विचार

कति हुन्छ त गृहिणीका श्रमको मुल्यांकन ?

राधा गौतम
प्रत्येक विहान भाले बास्नुभन्दा अगावै उठ्नु,घर आँगन सफा गर्नु,आगो पानीको जोहो गर्नु,परिवारका सदस्यले बिस्तारा छोड्नासाथ चिया नास्ता अगाडी राखिदिनु जस्ता कार्यवाट शुरु हुन्छ । हामी र हाम्रो समाजका प्रायःआमा दिदी बहिनीको दिनचर्या ।

विहानीपख यत्तिका कर्म गरेपछि चिया नास्ताका जुठाभाँडा सम्हाल्नु,घाँस दाउरामा जानु,खोले कुँडो पकाउनु बस्तुभाउ स्याहार्नु त्यसपछि पुनः स्कुल जाने छोराछोरी वा अफिस जाने परिवारका सदस्य तयार हुनु अगावै खाना तयार गर्नु अपवाद बाहेक प्रायः नेपाली नारीका दैनिकीको दोस्रो चरणमा पर्ने काम हुन ।

छोराछोरीलाई स्कुल र कार्यालय जाने मान्यवरलाई कपडा,जुत्ता मोजा,र झोलासम्म तयार पारिदिनु अफिस गएपछि जुठाभाँडा स्याहार्नु, कपडा धुनु,दिनभरी खेतवारीको काम वा व्यापार व्यवसाय गर्नु,अफिस, स्कुल र कार्यालय वाट परिवारका सदस्य फर्किनु अगावै चियानास्ता तयार पार्नु,उनीहरु पmर्केपछि खुवाउनु,पियाउनु,साँझ परेपछि खाना पकाइ तुल्याइ र खुवाई पियाइ गर्नु परिवारका बालबालिका र ज्येष्ठ नागरिकका लागि विस्तारा तयार पार्नु दिउँसा ेदेखि साँझसम्म तिनै नारीका दिनचर्या हुन ।

सदस्यहरु सुतिसकेपछि पनि जुठाभाँडा सम्हाल्नु र त्यसपछि भोलीपल्टका लागि सामल तयार पार्न ढिकी जाँतो गर्ने काममा पनि प्रायःमहिला नै खट्छन ।  ग्रामिण परिवेशका महिलाहरु त अझैसम्म मध्यरातसम्म घरको काम गरेर बिहान सवैर उठ्ने गर्छन । अझै नानीका आमाहरु भए तिनको थप जिम्वेवारी हुन्छ । छोराछोरीलाई खुवाइपियाइ अनि स्याहार सम्हार गर्नु, दिसा पिसाव सम्हाल्नु, जस्ता अनगिन्ती बोझ पनि महिलाले नै थेग्नुपर्ने हुन्छ । यस्लाई मैंले सरकारी भाषामा ओभर टाइम भन्न रुचाँए ।

पितृ सत्तात्मक भनेर चिनिएको हाम्रो मुलुकमा जनसंख्याको आधा हिस्सा ओगटेका महिला मध्ये थोरैले मात्र सरकारी कार्यालय र संघ सस्थामा काम गर्ने अवसर छोप्ने क्षमता बनाएका छन । बाँकी धेरै घरेलु काममैं व्यस्त रहन्छन ।  तर बिडम्बना उनीहरुले गर्ने माथि उल्लेख गरेका काम र उनीहरुले समाज निर्माणमा पु¥याएको योगदानको कहिल्यै चर्चा हुँदैन ।
कसैले तिमी के काम ग¥छ्यौ ? भनेर सोधेमा नारीहरुको उत्तर हुन्छ “केहि गर्दिन” उनले त आफ्नो कामलाई ढाकछोप गरिन नै उनका श्रीमान,सासु,ससुरा,देवर,जेठाजु मात्रै नभएर छोराछोरीलाई सोध्दा अपवादमा हाउसवाइफ भन्ने बाहेक धेरैको जवाफ आँउछ “केहि गर्दिनन ।” नेपाली समाजका धेरैजसो महिलाले घर व्यवहार धानेर पनि के काम ग¥छ्यौ ? भनेर सोधिने प्रश्नको जवाफमा केहि गर्दिन, भन्ने जवाफ दिनुमा केहि रहर र केहि बाध्यता हुनसक्छन भन्नेहरु धेरै छन तर म भन्छु यो थोरै अज्ञानता र धेरै महिलाको कामको मुल्यांकन गर्ने परिपाटि नभएर हो ।

