अर्थ

रैराङ हाइड्रोले खुलायो पाँचथर र ताप्लेजुङका लागि सेयर

फिदिम : रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ताप्लेजुङ र पाँचथरका स्थानियका लागि पाँच लाख ६० हजार कित्ता शेयर जारी गरेको छ । आयोजना प्रभावित हुने पाँचथरको थर्पु र ताप्लेजुङका साब्लाखु गाविसका स्थानीयबासीका लागि एक सय रुपियाँ अंकित दरको पाँच लाख ६० हजार कित्ता शेयर जारी गरेको हो ।

कुल सेयर संख्यामध्ये दुई लाख २४ हजार कित्ता सेयर उनीहरुलाई दिने कम्पनीले जनाएको छ । त्यस्तै तीन लाख ३६ हजार कित्ता शेयरमा भने पाँचथर र ताप्लेजुङका सबै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

स्थानीय बासीन्दाले साधारण शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम २८ सय कित्तासम्म आवेदन गर्न सक्नेछन् । उक्त आईपीओ आवश्यक मात्रामा आवेदन परेमा असार ८ गते बन्द हुनेछ भने आवश्यक आइपीओ नपरेको खण्डमा असार २३ गतेसम्म शेयर भर्ने समय निर्धारण गरिएको छ ।

सर्वसाधारणले आईपीओमा सिभिल बैंकको पाँचथरको साविक थर्पु गाविसको मेदिबुङ बजार र फिदिम शाखा बाट आवेदन गर्न सक्नेछन् । त्यस्तै माछापुच्छ्रे बैंकको फिदिम शाखा, एनआइसी एशिया बैंकको फिदिम शाखा, एनएमबि बैंकको फिदिम शाखा र ताप्लेजुङको फुङलिङ शाखाबाट समेत शेयरमा आवेदन गर्न सक्नेछन् ।

ताप्लेजुङ र पाँचथरस्थित इवा खोलामा निर्माण भइरहेको रैराङ आइड्रोपावरको निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । आयोजनाले इवाखोलाबाट अधिकतम १२.३ क्युविक मिटर प्रतिसेकेन्ड पानी उपयोग गरी ९.९ मेगावाट क्षमताको विद्युत शक्ति उत्पादन गर्नेछ । आयोजनाबाट उत्पादनभएको बिजुली नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनसम्म पु¥याइने छ । र, अमरपुर सवस्टेशनवाट राष्ट्रिय ग्रीड प्रणालीमा विद्युत समाहित हुनेछ ।

अहिलेसम्म निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सकिएको र २०७४ माघ मसान्तभित्र निर्माण सम्पन्न भइसक्ने आयोजना प्रमुख कुबेरमणि नेपालले जानकारी दिए । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच इवाखोला विद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री सम्झौता २०७० वैशाख २९ गते सम्झौता भएको थियो ।

कम्पनीले आयोजनाको निर्माणको लागि २०७३ कात्तिकवाट ठेकेदार कम्पनीहरु परिचालन गरेको नेपालले जानकारी दिए । इवा खोला आयोजनाको निर्माण कार्य सम्पन्न गर्न १६० करोड रुपैयाँ लाग्ने वित्तीय प्रक्षेपण गरी आयोजनाको निर्माण कार्य थालनी भएको हो । कुल लगानीमध्ये ३५ प्रतिशत स्वःलगानी तथा ६५ प्रतिशत वैंकको ऋण रहेको छ ।