विचार

“सरसफाई अभियान” यसो गरे कसो होला ?

लक्ष्मी गौतम
फिदिम नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनान्तिस हप्तासम्म सञ्चालन गरेपछि सेलाएको नगर क्षेत्र सरसफाई अभियानलाई १६ बैशाखदेखि पुनः ब्युताउने प्रयास गरिँदैछ ।

फिदिम नगरपालिका कार्यालयकै अगुवाईमा यो अभियान पुनः सञ्चालन हुन लागेको हो । करिब डेढ वर्षअघि शुरु भइ २९ हप्तासम्म चलेर बन्द भएको अभियान नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत काजिमान राई र प्रहरी नायब उपरिक्षक कृष्णप्रसाद कोइरालाको सरुवा भए पश्चात सुस्ताएको थियो ।
केहि समय चलेर सुस्ताएको अभियान पुनःसञ्चालनमा आउनु नगरबासीका लागि खुशीको कुरो हो ।
यो अभियानलाई प्रभाबकारी ढंगबाट अगाडी बढाउनु एबं साथ सहयोग गर्नु प्रत्येक नगरबासीको दायित्व हो ।
यद्वपी अभियान चलाइनु पुर्व अल्पकालिन र दिर्घकालिन योजना निर्माण गरिनुपर्छ भन्ने मेरो ठम्याई छ ।
कार्ययोजना किन ?
फिदिम नगर सरसफाई अभियान मात्रै नभएर यो सँग प्रत्यक्ष सरोकार राख्ने प्लाष्टिकमुक्त अभियान पनि यहाँ असफल भएको छ । फिदिम नगरपालिका र सिम नेपालसँगको सहकार्यमा पाँचथर उद्योग बाणिज्य संघले ३ बर्षअघि फिदिम बजारलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेपनि अहिलेसम्म प्लाष्टिक र प्लाष्टिकजन्य बस्तुको नियन्त्रण र नियमन भएको छैन । अन्ततः फिदिम बजारको फोहोर मैलामा आधा भन्दा धेरै प्लाष्टिक र प्लाष्टिक जन्य बस्तु देख्न सकिन्छ ।

प्लाष्टिकमुक्त घोषणा गरिएको फिदिम बजारमा घोषणालाई टिकाइराख्ने प्रयास गरिनु पर्दथ्यो । त्यो हुन सकेन । यस्तै खुल्ला दिशामुक्त घोषणा भइसकेको सदरमुकाम क्षेत्रमा सार्वजनिक सौचालय निर्माण र व्यवस्थित पशु पालन लागि बनेका कार्ययोजनालाई बेला बखत स्मरण गरिनु पर्दथ्यो । पाँचथर जिल्लामा सरसफाईका क्षेत्रमा यसअघि पनि निरन्तर प्रयास भएका छन । २०६२–०६३ मा तत्कालिन डाक्टर गुणराज लोहनीको नेतृत्वमा अस्पताल क्षेत्र सरसफाई अभियान चलाइन्थ्यो । अभियान अन्तरगत प्रत्येक शुक्रवार कर्मचारीहरुले आधा घण्टा सरसफाईमा खर्चन्थे । अस्पताल क्षेत्रमा फोहोर फ्याक्ने र धुम्रपान गर्नेलाई तत्काल दण्ड जरिवाना सँगै राम्रो काम गर्नेलाई प्रोत्साहन पुरस्कार दिने परिपाटी पनि त्यसैताका शुरुवात गरिए । यस्तै दुईवर्ष अघि तत्कालिन प्रमूख जिल्ला अधिकारी प्रदीपराज कँडेल रहँदा जिल्ला व्यापी सरसफाई अभियान सञ्चालन भए । सरकारी कार्यालयहरुको अनुगमन गरेर राम्रो व्यवस्थापन भएका कार्यालयलाई पुरस्कृत गर्नेदेखि नराम्रो भएकालाई सुधार गर्न पहल गरियो । करिब एक वर्ष अगाडीसम्म फिदिम नगरपालिकाका तत्कालिन प्रमूख काजीमान राई र प्रहरी नायब उपरिक्षक कृष्णप्रसाद कोइरालाको अगुवाईमा बजार सरसफाई अभियानलाई निरन्तरता दिइयो । त्यसताका जिल्लाका प्रायः सबै अड्डा प्रमूखहरु बजारको ढल भित्र पसेर सरसफाईमा सरिक हुन्थे ।
यी सबै अभियान कार्यालय प्रमूख परिबर्तन हुने बित्तिकै सेलाए । अहिले पुनः त्यो कामलाई निरन्तरता दिइन खोजिँदैछ ।
अव पनि जिल्लामा सञ्चालन हुने अभियानलाई व्यवस्थित गर्न कार्य योजना नबनाइने हो भने हिजोको जस्तै समस्या नदोहोरिएला भन्न सकिन्न । तसर्थ नगरपालिका कार्यालयले नेतृत्व लिएर यसलाई व्यवस्थित गर्नेतर्फ लाग्नु जरुरी छ ।
प्रायःजसो चलिरहने अभियानमा आ–आफ्ना घर अगाडी जमेको फोहोर मैला व्यवस्थापन हामी फिदिम नगरबासीको आदत जस्तै बनिसक्यो । तसर्थ आफ्नो घर,टोल र समुदायको सरसफाई त्यहिँका नागरिकले गर्नुपर्छ भन्ने भावनाको बिकास प्रत्येक नागरिकमा हुनु जरुरी छ । त्यस्का लागि नगरपालिका सहित यहाँका सम्पूर्ण सरकारी र गैर सरकारी निकायले टोल–टोलका वासिन्दालाई सरसफाईमा प्रेरित गर्दै निश्चित समयमा प्रत्येक टोलको अनुगमन गरी राम्रो गर्नेलाई पुरस्कार तथा नराम्रो गर्नेलाई दण्ड जरिवाना गर्ने सम्मका कार्यक्रम समाबेस गरिनु पर्छ ।

