ब्लग विचार

के उनी साँच्चै बोक्सी थिइन त ?

राधा गौतम
बोक्सी के हो ? यो कस्तो हुन्छ ? अनि त्यस्को स्वभाव र आचरण कस्तो हुन्छ ? यी प्रश्नको जवाफ सायद कसैले दिन सक्दैन । बोक्सीको वास्तविक परिचय र स्वभाव सायद पछिल्लो उदाहरण कैलालीमा राधा चौधरीलाई बोक्सीको आरोप लगाँउदै कुटपिट गर्ने धाँमीझाँक्री रुपी दानबीय प्रबृत्तीलाई पनि थाहा छैन र हुँदैन पनि ।

आफुलाई बोक्सीको आरोप लगाएर निर्घात कुटपिट र अमानबीय व्यवहार गरिन्छ भन्ने कुरा ती १५ वर्षीय अबोध किशोरीलाई थाहा हुने बिषय पनि भएन । तर जे नहुनु थियो त्यहि भयो । त्यो पनि महिला अधिकार र उन्मुक्तीका कुरा गर्ने दिन मार्च ८ अर्थात नेपाली क्यालेण्डरमा २४ फागुन २०७४ का दिन ।

पश्चिम नेपालमा भएको यो घट्नाले पुर्ब मेची सम्म मात्र नभएर अन्तराष्ट्रिय स्तरमै एउटा तरङग पैदा गरेको छ । अनि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा महिला र बाल बालिकाको मानव अधिकारका पक्षमा वकालत गर्दै आएका सरकारी र गैर सरकारी सस्थामा आबद्ध अभियन्ताहरुको शिर निहुराएको छ । अनि नेपालको कानुनको धज्जी उडाएको छ । नेपालले महिला र बाल बालिकाको अधिकार सम्बन्धि निर्माण भएका जत्तिपनि सन्धी र अभिसन्धिलाई समर्थन गर्दै कार्यन्वयनमा जाने प्रतिबद्धता पनि नजनाएको होइन तर यो घट्नाले पुनः एक पटक नेपालमा मानव अधिकार भन्दा माथि अन्धबिश्वास र रुढिबादी परम्परा माथि छ भन्ने पुष्टि गरिदिएको छ ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा महिला अधिकार स्थापित गर्ने नारा लगाइयो, अधिकारका पक्षमा थुप्रै भाषण हरु भए निरंकुश राणा शाषन हुँदै पञ्चायत र राजतन्त्र ढलेर प्रजातन्त्र,लोकतन्त्र हुँदै गणतन्त्रसम्म स्थापना भइसके तिनै परिवर्तनका परिणाम स्वरुप नेपालमा समावेशि राजनीतिको शुरुवात भयो । नेपालमा महिलाले राष्ट्रपति बनेर पहिलो कार्यकाल व्यतित गरी दोस्रो कार्यकालपनि शुरुवात गरिन ।

 

हिजो प्रतिनिधि सभामा सभामुख र प्रधानान्यधिष जस्तो गरिमामय पदमा महिलाले कार्य सम्पादन गरि सकेका छन । अहिले प्रदेश र संघीय सांसदमा पनि एक तिहाई संख्या महिला सभाषदको छ । नेपालको संविधान २०७२ समाबेशी सांसदले नै बनायो अव प्रदेश र स्थानीय तहमा कानून निर्माण हुने चरणमा छन । हिजो आज र भोली मुलुक सञ्चालनको बागडोर सम्हालेका अनि सम्हाल्ने रथिहरु महिला इत्तरका भएपनि तिनीहरु महिलाकै उपज हुन ।
तर बिडम्बना हाम्रो देश नेपालमा महिलाहरुको वास्तविक अवस्था के छ ? महिला र बाल अधिकार संरक्षणका लागि बनेका कानूनका ठेलीहरु कहाँछन ? यो बिषयमा एकपटक गहिरिएर सोचौं त ।

अव कुरा गरौं लैंगिक मैत्री व्यवहारको
एउटी महिला गर्भवति भएदेखि उनको गर्भमा रहेको भ्रुणमाथि लैंगिक बिभेद शुरु हुन्छ । प्रविधिको प्रयोग गर्दै भ्रुण पहिचान गरेर छोरो भए संरक्षण त छोरी भए गर्भमै हत्या गर्ने कुप्रथाले नेपालमा पनि जरो गाडी सकेको छ ।

