रोचक !

एउटी अपरिचति यौनकर्मीसँग पत्रकारले विताएको एकरात

शनिबारको दिन । अरू दिनभन्दा भीडभाड धेरै । कोही बसको प्रतीक्षामा थिए त कोही हतार–हतार पैदलयात्रामा थिए । रत्नपार्कको चहलपहल उस्तै थियो ।

रिमरिम उज्यालो बाँकी थियो, म रत्नपार्कमा रहेको प्रतीक्षालयमा माइक्रोबस पर्खिरहेको थिएँ । त्यस्तै ३५÷४० बर्षकी अधबैंसे महिला म उभिएको छेवैमा उभिइन् । र, केहीछिनपछि सोधिन्, ‘ए दाइ, रात परेन ? घर जाने होईन ?’
‘जाने हो तर माइक्रो आएको छैन’, मैले भनेँ । केही समय केही बोलचाल भएन ।

फेरि उनले मतिर हेरेर मुस्कुराउँदै भनिन्, ‘दाइ तपाई त कति हेन्सी हुनुहुँदोरहेछ ।’ म केही समय अलमलमा परेँ र केही समयपछि सोधें, ‘म त्यस्तो हेन्सी छु र ?’ मैले थाहा पाइसकेको थिएँ, तिनी नगरबधू थिइन् । मेरो मनमा फ्याट्ट आइहाल्यो– यिनी रिपोर्टिङको लागि एउटा राम्रो पात्र हुन सक्छिन् ।
केही समयमै उनले फ्याट्टै भनिन्, ‘ए दाइ जाउँ न त मसँग ।’
मैले केही नबुझेजसरी सोधें, ‘कहाँ जाने ?’
‘के थाहा नपाको जस्तो गरेको दाइ । मोज गर्न जाने होइन ?’ उनले उसैगरी भनिन् ।
मैले सोधें, ‘जाने र ? कहाँ जाने त ?’
‘त्यसको के चिन्ता ? पहिला पैसाको कुरा मिलाउँ न ।’
‘के कसरी हो ? कति लाग्छ ?’ मैले सोधें ।
जवाफ आइहाल्यो, ‘होल नाइट कि एकछिन ? होल नाइट भए ३ हजार हाम्रो रेट नै हो, जाने हो भने मिलाएर जाउँ न ।’ मलाई केही डर पनि लाग्यो । केही समय बोलिनँ । उनले भनिन्, ‘किन नबोलेको ? मिलाएर दिनु न त ।’
उनीसँग कुराकानी गर्न थालेको झण्डै आधा घन्टा भएको थियो । मैले उनलाई रकममा केही किचकिच गरिरहेको थिएँ । लामो समयसम्म कुरा नमिलेको देखेपछि उनी अलि आक्रोशमा आइन् । उनको मुखबाट केही छाडा शब्द निस्किए । केही पर नाङ्गले पसलमा गएर चुरोट सल्काएर आइन् । त्यसपछि हल्का रिस र घुर्की देखाउँदै भनिन्, ‘मिलाएर जाउँ न के जोखना हेरेको ?’

बेलुकाको आठ बजिसकेको थियो । चहलपहल बिस्तारै घट्दै थियो । प्रहरीहरूले समेत निगरानी बढाई सकेका थिए । उनले रिसाउँदै भनिन्, ‘ल, २५ सय देऊ, रातभरी मोज गर । जाउँ ।’
मैले सोधें, ‘सुरक्षित हुन्छ त रात बिताउने ठाउँ ?’ प्रश्न भुईंमा खस्न नपाई उनले भनिहालिन्, ‘त्यस्ताले भेट्ने ठाउँमा बस्दिनँ । ढुक्क भए हुन्छ । धेरै ढीलो नगरौँ, गइहालौँ । मलाई बैना दिनुस् ।’ मैले ५ सय रुपैयाँ पेश्की दिएँ । हामी रत्नपार्कबाट बागबजारतर्फ लाग्यौं । बाटोमा केही कुराकानी गर्न खोज्दा उनी रिसाएजस्तो गरिन् । रत्नपार्कबाट बागबजारमा रहेको पट्रोल पम्पसँगै रहेको बसपार्कबाट भित्र लाग्यौं । त्यहाँको पसलमा उनले २ वटा रेडबुल र बियर किनिन् र नजिकैको गेष्टहाउसतिर लागिन् । म पनि उनको पछि पछि लागेँ ।

