फिचर समाज

बाँसका फर्निचर बनाँउदै बैदेशिक रोजगारीका क्रममा छिनेका हात भिडियो सहित

शारिरीक अशक्तहरुले केही गर्न सक्दैनन्, परनिर्भर हुन्छन्, भन्ने लोकधारणा अहिले पनि कायमै छ । तर, कतिपय फरक क्षमता भएकाहरुको सीप र जागरले यस्तो बुझाईलाई गलत सावित गर्दै लगेको छ । यस्तै, मध्येका हुन्, पाँचथर फिदिमका चुडामणि बास्कोटा । एउटा हात नभएका उनी बाँसका सामग्रीहरु निर्माण गर्दै सफल उद्यमी कहलिएका छन् ।

कमाउने सपना बोकेर २०६२ असार १५ गते मलेसिया उडेका पाँचथर फिदिमका चुडामणी बास्कोटाको सपना ३ महिना नबित्दै चकनाचुर भयो । मेसिनले देब्रे हात चुँडाइदिएपछि ८ महिना उतै उपचार गराएर घर फर्केका उनी ३ वर्षसम्म भाग्यलाई धिक्कार्दै भौतारिरहे ।

 

२०६६ मा धनकुटा पूगेका बाँस्कोटालाई साहित्यकार झमककुमारी घिमिरेसँगको भेट भने केही गर्न सकिन्छ भन्ने आत्म विश्वास भरीदियो । र, बाँसका फर्निचर बनाउन सुरु गरे । उनले बनाएका फर्निचर सुरुका दिनमा धेरैको रोजाईमा परेनन् । तर, अहिले भने माग पु¥याउन भ्याइ नभ्याइ छ ।

औला छिनिएका हातकै सहारामा बास्कोटाले बनाएका टेवल, कुर्सी, कपडा राख्ने आल्ना, कन्तुर, सोफा र ¥याक गरी ५० किसिमका सामग्री पाँचथर, इलाम, ताप्लेजुङ्ग र झापासम्म निर्यात हुन्छन् । तीन महिनामा २ लाख रुपैंयासम्म बचत हुने गरेको उनको भनाइ छ । विभिन्न औद्योगिक प्रदर्शनीमा बास्कोटा पुरस्कृत भएर फर्कन्छन् । शारिरीक अशक्ततलाई इच्छाशक्ति र लगनशीलताले जित्न सकिन्छ भन्ने कुराको उदाहरण बनेका छन्, बास्कोटा ।