मोफसल

संंक्रान्तिबजारका अग्निपिडितलाई नगद राहात वितरण

तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शनिवार रेडियो मितेरी पाँचथरको संयोजनमा आठराई पत्रकार समाज तेह्रथुम मार्पmत सहयोग रकम उपलब्ध भएको छ । तेह्रथुम घर भई इजरायलमा रहेका समाज सेवी देव बास्कोटा र प्रविण आङवुहाङको नेतृत्वमा संकलित ६० हजार नगद राहात पिडितहरुलाई वितरण गरिएको हो ।
मातृभुमीको घाउमा ममताको मलम लगाउन प्रवासी नेपालीबाट संकलित नगद राहात क्षतिको आधारमा ५० परिवारलाई वितरण गरिएको आठराई पत्रकार समाज तेह्रथुमका अध्यक्ष अमृत बास्तोलाले जानकारी दिनु भयो ।  राहात वितरण कार्याक्रमलाई सम्बोधन गर्दै रेडियो मितेरीका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लक्ष्मी गौतमले पिडित भएका परिवार लाई दैनिक संचलान गर्न पैसाको पनि आवश्यक पर्ने भएकोले नगद राहत वितरण नै प्रभावकारी हुने बताउनु भयो ।
आगलागीबाट घर सहित पसल, घरमात्र, होलसेल पसल, खुद्रा पसल, डेरा गरि बसोवास गर्ने र अंशिक घर क्षति भएकाहरुलाई क्रमशः नगद २ हाजार, १ हजार ५ सय, १ हजार २ सय, १ हजार, ७ सय र ५ सय ५० रुपौया बितरण गरिएको बताइएको छ ।