’ उनले भने ।

वर्षा नभएको बेला विमान सञ्चालन गर्न हुने देखिएको उनले बताए । ‘पिकअप र ल्यान्डिङको बेला हुनसक्ने अप्ठ्याराहरू सहज बनाउन बाँकी रहेछ ।’ चालक दलका अर्का सदस्य प्रभाकर घिमिरेको टिप्पणी थियो । जिल्लामा पहिलो पटक विमान अवरतण र उडान हुने थाहा पाएका सयौं इलामे विमानस्थल पुगेका थिए । उनीहरूले विमान मैदानमा बस्नेबित्तिकै ताली बजाए । जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले जिल्लामा पहिलोपटक विमान उडाएर आएका चालक दलका सदस्यलाई फूलमालाले स्वागत गरे । जिल्लास्थित राजनीतिक दलका प्रमुख, प्रतिनिधि, जनप्रतिनिधिले सँगै उपस्थित सयौं सर्वसाधारणले चालकहरूलाई फूलमाला लगाइदिएका थिए ।

सुकिलुम्बामा विमानस्थल निर्माण सुरु भएको १६ वर्षपछि परिक्षण उडान सफल भएको हो ।
विमानस्थलमा ६ सय ८० मिटर रनवे र ३० मिटर चौडाई छ । यो विमानस्थल ट्वीनअटर जहाजका लागि पर्याप्त हुने इन्जिनियर पुष्प नेउपाने वताँउछन ।

‘अहिले विमानस्थल ८ प्रतिशत स्लोभ (एकापट्टिबाट अर्कापट्टिको उचाई ४५ मिटर अग्लो) छ,’ उनले भने, ‘हुन त पूर्ण रूपले सीधा मैदान बनाउनुपर्ने हो तर यसलाई भौगोलिक अवस्थाअनुसारको बनाइएको छ।’ विमानस्थलको उडान र अवतरण हुने विन्दुलाई प्राविधिक भाषामा ‘०८÷२६’ नामाकरण गरिएको छ । पूर्वतर्फ विमानस्थलको होचो भाग (२६) बाट पश्चिमतिरको अग्लो भाग (०८) तिर गई विमान मैदानमा बस्ने र विपरित दिशाबाट उडान गर्ने व्यवस्था मिलाइएको थियो ।

अहिले कच्ची अवस्थामा रहेको विमानस्थल आउँदो वर्ष ग्राभेल गर्ने योजना प्राधिकरणको छ। चालू आर्थिक वर्ष विमानस्थलको रनवेका लागि १० करोड र तल्लो भागमा सडक बनाउन ७ करोड रुपैयाँको काम भइरहेको छ । विमानस्थलका लागि अहिलेसम्म १८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइरहेको प्राधिकरणले जनाएको छ । ‘रनवेलाई नालीसहित कालोपत्रेसम्म गर्न अझै १५ करोड रुपैयाँ लाग्ने प्राविधिकहरु वताँउछन ।

विमानस्थलको तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६७ चैत १३ मा शिलान्यास गरेका थिए। २०५८ सालमा यहाँ विमानस्थल निर्माण प्रक्रिया शुरु भएको थियो । त्यसको ९ वर्षपछि शिलान्यास भएपनि बर्से्नि ज्यादै कम बजेट मात्र विनियोजन हुने गरेकाले निर्माणमा ढिलाइ भएको हो ।