फिचर

क्यान्सर पीडित किशोरीको उपचार सहयोगार्थ सामाजिक सञ्जालका माध्यमबाट ६ लाख ८८ हजार संकलन

फिदिम : रक्त क्यान्सरका कारण थलिएकी पाँचथर याङवरक ३ ओयाम निवासी १६ वर्षीय सोना योङयाको उपचारार्थ सामाजिक सञ्जालका माध्यमवाट ६ लाख ८८ हजार रुपैंया संकलन भएको छ ।
यसअघि पनि उनको सहयोगार्थ १ लाख ५१ हजार रुपैंया संकलन भएको थियो । उपचार सहयोगार्थ संकलित रकम विहिवार फिदिम स्थित समथिङ फाउण्डेसनको संयोजनमा पीडितका पिता देउप्रसाद योङयालाई हस्तान्तरण गरियो ।
पछिल्लो समय उनको उपचार सहयोगार्थ हङकङ,बेलायत र दक्षिण कोरियावाट यत्तिको रकम संकलन भएको हो । बेलायतमा रहेका कुलप्रसाद योङया र लिला सेलिङ मावोले सोनाको उपचार सहयोगार्थ भाइवर गु्रप खोली यत्तिको रकम संकलन गरिएको फाउण्डेसनका अध्यक्ष मंगल बेघाले जानकारी दिए ।
उनका अनुसार पछिल्लो पटक बेलायतवाट ६ लाख ५६ हजार ४ सय ५०,हङकङवाट २० हजार १ सय ६० र दक्षिण कोरियावाट ११ हजार ५ सय रुपैंया संकलन भएको हो । त्यसअघि सोनाको उपचार सहयोगार्थ ओयाम समाज मलेसियाले एकलाख ५१ हजार ८ सय ५३ रुपैंया संकलन गरेका थियो । फिदिम स्थित कञ्चनजंघा एकेडेमी उच्च मावि कक्षा ११ मा अध्ययनरत सोनाको चितवन स्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल धरानमा उपचार भइरहेको छ ।
निरन्तर चिकित्सकको निगरानीमा रक्त क्यान्सरको उपचार गर्नुपर्ने भएकाले हालसम्म ५ लाख अधिक खर्च भएको र बाँकी कति रकम आवस्यक हुने भन्ने यकिन नरहेको देउप्रसाद बताँउछन ।