खेलकुद

सुखमाया आङ्देम्बे स्मृति गोल्डकपको उपाधी फिदिम स्पोर्टिङलाइ

फिदिम :नयाँवर्षको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका १ स्थित नवमीडाँडामा सञ्चालित सुखमाया आङ्देम्बे स्मृति पुरुष फूट्बल प्रतियोगिताको उपाधी फिदिम स्पोर्टिङ क्लवले हात पारेको छ।
सिद्धदेवी मावि नवमीडाँडाको खेलमैदानमा सञ्चालित प्रतियोगिताको आज भएको फाइनल खेलमा आयोजक तिजोक यूवाक्लवलाई १–०गोल अन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लवले उपाधी जितेको हो।

दोस्रो हाफको २४ औं मिनेटमा फिदिमका दिलेन लोक्तामले १ गोल गरे सोहि गोल जितका लागि पर्याप्त भयो। निक्कै प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफको ३५ मिनेटको समयमा दुवै टिमबाट कुनैपनि गोल नभएपनि दोस्रो हाफमा भने फिदिम स्पोर्टिङले खेल केहि आफ्नो नियन्त्रणमा लिएको थियो,उसले धेरैपटक गोल पोष्टमा प्रहार गरेपनि किपरले गोल रोकेका थिए। आयोजक तिजोक यूवाक्लवले खेल केहि कमजोर प्रदर्शन गरेपनि धेरै पटक गोल हुनबाट बचाएको थियो।  उपाधी जितेसँगै फिदिम स्पोर्टिङ क्लवले १लाख १रुपैयाँ र उपबिजेता बनेको आयोजक तिजोक यूवाक्लवले५५ हजार ५ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

यस्तै खेलअवधीभर सबैभन्दा बढी गोल गरेर तिजोक यूवाक्लवका दिनेश शेर्मा सर्वाधिक गोलकर्ता र उत्कृष्ट फरवार्ड बने,तिजोक यूवाक्लवकै रोसन आङ्देम्बेले खेलको सर्वोत्कृष्ट खेलाडीको उपाधी पाए, यस्तै फिदिम स्पोर्टिङ क्लवका दिलेन लोक्ताम म्यान अफ दि म्याच घोषित भए भने फिदिमकै अभिजित रोयले सर्वोत्कृष्ट गोल किपरको पुरस्कारप्राप्त गरे।उनिहरुलाई नगद २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताका बिजेतालाई कार्यक्रमका प्रमूख अतिथि सिद्धदेवी माविका प्रधानाध्यापक विरेन्द्र कुमार खड्काले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो।आयोजक तिजोक यूवा क्लवका अध्यक्ष होम प्रसाद आङ्देम्बेले कार्यक्रम समापन गर्नुहुँदै प्रतियोगिताको आगामी संस्करणलाई अझ उत्कृष्ट बनाउँदै लैजाने बताउँनुभयो।

नयाँवर्षको अवसरमा तिजोक यूवा क्लव नवमीडाँडाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको फूट्बल प्रतियोगितामा यसवर्ष पाँचथर सहित ताप्लेजुङ,तेह्रथुम,इलाम, झापा,भूटान र मोरङका गरी ८ टिमले सहभागिता जनाएका थिए।