राजनीति

मुख्यमन्त्रीकी छोरी सामुदायिक विद्यालयमा भर्ना

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिका–४ मा रहेको राष्ट्रिय माविमा १४ वर्षकी छोरी पुनम भट्टलाई कक्षा ८ मा भर्ना गराएका हुन् ।राजनीतिज्ञले आफ्नो छोराछोरीलाई महँगा बोर्डिङ तथा विदेशमा पढाउने परम्परा चलिरहेका बेला पत्नी दुर्गा भट्टलाई साथमा लिएर मुख्यमन्त्री भट्ट आफ्नी छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा भर्ना गर्न विद्यालय पुगेका हुन् ।

उनकी छोरी पुनम यसअघि डोटीको देवस्थल माविमा अध्ययन गर्दै आएकी थिइन् ।सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण घट्दै गईरहेका बेला मुख्यमन्त्री भट्टले भर्ना अभियान सञ्चालन भईरहँदा छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा भर्ना गरेका हुन् ।मुख्यमन्त्री भट्टले सबैले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने वातावरण प्रदेश सरकारले बनाउने बताए । उनले सरकारी विद्यालयप्रति सबैको विश्वास जगाउन नीति बनाउने कार्य भईरहेको जानकारी दिए ।उनले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीदेखि राजनीतिज्ञले समेत आफ्नो छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्नेमा जोड दिए ।प्रदेश ७ का नौ जिल्लामा ६ हजार ४ सय २२ बालबालिका स्कुलबाहिर छन् । क्षेत्रीय शिक्षा निर्देशनालयको तथ्यांकअनुसार बाजुरामा ४ सय ३२, बझाङमा ५ सय १४, अछाममा १ हजार १ सय ५६, डोटीमा ४ सय ७७, कैलालीमा २ हजार ३ सय ९४, दार्चुलामा २ सय ६३, बैतडीमा १ सय १४, डडेल्धुरामा ३ सय ३२ र कञ्चनपुरमा ६ सय ४० बालबालिका स्कुलको पहुँचभन्दा बाहिर छन् ।