फिचर

देभरका स्थानीय तहका लागि मेयरमा एकजना महिला मेयरको आकांक्षी

आसन्न स्थानीय निर्वाचनमा पुरुष उम्मेदवारहरुकै मात्र चर्चा चलिरहेको बेला नेपाली कांगेस्रको भातृ संस्था महिला संघ रामेछापकी सभापति गंगा अधिकारीले साहसका साथ मन्थली नगरपालिकाको मेयर पदमा दाबी गर्नुभएको छ ।

 

उपमेयरमा मात्रै महिला नेताको नाम आइरहँदा अधिकारीको दाबीले जिल्लामै स्थान पाइरहेको छ । अन्य मुख्य दुई पार्टी एमाले र माओवादी केन्द्रमा भने नगरपालिकाको मेयर दाबी गर्नेमा अधिकांश पुरुष नै देखिन्छन् । तर, दलभित्र आधिकारिक उम्मेदवार को हुने भन्ने छिनोफानो भइसकेकोे भने छैन ।

मन्थली नगरपालिकामा उनी एक्लो उम्मेदवार भने हैन । आफ्नै पार्टीबाट आफू सहित ८ जनाको मेयरमा दाबी परिरहेको बताउने अधिकारीले आफू पदका लागि हरेक कुरामा योग्य भएको बताउनुभयो । ‘मेयरले सम्हाल्ने कार्यभार अध्ययन गर्दा मैले पनि गर्नसक्ने रहेछ, यसमाथि पछिल्ला दिनमा मौलाउँदै गएको भ्रष्टाचारलाई शुद्धीकरण गर्दै स्वच्छ, निस्वार्थ र समुन्नत विकासको वितरणमा नयाँ फड्को आफैंले थालनी गर्नुपर्छ भन्ने सन्देशका साथ मैले मेयरमा दाबी गरेकी हुँ’, उहाँले भन्नुुभयो ।

२ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा उपप्रमुख पदमा समेत महिला खुलेर आउन नसकेको शीर्ष नेताहरु नै स्वीकार गर्छन् । उप मेयरमा महिलातर्फ एमालेबाट माया कार्की, शान्ता सापकोटा र कांग्रेसबाट रमा दाहाल ९बस्नेत०, सृजना खड्का लगायतको चर्चा चलेको छ ।

को हुन् गंगा अधिकारी ?

२३ मंसिर २०२२ मा सुर्खेतमा जन्मनुभएकी अधिकारी २०३८ सालदेखि नेविसंघमा संलग्न हुँदै २०४२ मा भएको सत्याग्रहमा शिक्षिका भएर महिलाको भूमिकालाई समेत पार्टीभित्र उच्च राख्नुभएको थियो । पछि, रामेछाप कठजोरका पुराना कांग्रेस नेता पद्यमशंकर अधिकारीको छोरासँग विवाह गरी राजनितिमा सक्रिय रहँदै आउनु भएकी अधिकारी कांग्रेस र पद्यमशंकरको परिवारको सदस्य भएकै कारण माओवादी द्वन्द्धको समयमा सपरिवार विस्थापित हुनु पुग्नुभयो । शान्ति सम्झौता पश्चात वातावरण सामान्य बन्दै गएपछि उहाँले आफ्नो राजनीतिक यात्रालाई पुनः सुचारु गर्नुभयो ।

महिला अधिकारहरु सुनिश्चित हुन नसकी रहेको अवस्थामा उनीहरुको पक्षमा बोल्नुपर्छ, जाने बुझेको मान्छेले अभियान नचलाए महिलालाई अघि बढ्न मुश्किल हुने भन्दै उहाँ महिला संघमा आवद्ध हुनुभएको थियो । त्यसपछि महिला संघ रामेछापको सचिव हुँदै तेस्रो जिल्ला अधिवेशनमा अत्यधिक मत ल्याई सभापतिमा निर्वाचित हुनुभएको थियो । यस्तै, २०७२ मा भएको नेपाली कांग्रेसको तेह्रौ‌ अधिवेशनमा उहाँ जिल्लाबाट सबैभन्दा बढी भोट ल्याई महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।
स्रोत महिला खबर