विचार

कतै हामी मेकअप गरेरै समय वर्वाद गरिरहेका छैनौं ?

राधा गौतम
छोरी मान्छेले जस्तो कत्ति ढिला गरेको ? तँलाई पनि लाली पाउडर र गाजल दलिदिनुपर्छ कि ? प्रायः पुरुषलाई होच्याएर गाली गर्नु प¥यो भने यस्तै भनेको सुन्न पाइन्छ । यो सँगै आइमाई जस्तो पितुर्के, कहिँ नभएको जोटिंग्रे भन्दै महिलासँग जोडेर पुरुषलाई होच्याउने शव्द पनि थुप्रै छन समाजमा ।

घट्ना प्रकृतिलाई नियाल्ने हो भने महिलाहरुले श्रृंगारका रुपमा प्रयोग गर्ने सामग्री,गर गहना र पहिरनले महिलालाई नै बाँधिरहेको जस्तो मलाई भान हुन्छ । घर बाहिर निस्कनु पर्दा श्रृंगार पटारमा समय नखर्चिने महिला सायद औंलामा गन्न सकिन्छ ।

समाजमा साथीभाई,छर छिमेकीलाई देखाउन अनि आफुलाई समाजको प्रतिष्ठासँग जोडेर महंगा महंगा वस्तु खरिद गरेर मेकअप गर्नु, धातुका गहना लगाउनु अनि त्यहि अनुसारका बस्त्र धारण गर्नुलाई हामीले निकै महत्व दिइरहेका हुन्छौं । तर हामीले अपनाउदै आएको भड्किलो शैलीलाई एकपटक आफैंले नियालौं त ।

मैले हातमा घडी बाँधेकी छु, औला पिच्छे औठी लगाएकी छु, अनि गलामा हार, नाकमा फुली कानमा झुम्का,खुटमा पाउजु लगाएकी छु भन्दै मख्ख पछौं हामी । झ्याप्पै गहना, नया नयाँ डिजाइनका कपडा लगाएर अनुहारमा छ्याप्पै मेकअप गरेर को भन्दा को राम्री भन्ने होडवाजी खेलेजस्तो लाग्ने सेल्फी खिच्दै सामाजिक सञ्जालतिर अपलोड नगर्ने सहकर्मी सहपाठी र छिमेकीलाई पाखे भनेर होच्याउन पनि पछि पर्दैनौं ।

समय र युगले फड्को मार्दैछ । प्रविधीले संसारलाई साँघुरो बनाँउदैछ अन्य मुलुकका महिला धेरै अगाडी बढिसके हाम्रो नेपालका कुना कन्दराका आमा दिदी बहिनीको चेतना स्तर पनि अगाडी बढ्दैछ । तर हामीले आफ्नो जिम्वेवारी र व्यवहारिकतालाई नबुझ्दा हामीभित्र रहेको अन्तरनिहित प्रतिभा पनि खुम्चिँदै त छैन ? यी र यस्तै प्रश्नले मेरो मतिष्कमा डेरा जमाइरन्छ ।

किनभने घरबाट कहिँ निस्कन लाग्यो व्युटि टिप्स हेर्दै कुन स्टायलको कपाल कोर्ने,गाजल कसरी लगाउने, पूर्ण अनुहारको मेकअप कुन स्टायलमा गर्ने भनेर अल्झिइरहेका छौं हामी । मेकअपको काम सकियो पहिरन कसरी र कुन स्टायलको लगाउने भन्ने चिन्ता हुनथाल्छ । बल्लतल्ल घरबाहिर निस्क्यो हिलले म्याच ग¥र्यो गरेन, कपडा शरिरमा मिल्यो कि मिलेन कतै म भन्दा फलानी त राम्री भएर आँउदैछे कि ? भन्ने संका उत्पन्न नहुने महिला प्रायः कमै हुन्छौं ।

महिलाका मनमा त्यसपछि घर बाहिर निस्क्यो, एकदुईपोज सेल्फी खिच्यो,ऐना हे¥र्यो, साथी संगीसँग भेट हुनासाथ ए कति राम्री भएर आएकी ? तेरो कपडा कहाँ सिलाएको ? कहाँ बाट कतिमा ल्याएको ? अनि यत्ति राम्ररी मेकअप गर्न कस्ले सिकायो हँ ? भलाकुसारीका विषय पनि यी र यस्तै हुने गर्छन ।

अझ विहे भोज र मेला हाट जाँदा त मेकअपसँगै गहना कस्ले धेरै लगाउने अनि कस्ले लगाएका गहना आधुनिक फेसनको भन्नेतिर हाम्रो प्रतिश्पर्धा हुन्छ । यी र यस्तै किसिमका व्यवहारमा कतै हामी अल्झिएर रहेका त छैनौं ? एक पटक आफैले आफैंलाई नियालौं त । महंगो घडी, चुरा, औठी,पाउजु र बिच्छु लगाएकी छु भनेर मख्ख परिरहँदा तिनै सामग्रीले हामीलाई बाँधेको छ भनेर सोच्न भ्याएको छ कि छैन ? हामीले छेडेका नाककानले आफैंले लगाएका गहनाको बोझ थामेकोे छ कि छैन ? कतै यी र यस्ता सामान्य जस्तो लाग्ने विषय पनि हामीलाई पछाडी पार्ने कारक तत्व त बनिरहेका छैनन ।

