मोफसल

कर्तव्य ज्यान, बहु विवाह र सुँगुर चोरी मुद्धाका ८ जना पाँचथर प्रहरी नियन्त्रणमा

ज्यान मारेको अभियोगमा ४ जना पक्राऊ

पाँचथरको तुम्वेवा ५ का २४ वर्षीय तेजेन्द्र राईको हत्या अभियोगमा पाँचथर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुम्वेवा ५ कै २७ वर्षीय सन्त राई,२० वर्षीय सुरज राई, २४ वर्षीय मदन राई र २२ वर्षीय राजन चाम्लिङ छन ।

गत फागुन २३ गते छिमेकीको विवाहको निम्तो मान्न गएका तेजेन्द्र २५ गते जंगलमा मृत भेटिएपछि उनका वुवा मनकुमारले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई बैशाख ३० गते विभिन्न स्थानवाट पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरु बिरुद्ध सोमवार नै कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरिक्षक बामदेब गौतमले जानकारी दिनुभयो ।

यसैविच फिदिम १ की सुनिता राईको खोरवाट सुँगुर चोरी गरेको अभियोगमा पाँचथर प्रहरीले ताप्लेजुङको याङवरक गाँउ पालिका ६ का रामकुमार थेवेलाई पक्राउ गरेको छ । उनले बैशाख २७ गते राईको खोरवाट सुँगुर चोरी गरी विक्री गरेको खुलेपछि पक्राऊ गरिएको प्रहरीको भनाई छ ।

जेठी माथि कान्छी ल्याँउदा प्रहरी फन्दामा

घरमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्ने पाँचथर कुम्मायक १ का बिवश मोते नव विवाहित दुलही सहित पक्राऊ परेका छन । मोतेकी जेठी श्रीमती सुनिताले आफुँ हुँदा हुँदै कान्छी ल्याएको भन्दै पाँचथर प्रहरीमा जाहेरी दिएपछि प्रहरीले मोते र नव दुलही सुमित्रा नेपालीलाई पक्राउ गरेको हो । आइतवार पक्राऊ परेका दुबैजनालाई बहु विवाह मुद्धा दर्ता गरी प्रकृया अगाडी वढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।