त्यहाँ उनी नियमित जाने रहिहिछन् । कोठाको लागि केही भन्नै परेन । काउन्टरमा उनलाई सोधियो, ‘होल नाइट कि एकछिन ?’ ‘आज होलनाइटकै ग्राहक छ ।’ उनले मुस्कुराउँदै भनिन् ।
हामी गेस्टहाउसको ४०६ नम्बरको कोठामा पुग्यौं । रातको ९ बज्न लागिसकेको थियो । उनले ढोका बन्द गरिन् र बाँकी २ हजार मागिन् । सँगै उनले भनिन्, ‘केही रमाईलो गरौं । आउ बियर खाऔं ।’ तर मैले खान मानिनँ । उनी रिसाइन् र रेडबुल दिइन् । उनलाई बिस्तारै बियरको मात लाग्न थालिसकेको थियो । मलाई भने उनीबाट केही कथा फुत्काउनु थियो । त्यसैले असली परिचलय लिने कोसिश गरिरहेको थिएँ । तर उनले सहि परिचय दिन इन्कार गरिन् । भन्न थालिन्, ‘के काम गर्न आएको छिटो गराँै । नत्र म धेरै थाकेको छु । सुत्छु ।’

त्यति भनेर उनले मेरो हातमा कण्डम थमाइन् र रिसाउँदै चुरोट सल्काइन् । मैले भनें, ‘कुरा गरौं न पहिले ।’ उनी रिसाउन थालिन्, ‘मैले १० बर्ष भयो यस्तो काम गरेको, तिमीजस्तो मान्छे भेटेको पहिलोपटक हो ।’त्यसो भन्दै गर्दा उनको फोन बजिरहेको थियो । निकैपटक त उठाइनन् । पछि उठाएर भनिन्, ‘आज म बिजी छु । भोलि गर्नू ।’
म भने उनको असली परिचय खोतल्नतिरै लागेँ । धेरै प्रयासपछि उनले आफ्नोबारे केही बताइन् । उनको नाम संगिता चौधरी (नाम परिवर्तन) रहेछ । उमेर ३९ बर्ष । घर सिराहा । १९ बर्षको उमेरमा बिहे गरेकी रहिछन् । बिहे गरेको २ बर्षपछि भारत गएका श्रीमान नफर्केपछि उनी काठमाडौं आएकी रहिछिन् । काम खोज्ने क्रममा उनी यौन व्यवसाय गर्नेहरूको सम्पर्कमा पुगिछन् । ‘पहिले त अफ्ठ्यारो लाग्यो, पछि त नसाजस्तै भयो ।’ उनले आफ्नो अनुभव बताइन् ।
अहिले उनी दैनिक सरदर ५ हजार कमाउँछिन् । दैनिक पाँचदेखि सातजनासम्म ग्राहकसँग कारोबार हुन्छ । उनका केही नियमित ग्राहकसमेत छन् ।

उनी मासिक ८० हजारसम्म कमाउँछिन् । उनले भनिन्, ‘पहिले त जसरी आयो त्यसरी नै उडाइन्थ्यो । अहिलेचाहिँ केही बचत पनि गरेकी छु ।’ पहिले पहिले प्रहरीको फन्दामा परेको अनुभव पनि उनले सुनाइन् । तर पछि केही प्रहरीसँग राम्रै चिनजान भएपछिचाहिँ दुःख पाएकी छैनन् रे ।
उनलाई अरू काम गर्न सक्छुजस्तो पनि लाग्दैन । बरु, लुकेर काम गर्नुभन्दा सरकारले नै ‘रेड लाइट’ एरिया घोषण गरिदिए हुन्थ्यो भन्ने उनको भनाइ थियो । उनी यस्तो व्यवसायमा छन् भन्ने अहिले त परिवारलाई पनि थाहा भइसकेको उनले बताइन् । परिवारले नराम्रो दृष्टिकोणल हेरेपनि आफूले पेशा छाड्न नसकेको उनको भनाइ थियो ।
उनको कथा सुनेपछि मैले आफ्नो असली परिचय दिएँ । त्यसपछि उनी डराइन् । मैले भनें, ‘डराउनुपर्दैन, म तपाईंको नाम र फोटो हाल्दिनँ ।’त्यसपछि उनी एउटा खाटमा पल्टिइन् । म उनको दर्दनाक कथा दिमागमा घुमाउँदै अर्को खाटमा पल्टिएँ । बिहानै म उठेर हिँड्दा पनि उनी सुतिरहेकी नै थिइन् ।