हुनत शारिरिक बनावन,प्राकृति स्वरुप र समाजिक परिबेशले पुरुषको तुलनामा महिला केहि पछाडी नै होलान तर पुरुषमा नभएका निश्चित गुण महिलामै मात्रै छन । पुरुषले गर्ने सवै काम महिलाले गर्न सक्छन तर महिलाले प्राकृतिक रुपमा प्राप्त गरेको बच्चा जन्माउने अनि तिनलाई दुध चुसाउने काम पुरुषले कहिल्यै गर्न सक्दैनन ।

तर हामी महिलाले आफ्नो दायित्व नबुझेर पतिकै मुख हेर्ने परिपाटि मौलाँउदै गएकाले पनि हुनसक्छ हामीले लोकसेवा,शिक्षासेवा र प्राविधिक विषय सहित राज्यका सबै निकायमा पुरुषसँग खुल्ला प्रतिश्पर्धा गर्न नसकेर आरक्षण माग गरिरहेका छौ ।

सत्य र द्वापर युगमा महिला स्वयम शक्ति स्वरुप थिए । उनीहरु देवताकै अवतार थिए । कोहि लक्ष्मी,कोहि सरस्वती त कोहि कालिका नामले पुकारिन्थे । त्यसताका नारीमा कुनै किसिमको छलकपट हुँदैनथ्यो । शक्तिशाली पनि थिए । त्यो समय महिलाले चाहेर नचाहेर चालेका कदम असफल पनि हुँदैनथे । उनीहरु सत्यवति पनि थिए । आफ्नो जिम्वेवारी दृढता पुर्वक सम्हाल्थे । तर समय व्यतित हँदै जाँदा महिलाहरु भड्किलो ढंगवाट श्रृंगार प्रशाधन गर्न थाले त्यसपछि क्रमशः समाज पुरुष प्रधान बन्न थालेको हुनुपर्छ । महिलालाई गहना लगाइदिने बहानमा नाक कान छेड्नुपर्ने,हातमा चुरा गलामा पोते,अंग अंगमा गहना खुट्टामा कल्ली लगाइदिएर बन्धनमा राख्न खोजिएको कुरा हामीले भुल्दै गयौं
सायद महिलालाई मनोरञ्जनको साधनकै रुपमा मात्रै प्रयोग गर्ने पुरुष प्रधान समाजले नै हामीलाई गहना रुपि बन्धनले बाँधिदिएको हुनुपर्छ ।

नाककान छेडेर गहना लगाइदियो त्यसपछि कत्ति राम्री देखिएकि भन्दै फु¥क्यायो,आफ्नो स्वार्थ पुरा ग¥र्यो । हातमा लगाएका चुरा र खुट्टाका कल्ली र पाउजुपनि महिलाको बन्धनकै सूचक हुन किन कि ती गहना लगाएका महिला भित्र बाहिर गर्न त परै जाओस अलिकति उठवस गर्न खोज्यो कि नजिकै रहेका जो कोहिले आवाजवाट प्रष्ट थाहा पाँउछ ।

हामी महिलाहरु टन्न गहना लगाएर छपक्कै मेकअप गरी बाहिर निस्कँदा गर्वले फुल्छौं तर त्यो धिक्कार छ किनकि हामीले विभिन्न किसिमका केमिकल लगाएर तयार पारेका सामग्रीले मेकअप गर्छौ यस्ले हाम्रो प्राकृतिक सौन्दर्यतामा नष्ट गरिरहेका छौं । हामीले लगाएको गाजलले आँखामा कति असर गर्दैछ । लिपिष्टिकमा रहेको केमिकल पेटसम्म पुगेर कस्तो असर गर्दैछ अनि सेतै हुने गरी घसेको पाउडरले हाम्रो छालामा कति असर पु¥याउँदैछ । मेहन्दीले कपालमा असर गरेको छ कि छैन ? मेकअपले हाम्रो सिगो शरिरमा कतिसम्म असर गर्दैछ । पैसा र समय कति बर्बाद हुँदैछ त्यस्को लेखाजोखा छैन । अझ श्रीमान,प्रेमी,व्याइफ्रेण्ड,साथी संगी आदीले तँ त कत्ति राम्री भनिदियो भने खुशीले गदगद हुन्छौं ।

यो पनि बेकार । भो अव यसरी समय बर्बाद नगरौं, थोरै समय भएपनि सिर्जनात्मक काममा खर्च गरौं, करेसाबारीमा फलफुल लगाँऔं गोडमेल गरौं, त्यो पनि नभए परिवारका सदस्यसँग अन्तरंग गरौं । घर छिमेकमा रहेका बुढापाकासँग भेटघाट गरौं पुराना अनुभव सुनौं । आफ्ना सन्ततीसँग घुलमिल भएर ज्ञान सिप आदान प्रदान गरौं । यसैमा छ हाम्रो कल्याण ।