विचार

यौन विकृतिमा महिला मात्रै दोषी हुन्छिन किन ?

राधा गौतम
भनिन्छ गाँस बास र कपास मानिसका आधारभुत आवश्यकता हो । यी सँगै सहवासलाई अपरिहार्य हो भन्ने चर्चा यदाकदा हुन थालेको छ ।

हाम्रो समाजलाई नियाल्ने हो भने गाँस बास र कपासकै लागि परिवारका भिन्न भिन्न सदस्यहरुले बेग्ला बेग्लै भूमिका निर्वाह गर्ने गर्छन । भनिन्छ –“खोजी मेली ल्याउने छोरा मान्छेको काम,बनाइ तुल्याइ खुवाउने छोरी मान्छेको ।” हुन त समयको परिवर्तनसँगै अहिले यो उखानले समाजका सवै सदस्यको साझा भावनाको प्रतिनिधित्व गर्न छोडेको छ । यद्वपी बहुसंख्यक पुरुष र महिलाले गर्ने कामको प्रकृती फरक फरक छ त्यो परम्परावाटै चलिआएको हो । प्रायः नारीहरु घर भित्रको काममा व्यस्त रहनु र पुरुषले बाहिरको काम गर्नु परम्परावाटै चलिआएको मान्यता हो भन्दा फरक पर्दैन ।

नुनबोक्न धरानदेखि भारतका विभिन्न वजारसम्म गएका अनि कमाउनका लागि भोट मुगलान पस्ने र निश्चित समय पछि केहि जेथो लिएर घर फर्केका अनुभव सुनाउने पुस्ता हाम्रै समाजमा छन । बढ्दो आधुनिकिकरण र प्रविधिसँगै विकासले फड्को मारेसँगै मान्छेले गर्ने कामको प्रकृति पहिलेभन्दा सजिलो हुन थालेको छ भने रोजगारीका लागी जाने गन्तव्य अनि कमाएर फर्कने समय अवधि पनि हेरफेर भएका छन ।\\

पुर्खाहरु भोट मुगलान जाने चलन कम हुँदै गएपनि युवाहरु रोजगारी र अध्ययनका लागि खाडी र विकसित विभिन्न मुलुकमा जाने चलन ह्वात्तै वढेको छ ।राजनैतिक अस्थिरता र बढ्दो बेरोजगारीका कारण लामो समयसम्म नेपालको जनशक्ति विदेशिनुको प्रमूख कारण पनि गाँस वास र कपास नै हो ।

उनीहरु मध्ये धेरैजसो यी तीनवटा बस्तुको परिपुर्तीकै लागि विदेशिइरहेका छन । विदेशिने क्रममा उनीहरु मध्ये केहिले घरखेत बन्दकी राखेर त धेरैले साहुवाट ऋण लिएका छन ।
परदेशमा कठोर परिश्रम गरेर पैसा कमाँउछन । घरखर्च टार्न पठाँउछन । ऋण तिर्छन । आफुले कमाएको पैसाको सहि ठाँउमा सदुपयोग गर्ने भविष्यका लागि सानो भएपनि घर वनाउने परिवार र बालबच्चाको शिक्षा दिक्षामा उपयोग गर्ने जो कोहिको सपना हुन्छ । त्यो थोरैले पुरा पनि गरिरहेकै छन तर पछिल्लो समय बैदेशिक रोजगारीका लागि बिदेशिएका कर्मठ युवा पुस्ता मध्ये धेरैको योजना उनीहरु फर्केर आँउदासम्म सपनामा परिणत भइसकेका घट्ना हाम्रो समाजमा पर्याप्त छन ।

कारण के त ? हामी थोरैले मात्रै सोचेका छौं । यो अवधिमा गाँस बास र कपासको व्यवस्थापन भएपनि सहवास ओझेलिइसकेको हुन्छ । मेरो बुझाइमा सहबास भनेको परिवारका सदस्यहरु दर्जा अनुसारको पारिवारिक मर्यादामा रहेर सँगै वस्ने देखि लिएर श्रीमान श्रीमती विच नियमित हुने शारिरिक सम्पर्कसम्म सवै पर्छन ।

परिवारको एकजना सदस्य लामो समयसम्म बाहिरिँदा यो क्रम क्रमशः भंग हुन्छ र त्यसले विभिन्न प्रक्रियामा प्रभाव र असर पार्ने गरेको छ ।
पछिल्लो समय घरको लोग्ने मान्छे बिदेशिएपछि उस्को परिवारका सदस्य (श्रीमती र छोराछोरी) शिक्षा दिक्षाको बहानामा बजार पस्ने चलन बढ्दै गयो । श्रीमानले बिदेशमा कमाएको पैसाले व्यवस्थापन गरेको गाँस र वासले धेरै दिन थेग्न सकेन । पर पुरुषसँग सहवास हुन थाल्यो । अन्त्यमा श्रीमान बिदेशवाट फर्किने वेला सम्ममा तिनै परपुरुषसँग सुइकुच्चा ठोकिदिएका घट्ना दैनिकजसो हुन थालेका छन । यो समस्याका कारण पारिवारिक विखण्डनसँगै त्यो परिवारको आर्थिक र सामाजिक संरचना सम्मलाई धक्का दिन थालेको छ । र दिइरहेको पनि छ । हाम्रा कलिला छोरा छोरीको बालिकाको भविष्य अन्यौल हुँदैछ । यो सँगै यसरी गएका हामी महिलाहरु पनि विभिन्न कोणवाट खतरामा पर्दैछौं । यस्मा दोष कस्को त ? यो विषयलाई पनि केलाउन जरुरी हुन्छ ।