समाजको कुनै परिवार यस्तो होस जहाँ नारीको अभावमा स्वतःस्फुर्त चलेको । कुनै कार्यालयमा कार्यरत कर्मचारीकै श्रीमतीको उदाहरण किन नदिऔं । उनको श्रीमानले कार्यालय समयमा बिहान १० देखि साँझ ५ वजेसम्म दैनिक ७ घण्टा काम गर्छन उनले महिनाभरीमा (शनिवार बाहेक) १सय ६८ घण्टा काम गर्छन । उनले महिना मरेपछि थाप्ने तलवको मुल्यांकन हजारमा गरिन्छ । फलानोले महिनावारी २० हजार कमाँउछ, महिना मरेपछि ३० हजार तलव थाप्छ । आदी भनेर उनलाई बहादुरको संज्ञा दिइन्छ । तर अबोध उनकी श्रीमती जस्ले श्रीमानलाई कार्यालय पठाँउनदेखि छोराछोरीको भविष्य बनाँउन मात्रै नभएर घरमा भएका बस्तुभाउ मेलापात,अतिथिको स्वागत सत्कार अनि बाल बालिका र बृद्धबृद्धाको स्याहार सम्हार गर्न बिहान उज्यालो नहुँदैदेखि मध्यरात सम्म कम्तिमा १५ घण्टासम्म खटेर गरेको कामको मुल्यांकन त के उनले गरेको मेहेनेतलार्ई काम नदेख्ने हाम्रो समाजलाई के भन्ने ? भनिन्छ जहाँ नारीको पुजा हुन्छ त्यहाँ भगवानको बाश हुन्छ । तर नेपाली नारीले गरेको श्रमको सम्मान कहिले र कस्ले गर्ने ? भन्ने बिषयमा बहस गर्नुपर्ने बेला आएकोे छ ।

कुनै पनि परिवार सफल हुनमा त्यो परिवारकी गृहिणीको भूमिका महत्वपूर्ण हुन्छ । परिवारका सदस्य शिक्षित र स्वस्थ हुनमा नारीको प्रत्यक्ष अप्रत्यक्ष जे भएनि महत्वपूर्ण भूमिका रहेको अवस्य हो । तसर्थ पुरुषले निश्चित समय अवधिमा गरेको कामलाई दाम सँग तुलना गर्ने हाम्रो समाजले तिनै पुरुषका महिालाले जुरुक्क उठेदेखि मध्यरातसम्म गरेको श्रम र बगाएको पसिनाको पनि मुल्यांकन गर्न सिक्ने हो कि ?

नारीहरु क्षमता हुँदाहँदै पनि दविएको अवस्य हो । अव हाम्रो समाजमा थुप्रै महिला डिग्री होल्डर छन । त्यो पनि नभए स्नातक नभए प्रमाण पत्र तहसम्मको अध्ययन पुरा गरेका घरैपिच्चे छन । मात्रै अवसरको खाँचो छ । पछिल्लो समय राष्ट्रपति,सभामुख र प्रधानन्यायधिस जस्ता गरिमामय पदमा पुगेका बिद्यादेवी भण्डारी, ओनसारी घर्ती मगर र सुसिला कार्कीलाई हेरौ त । अव समाजमा दविएका अन्य महिलालाई अवसर दिएर हेरौं त्यसपछि सुन्दर समाज,समुन्तत राष्ट्र र भ्रष्टाचार रहित कर्मचारी संयन्त्र तयार हुन सक्दैन र ?