राजनीति

धनकुटा जिल्लाका सातवटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकियो

सन्तोष रुचाल
धनकुटा
स्थानीय तहको निर्वाचनका लागी धनकुटा जिल्लाका सातवटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएको छ ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारी अनुसार २०७४ बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायधिस किशोर घिमिरे तोकिएको छ । घिमिरे धनकुटा नगरपालिकाका निर्वाचन अधिकृत समेत रहनु भएको छ । पाख्रीवास नगरपालिकाका लागी उच्च सरकारी वकिलको कार्यालय धनकुटाका उपन्यायधिवक्ता मनोजकुमार आचार्य, महालक्ष्मी नगरपालिकाका लागी सहायक प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरे, चौबिसे गाउँपालिकाका लागी सर्वाेच्च अदालतका इजलास अधिकृत नागेन्द्रकुमार कालाखेती निर्वाचन अधिकृत तोकिनु भएको छ ।
त्यस्तै छथर जोरपाटी गाउँपालिकाका लागी जिल्ला मालपोत कार्यालय धनकुटाका उपसचिव शेखरबाबु कार्की, साँगुरीगढी गाउँपालिकाका लागी यातायात व्यवस्था कार्यालय कोशीका उपसचिव नयराज नेपाल र खाल्सा छिन्ताङ्ग शहिदभूमि गाउँपालिकाका लागी आन्तरिक राजस्व कार्यालय विराटनगरका उपसचिव रमेशराज गौतमलाई निर्वाचन अधिकृत तोकिएको छ । वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय र वैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।
धनकुटा जिल्लामा ९५ हजार ३ सय ६७ जना मतदाता रहेका छन् । जसमा महिलाको संख्या बढी रहेको छ । ४८ हजार ७ सय ८० जना महिला र ४६ हजार ४ सय ८७ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । जिल्लाको सातवटा स्थानीय तह मध्ये सबैभन्दा बढी मतदाताको संख्या धनकुटा नगरपालिकाको रहेको छ । धनकुटा नगरपालिकामा १८ हजार १ सय २८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका नायब सुब्बा एवम् सुचना अधिकारी केशव पौडेलले बताउँनुभयो ।
यसैगरी महालक्ष्मी नगरपालिकामा १५ हजार ७ सय ८३ जना, चौबिसे गाउँपालिकामा १२ हजार ८५ जना, पाख्रीवास नगरपालिकामा १३ हजार ९ सय ३० जना, साँगुरीगढी गाउँपालिकामा १३ हजार ७ सय ७५ जना, छथर जोरपाटी गाउँपालिकामा १० हजार ७ सय ३६ जना र खाल्सा छिन्ताङ्ग शहिदभूमि गाउँपालिकामा १० हजार ९ सय २८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । जिल्लामा स्थानीय तह निर्वाचनका लागी १ सय १७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।