पछिल्लो समय टोल टोलमा फलाना कि श्रीमती फलानासँग सल्केकी छे अरे, फलानीले त फलानाको छोरालाई ख्वाप्पै सम्पती खुवाइछे । फलानी त फलानासँग पोइल गईछे,फलाना,फलानी मोटर साइकल लिएर घुम्न गए रे,फलानी र फलाना एउटै ओछ्यानमा सुतेको भटिए रे । भनेर चर्चा भइरहेको हुन्छ ।

यसरी चर्चाको शिखरमा हामी महिलाहरु नै हुन्छौं । यो किन भइ रहेको छ त ? वास्तवमै नै नेपाल पुरुष प्रधान हो । शारिरिक सम्पर्क महिलाले मात्रै चाहेर हुँदैन त्यस्का लागि पुरुषको तात्पर्यता अनिवार्य हुन्छ । कसैकी श्रीमती अर्कासँग सुइकुच्चा ठोकिन त्यहाँ पनि एउटा पुरुष पात्र अनिवार्य हुन्छ । तर महिलालाई नै त्यसमा पनि दोषी देखाइन्छन । वास्तवमा भन्ने हो भने एउटी महिला एउटा परिवारकी आमा,श्रीमती,वुहारी,सासुु र छोरी सबै हुन । उनको काँधमा परिवार सञ्चालनको ठुलो भूमिका हुन्छ । एउटी महिलाले गडवडी गर्ने हो भने त्यो परिवारको पुरै संरचनामा धक्का लाग्छ ।

पछिल्लो समय नारीलाई यौनसँग जोडेर धेरै होच्याउने गरिएको छ त्यसमा पनि श्रीमान बिदेशिएका र घरमा नरहेका महिलानै आलोचनाका पात्र वनेका छन । भनिन्छ नेपालीमा पुरोनो उखान छ “ एउटा बिराउने शाखा पिराउने ” यो सँगै जुन औंलामा बिष लाग्यो त्यो मात्रै झर्छ पनि भनिन्छ । तर यहाँ समाजका एकाध महिला विकृतीमा लागे भन्दैमा सबैलाई एउटै दृष्टिले हेरिन्छ ।

अझै महिलालाई होच्याएर “ आईमाईहरु सवै बिग्रिए ।” भनेर गालीका शव्द पनि बोलिन्छ । तर यहाँ पुरुष अर्काकी श्रीमतीसँग सल्कँदा महिलाको जति आलोचना हुँदैन । कारण हो हाम्रो समज पुरुष प्रधान संरचनामा चलिआएको छ ।

अन्त्यमा पछिल्लो समय यौनजन्य क्रियाकलापसँग जोडेर जति महिलाको आलोचना हुन्छ त्यसलाई सहि ढंगवाट व्यवस्थापन गर्ने चुनौती महिलामै थपिएको छ । पश्चिमेली मुलुकमा यौनलाई जति खुल्ला गरिएको छ त्यो हाम्रो देशमा पच्दैन । परम्परादेखि चलिआएका शास्त्र र सस्कारले पनि पुर्वीय मुलुकका महिलालाई बाँधेकै छ ।

एकातर्फवाट हेर्दा पछिल्ला समय यौन बिचलन र बहु विवाहका घट्नामा महिलालाई दोषि देखाइनु पनि यसैको परिणाम हो । यौन बिचलनमा फसेकाहरुलाई पशुको संज्ञा पनि दिइन्छ । तर गहिरिएर हेर्ने हो भने पशुलाई त्यो दर्जाका मानिससँग तुलना गर्न मिल्दैन किन कि पशु पक्षीदेखि किटपतंगसम्म जुन सस्कार छ त्यो मानिसमा छैन । जस्तै पशु पंक्षी र चराचुरुङगी आफ्नो जोडीलाई छोडेर अर्काे बथानमा गएर मिसिँदैनन,उनीहरुले हम्मेसी बलत्कार गर्दैनन,अनि अर्काको जोडीसँग यौन सम्पर्क गर्दैनन ।अनि आफ्ना सदस्य र लालावालालाई विल्लिवाठ पारेर सुइकुच्चा पनि ठोक्दैनन ।

तर सर्वश्रेष्ठ प्राणी भनाँउदा हामी मान्छे,किन सधैं यौनहिंसा,बेश्याबृत्ती,बलात्कार र बहु विवाह जस्ता घट्नामा मुछिन्छौं अनि हामी महिला आफ्ना पतिले बिदेशमा ज्यान जोखिममा राखी बेल्चा र गैंती हानेर कमाएको दुई पैसाचार पैसा किन सदुपयोग गर्न सक्दैनौं ? अनि किन कलिला लालावाला र बृद्वबृद्वालाई चटक्कै छोडेर पर पुरुषसँग जान्छौं ? । एकपटक मन्थन गर्ने कि ?
gautam.radha2011@gmail.com