पछिल्लो पटक शुरु गरिएको अभियानमा फिदिम बजारका स्थानीय भन्दा धेरै म्यादी प्रहरी,नेपाल प्रहरी,नेपाली सेना,शशस्त्र प्रहरी सहित कार्यालय र संघ सस्थाका प्रमूखको अधिक सहभागिता हुनुले पनि हामी फिदिम बजारवासी सरसफाईका लागि अभिप्रेरित छैनौं भन्ने पुष्टि गरेको छ ।
सुरक्षाकर्मी,कर्मचारी र स्थानीयले सँगसँगै झाडु र बेल्चा लिएर सदैव जुटिरनु भन्दा पनि नगरपालिकाले,सरोकारवालासँग मिलेर कार्ययोजना बनाउने,त्यसपछि क्रमशःस्थानीयलाई सामेल गर्ने,क्रमशःनियम पालना भए नभएको अनुगमन मुल्यांकन गरी दण्ड,जरिवाना र पुरस्कार सम्मको चरणमा पुग्ने हो भने मात्रै आम नागरिकको आदत परिवर्तन हुन सक्दछ ।
सरसफाई अभियानको नेतृत्व नगरपालिका कार्यालयले नै लिने हो । किनभने स्थानीय स्वायत्त शाषन ऐनले स्थानीय निकायलाई पर्याप्त अधिकार दिएको छ । पछिल्लो समय स्थानीय तह पुर्नसंरचना पश्चात त नगर र गाँउ पालिकाका क्षेत्रधिकार अझै वढेको छ ।
नमुना सहरका रुपमा समेत अगाडी बढिरहेको फिदिम नगरपालिकालाई स्वच्छ सफा र हराभरा राख्न यहाँका स्थानीयसँगै सरकारी,गैर सरकारी र नीजी क्षेत्रले हातेमालो गर्नु जरुरी त छ नै तर अभियानका नाममा प्रशासनिक,सुरक्षा,संघ,सस्था,संघठन आदीको जिम्वेवारीमा रहेका प्रमूखहरुले झाडु र बेल्चा बोकेर फोहोर उठाँउदै हिड्ने कामको निरन्तरता हुनुहुँदैन । त्यसका लागि एउटा संयन्त्र बनाइयोस । जुन संयन्त्रमा समुदाय स्वयम सरसफाईमा प्रेरित होस । नगरपालिकाले निरन्तर अनुगमन गरोस,मुल्यांकन गरेर साप्ताहिक,मासिक नभए त्रैमासिक रुपमा सरसफाईमा नमुना बन्ने व्यक्ति वा समुदायलाई पुरस्कृत गरियोस ।
फोहोरको डंगुर थुपार्ने र अव्वस्थित पशु पालन गर्नेलाई पहिलो पटक सम्झाई बुझाई,दोस्रो चरणमा स्मरण,तस्रो चरणमा जरिवाना हुँदै नसियत सम्मको व्यवस्था गरियोस । त्यसपछि पाँउछ सर सफाई अभियानले सार्थकता ।