मोफसल

भारतीय पाठ्यपुस्तक पढाइएको भन्दै तालाबन्दी

राष्ट्रियताविरोधी पढाइ भइरहेको भन्दै झापाको दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कुलमा तालाबन्दी गरिएको छ । एमालेनिकट युवा संघ झापाले स्कुलमा तालाबन्दी गरेको हो । स्कुलले आफूखुसी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएपछि बुधबार तालाबन्दी गरिएको युवा संघले जनाएको छ । उक्त स्कुलले आधारभूत तहमा भारतको दिल्लीस्थित इडुहेरल्स पब्लिकेसनको ‘इङ्लिस कन्भरसेसन’ पुस्तकमा राष्ट्रियतामाथि नै आँच आउने किसिमका शैक्षिक सामग्री राखिएको भन्दै युवासंघले विद्यालयमा तालाबन्दी गरेको हो । पुस्तकमा भारतको झण्डा, आफ्नो जन्मभूमि भारत हो, हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदी हुन्जस्ता पाठ्यसामग्री समावेश गरिएको छ ।

तालाबन्दी गरिए पनि पठनपाठन भने प्रभावित नगरिने संघले जनाएको छ । युवा संघले विद्यालय प्रशासन र प्रधानाध्यापकको कार्यकक्षमा ताला लगाएको युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले बताए । उनले राष्ट्रिय हितविपरीत विद्यालयमा शैक्षिक पाठ्यपुस्तकहरू पढाएकाले तालाबन्दी गर्नुपरेको बताए । उनले भने, ‘अब जिल्लाभर सञ्चालनमा रहेका राष्ट्रियताविरोधी तथा शिक्षाको आडमा धर्म परिर्वतन गराउन लागि परेका स्कुल खोजेर कारवाही गर्छौं ।’ तालाबन्दीपछि संघले विज्ञप्ति निकालेर नेपालको स्वाभिमानमा आक्रमण नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आफूहरूको सहमतिबिना ताला नखोल्न पनि विद्यालय प्रशासनलाई कडा चेतावनी दिएको छ ।

त्यस्तै संघले स्कुलमा कार्यरत विदेशी शिक्षकहरू निकाल्नुपर्ने र राष्ट्रिय स्वभिमानप्रति पु¥याएको आघातप्रति नेपाली जनतासँग माफी माग्नुपर्ने माग गरिएको उल्लेख छ । अभिभावकहरूका अनुसार चालु शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मका दुई वटा पुस्तकमा भारतीय संस्कृतिमूलका पाठ्यसामग्रीमा भारतकै झण्डा, प्रधानमन्त्री उल्लेख गरेको पाइएपछि घटना सार्वजनिक भएको थियो ।

विद्यालयले भने आफूबाट भएको गल्ती स्विकार्दै भारतीय पाठ्यपुस्तकहरू पठनपाठनमा पूर्ण रूपमा रोक लगाइएको स्कुलका प्रिन्सिपल म्याक्डोनिया सिंहले बताइन् । भारतीय प्रकाशनको पुस्तक पढाएकोबारे दमक नगरपालिकाको नगर शिक्षा समितिले स्पष्टीकरण सोधेको थियो । स्कुलले समितिलाई सोही अवधिमा स्पष्टीकरण बुझाइसकेको प्रिन्सिपल सिंहले बताइन् ।

२४ घण्टाभित्र बुझाउन भनिएको स्पष्टीकरणमा विद्यालयले भूलबस भारतीय पुस्तक पर्न गएको जवाफ फर्काएको छ ।विद्यालयले स्पष्टीकरणपत्रमार्फत एक पटकको गल्तीमा क्षमा माग्दै आगामी दिनमा यस प्रकारको गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । विद्यालयले स्पष्टीकरणपत्रमार्फत भारतीय पाठ्यपुस्तक पढाउन बन्द गरेको जानकारीसमेत गराएको छ ।

विद्यालयले राष्ट्रियतामाथि आँच आउने गरी भारतीय पाठ्यपुस्तक पढाइरहेकोप्रति विद्यार्थी संगठन तथा स्थानीय सरोकारवाला निकायले आपत्ति जनाएका छन् । यसअघि माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले सोमबार उक्त कदमको विरोध गर्दै विद्यालयलाई ज्ञापनपत्र बुझाएको थियो ।

साभार अन्नपूर्ण बाट