विचार

के हो कब्जियत ?

 

कब्जियतको समस्याबाट करिब ९० प्रतिशत मानिस प्रभावित छन् । कब्जियत हुनु, पेट गडबड हुनु, पेटमा ग्यास बन्नु, पेट सफा नहुनु आदिजस्ता समस्या गाउँभन्दा सहरी जीवनमा आमसमस्या जस्तै बनेको छ । भनिन्छ ‘पेट ठीक भए सबै ठीक ।’पेटबाट नै ३६ प्रकारका रोगको सुरुवात हुन्छ । जस्तैः पाइल्स (अल्काई), गेस्ट्राइटिस, डायबिटिज, टाउको दुख्ने, मुख गन्हाउने, वाकवाकी लाग्ने, बान्ता हुने आदि । पेट नै रोगको घर हो ।
यदि तपाईंको पेट, पाचन प्रणाली ठीक छ भने स्वास्थ्य ठीक छ । पेटबारे एउटा भनाइ छ( ‘जहाँ बढा पेटका घेरा, वही डाला रोग ने डेरा ।’ अर्थात् सामान्य आयतनभन्दा ठूलो आकारमा पेट बढ्नुको अर्थ रोगले शरीरमा डेरा जमाउनु हो । विडम्बना हाम्रो समाजमा पेट बढ्यो भने यसलाई राम्रो मान्छन् । स्वस्थ्य र सम्पन्नताको प्रतिक ठान्छन् । वास्तवमा पेट लाग्नु वा बढ्नुको अर्थ व्यक्तिमा रोगको सुरुवात हुनु हो ।
कब्जियतका प्रकार
कब्जियत विशेषगरी दुई प्रकारका देखिन्छन् । स्थायी र अस्थायी । स्थायी कब्जियतबाट मुक्ति पाउन कठिन हुन्छ । यो कैयौं रोगको कारण पनि बनिरहेको हुन्छ । क्रोनिक कन्स्टिपेसनमा जुलाब (दिसा गराउने) औषधि लिँदा पनि काम गर्दैन । डुस (एनिमा) लिँदा पनि दिसा खुलेर आउँदैन । यस्तो प्रकारको स्थायी कब्जियतको उपचारका लागि सम्बन्धित चिकित्सकसँग बेलैमा परामर्श गरी औषधोपचार गर्दा मात्र सम्भव हुन्छ । अस्थायी कब्जियत खानपान, रहनसहन, जीवनशैलीमा परिवर्तन गरेर हटाउन सकिन्छ ।
कारण
कब्जियतको कारण यही नै हो भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन । कब्जियत हुनुका थुप्रै कारण छन् । जस्तैः अनियमित खानपान, शारीरिक श्रमको कमी, खाएको कुरा नपच्नु, औषधिहरूको बढी सेवन, पानी कम पिउनु, फास्टफुडको बढी प्रयोग गर्नु, राति जागै बस्नु, चिन्ता तथा तनावपूर्ण जीवन बिताउनु, धूमपान गर्नु, चिया, कफी, कोकाकोला, फेन्टा, इनर्जी ड्रिङ्क बढी प्रयोग गर्नु आदि प्रमुख कारण हुन् ।
समस्या
कब्जियतको समस्याबाट पीडित व्यक्तिलाई भोक नलाग्ने, मुख गन्हाउने, पेट फुल्ने, मुटुको ढुकढुकी बढने, टाउको दुख्ने, वाकवाकी लाग्ने तथा बान्ता हुने, दिसा बाख्राको बडक्यौला जस्तो गोटागोटा हुने, दिसा गर्दा निकै कन्नुपर्ने हुन्छ । यसका कारण मलद्वार बाहिर निस्किने हुन्छ । हर्नियासमेत हुने सम्भावना बढी हुन्छ । अल्काई (पाइल्स) आदि जस्ता समस्या कब्जियतले ल्याउँछ । पेटको आकार बढनुका साथै शरीरको तौल पनि बढ्न गई समस्या हुन सक्छ ।
कसरी बच्ने
कब्जियतको समस्या हुनेहरूले बोक्रासहितको गाजर, चना, भटमास, काँक्रो, मुला, अम्बाजस्ता फलफूल खानुपर्छ त्यसैगरी गहुँको पिठो, कोदो, बोक्रासहितको आलु, फापर, गेडागुडी पर्याप्त मात्रामा लिनुपर्छ । हरियो सागपात, रेसादार ( फाइबर) युक्त सिजनअनुसारको सागसब्जीहरू प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । नियमित रूपले शरीरको क्षमताअनुसार व्यायाम गर्नु पर्दछ ।