भ्रुणहत्या गर्न नभ्याएर कसैको कोखबाट जन्मेका छोरीहरु छोराका तुलनामा अझैपनि अपहेलित हुने अवस्था हाम्रो समाजबाट टाढा छैन । त्यसपछि लवाई खुवाई र शिक्षा दिक्षामा पनि छोरालाई भन्दा छोरीलाई नै ठग्ने प्रबृत्ती छ । शिक्षित भनाँउदाहरु नै छोरालाई बोर्डिङ पढाँउछन भने छोरीलाई सरकारी स्कुल भर्ना गरिदिन्छन ।

छोरी जन्मिए बिहेवारी गर्दा दाहिजो दिनुपर्छ छोरीलाई पढाउन लगानी गर्र्यो भने खेर जान्छ,बिहे गरेर जाने जात आदी भनेर छोरीहरुलाई मानसिक रुपमै कमजोर तुल्याउन विभिन्न उपमा दिइन्छ ।

घरेलु कामदारका रुपमा पनि पुरुष भन्दा धेरै महिला नै प्रयोग भएका तथ्यांक प्रसस्तै छन । बिबाह गरेर गइसकेपछि दाहिजोका नाममा परिवारबाट पीडित हुने पनि महिला नै छन । कत्तिपय स्थानमा दाहिजो नल्याएकै कारण महिलालाई मलमुत्र खुवाउने अनि जिँउदै आगोमा जलाउने प्रबृत्ती छँदैछ । आफन्त छिमेकी र बृद्ध अवस्थामा पुगेका हरुले बालिका बलत्कार गरिरहेका छन । युवती किशोरी र अधबंैशे महिला पनि बलत्कारको शिकार भइरहेका छन । पश्चिम नेपालमा महिनावारी हुँदा छाउगोठमा गएका महिला मध्ये धेरैको ज्यान जाने गरेको छ भने कत्तिपय नर पिशाचहरुले छाउगोठमै पनि महिलालाई बलात्कार गर्न भ्याएका छन । यत्तिमात्रै कहाँ हो र ? आफ्ना भनाँउदा हरुले रकम लिएर जनावर झैं कालकोठरीमा बेचिदिने पनि गरेका छन नेपाली चेलीलाई । यस्तै घरेलु श्रमिकका रुपमा राखिएका महिलाको श्रमको उचित मुल्य छैन । बरु उल्टै तिरस्कृत र बलात्कृत हुनु पर्ने अवस्था छ ।

आखिर जत्तिसुकै गन्थन गरेपनि सार भने नेपालमा महिला,बालिका,किशोरी र युवती हरेक कोणबाट असुरक्षित नै छन भन्ने नै हो । अव नारी दिवसकै दिन पश्चिम नेपालको कैलालीकी राधालाई बोक्सीको आरोप लगाँउदै छ घण्टासम्म क्रुर यातना दिएपश्चात पुर्बी नेपालमा बस्ने यो राधाका मन मतिष्कमा यस्ता सम्म तर्क सिर्जना हुन्छन ।

१, जवरजस्ती करणी अर्थात बलात्कारका घट्ना घटाँउनेहरुलाई मौजुदा कानूनले व्यवस्था गरेको सजाँयको महलमा उल्लेख गरिएको १० वर्ष वा सो भन्दा वढि कैद सजाँयलाई परिमार्जन गरी पीडकलाई मृत्युदण्ड सम्मको सजाँय दिइए के हुन्छ ?
२, दाहिजो नल्याएको,बोक्सी लागेको वा महिला माथि हिंसा हुने कुनैपनि आरोप लगाएर यातना दिने जो कोहिको सर्वस्वहरण पश्चात फासीको सजाँय दिने कानून निर्माण गरे कसो हुन्छ ?
३, भ्रुण पहिचान गर्ने प्रविधिलाई पुर्णतया प्रतिवन्ध लगाइनुपर्छ । यदि कसैले भ्रुण पहिचान गरी गर्भपतन गर्ने अनि पैसा लिएर महिलालाई बेच्नेहरुलाई कर्तव्य ज्यान मुद्वाका आरोपी सरह कैद सजाँय र जरिवाना असुल किन नगर्ने ? यत्तिका विषयमा कडाई गर्नेहो भने नारीहरुले बोक्सीको आरोपमा कुटिने,मुलमुत्र खानुपर्ने अनि दाइजो नलाल्याएको भन्दै अपहेलित हुने बलत्कारका घट्ना न्युन होलान कि ?