राजनीति

३३ किलो सुन तस्करी र हत्या प्रकरणमा ६२ जनाविरुद्ध आज मुद्दा दायर गरिंदै

३३ किलो सुन तस्करी र हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ परेका २८ जनासहित ६२ जना विरुद्ध आज मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिने भएको छ ।प्रहरीले छानबिन सकाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले यो प्रकरणमा संलग्न भनिएका ६२ जना विरुद्ध आज मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाएको हो ।

तस्करीको ३३ किलो सुन गायब भएको र यसमा संलग्न भनिएका सनम शाक्यको यातनापछि हत्या गरिएको विषयमा प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा गत आइतबार प्रतिवेदन बुझाएको थियो ।सोमवार र मंगलबार सार्वजनिक विदा परेकाले आज मुद्दा दर्ताको प्रक्रिया सुरु हुन लागेको हो ।सुनकाण्डमा पूर्व डिआईजी गाविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय रावत र प्रजित केसी तथा सई बालकृष्ण सञ्जेलसहित २८ जना पक्राउ परेका छन् ।

सुन तस्करी र शाक्यको हत्याका सम्बन्धमा मोरङ प्रहरीले अनुसन्धान गरेको थियो । मुख्य अभियुक्त गोरे भनिने चूणामणि उप्रेतीसहित ३४ जना फरार रहेको प्रहरीको दाबी छ ।घटनाको अनुसन्धानका लागि प्रहरीले पाएको ६० दिनको समय हिजो सकिएको थियो ।यसैबीच घटनाको शुरुदेखि नै विवादमा तानिएका अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख एसएसपी दिवेश लोहनी हिजो जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आएका छन् ।गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको घटना छानबिन समितिले लोहनीलाई झिकाउन मोरङ प्रहरीलाई निर्देशन दिएपछि मोरङ प्रहरीले उपस्थित हुन लोहनीलाई पत्र पठाएको थियो ।

छानबिन समितिले लोहनीसँग काठमाडौंमा बयानसमेत लिइसकेको छ ।सोही प्रकरणमा फरार रहेका अन्य ३४ जनाको भने प्रहरी खोजी तिब्र पारेको छ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका एसएसपी श्याम खत्री विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।यसअघि पनि सुन काण्डमा मुछिएर अदालतबाट सफाई पाएका खत्री केही समयअघि प्रहरी प्रधान कार्यालयमा हाजिर भए पनि ३३ किलो सुन काण्डको पर्दाफास भएपछि फरार छन् ।उनीबिरुद्ध प्रहरीले ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको हो ।

इमेजखबर बाट