खानेकुरा र व्यायामको अभावले मात्र होइन लगातारको मानसिक चिन्ता र डर पनि कब्जियतको कारण बन्न सक्छ ।
व्यायाम मुटुको चालको लागि मात्र हैन, शरीरको आन्द्राको चालको लागि पनि चाहिन्छ । व्यायामले पाचनशक्ति बढाउन मद्दत गर्छ । अन्य व्यायाम गर्न सकिँदैन भने हिँडाइ त जसले पनि, जहाँ पनि गर्न सक्छ ।

हरेक दिन बिहान र बेलुकी ३० मिनेट जति छिटो छिटो हिँडाइ एउटा राम्रो व्यायाम हो । यसले शरीरको तौल ठीक राख्नुका साथै कब्जियत हटाउन मद्दत गर्दछ ।
कतिपय मानिस बिहान उठ्नेबित्तिकै नित्यक्रिया गर्दैनन् । कामको चाप, अफिस या पसल जान हतार, ढिलो उठ्ने बानी आदिले गर्दा अफिस वा काममा दौडिन्छ । दिसा लाग्दालाग्दै पनि च्यापेर, रोकेर दौडिन्छन । यसले गर्दा पनि कब्जियत हुन्छ । अतः बिहान उठ्ने बित्तिक्कै दिसा वा न आशोच गर्ने बानी बसाल्नुपर्छ । यसो गर्दा कब्जियतबाट बचिन्छ ।
खानेकुरा र व्यायामको अभावले मात्र होइन लगातारको मानसिक चिन्ता र डर पनि कब्जिययतको कारण बन्न सक्छ । चिन्ता, तनाव, भय हटाउन मेडिटेसन (ध्यान) योगाभ्यास गर्नु लाभदाय हुन्छ । जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ । सकारात्मक सोच राख्नुपर्छ । मानसिक चिन्ता हटाउनुपर्छ । आनन्दपूर्वक हिँडाइ, दौडाइ र हँसाई पनि एउटा राम्रो माध्यम हो । पेट मिचिमिची हाँस्दा पनि आन्द्राको मालिस हुन्छ ।
सुझाव
कब्जियत हटाउन विभिन्न विज्ञापनमा देखाइएका औषधि (चूर्ण) जुलाबको प्रयोग सकेसम्म गर्नु हँदैन । जुलाबले एकचोटी त आराम दिन्छ । तर बारम्बार यसको प्रयोगले आन्द्रालाई कमजोर बानाउछ । कब्जियत झन् बढेर आउँछ । केही एलोप्याथिक औषधिले पनि कब्जियत गराउँछ । जस्तै( एन्टासिड, क्याल्सियम, निद्रा लगाउने औषधि, प्रेसरको औषधिका साथै मानसिक रोगका लागि प्रयोग गरिने औषधि आदिले कब्जियत हुन्छ ।
निषेध
दिसा बस्दा दिसा आएन भने कतिपय व्यक्तिहरू बल निकालेर कन्छन् । यसले गुद्वारमा दबाब पर्न जान्छ र मलद्वारमा घाउ (फिसर) हुन सक्छ । मलद्वार बाहिर निस्किने (परोल्याप्स एनो) हुन सक्छ । दिसा बस्दा कन्नु हँदैन । कन्नुको सट्टा दैनिक भोजन, व्यायाम, पूर्ण निद्रा आदिबाट नै कब्जियतबाट मुक्ति पाउन उचित हुन्छ । कब्जियत हुनेले राति सुत्दा मनतातो पानी पिउनु राम्रो हुन्छ ।
होमियोप्याथिक ऊपचार
कब्जियतको उपचारमा रोगीको मानसिक एवं शारीरिक लक्षणको आधारमा प्रयोग हुने केही औषधिहरू निम्नलिखित छन् । जसको प्रयोग स्थायी र अस्थायी दुवै प्रकारको कब्जियतमा सफलतापूर्वक गर्न सकिन्छ ।
औषधिहरू
ब्रायोनिया, एलुमिना, औपियम, लाइकोपोडियम, कल्केरियाकार्ब, ग्रेफाइटिस, सल्फर, सिपिया, नेट्रम म्युर, साइलिसिया, आदि ।

साबार अन्नपूर्णबाट