मोफसल

बिर्तामोड तनाबग्रस्त, एक जनाको मृत्यु, अनिश्चितकालीन कर्फ्यू

झापाको विर्तामोडमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर झापा अर्जुनधारा नगरपालिका ५ का नरेश थापाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका थापालाई उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल पुर्याइएको थियो । मेची अञ्चल अस्पतालको आकस्मिक कक्षमा कार्यरत कर्मचारी तारा दहालले थापाको मृत्यु भएको जानकारी दिइन् ।
मेची अञ्चल अस्पतालमा इलामको माइ नगरपालिका १ का मणि नेपाली तथा विर्तामोड नगरपालिका ६ का देवेन्द्र राजवंशीको उपचार भइरहेको उनले जानकारी दिइन् । उनीहरु चेत अवस्थामा रहेका तर स्थिति भने गम्भीर रहेको उनले बताइन् ।

प्रहरीका अनुसार अपरान्ह करीब अढाई बजेतिर प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरेर गोली प्रहार गरेको थियो । अपरान्ह साढे १ बजेदेखि लगाइएको कर्फ्युका बेला प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी गरेकाले बाध्य भएर गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।
प्रहरीको गोली लागेर घाइते भएका चार जनाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए । घाइतेहरु राजगढ झापाका सुनील पाठक, मेचीनगर नगरपालिकाका अशोक बस्नेत, झापा दुर्गापुरका नवराज कोइराला तथा अर्जुनधारा नगरपालिकाका पूण्यप्रसाद लुईंटेलको विएण्डसीमा उपचार भइरहेको गिरीले बताए ।
अर्जुनधारा ११ का ११ बर्षिय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युको विषयलाई लिएर मृतक बालकका आफन्त र स्थानीयबासीले विर्तामोडमा प्रदर्शन गरिरहेका थिए । प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयबासीले शुक्रकार विर्तामोड बन्दको घोषणा गरेका थिए ।
दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ बर्षिय लक्ष्मण शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का शुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठ जना बिरुद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
शुक्रबार मृतक बालकका आफन्त तथा स्थानीयबासीले शनिश्चरे रोडबाट निकालिएको र्याली प्रहरीकै इस्कर्टिङमा विर्तामोडको मुक्ति चोकमा पुगेपछि प्रहरीले नै एकाएक रोकेको थियो । प्रहरीको अवरोधलाई छिचोलेर र्याली अगाडि बढ्न खोज्दा प्रहरीले लाठीचार्ज तथा हवाइ फयार गरेको थियो । आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अ श्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

बालक हत्यामा निस्केको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले अनिश्चिकालिन झापाको विर्तामोडमा कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार दिउँसो १ः३० बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यूजारी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी दिए ।
उनका अनुसार पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चौक र दक्षिणमा विर्तावजारसम्म कर्फ्यूजारी गरिएको छ । अर्जुनधारा नगरपालिका वडा नम्वर ११ निवासी ११ बर्षिय लक्ष्मण शिवाकोटीको हत्यारा पत्ता लगाउन परिवारले दबाब स्वरुप संघर्ष समिति बनाएर आन्दोलन गरेको थियो । आन्दोलनले स्थिति तनावग्रस्त भएपश्चात कर्फ्यु लगाउनु परेको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीले बिर्तामोड नगरपालिकाका मेयर धुब्रकुमार शिवाकोटीको घरमा पसी बा.१० च ३०६१ नम्बरको निजी गाडी र बिर्तामोड नगरपालिकाको मे १ झ. १२१ नम्बरको गाडी तोडफोड गर्नुका साथै उनका छोराको मे ७ प ३००० नम्बरको बुलेट बाइक जलाएका छन् । साथै घरका झ्यालका शिशा समेत फुटाइदिएका छन् ।

साभार अन्नपुर्ण बाट