फिचर ब्लग

यसरी हुन्छ त्रिभुवन विश्व विद्यालयमा थेसिसको खरिद विक्री

प्रमोद आचार्य खोज

पत्रकारिता केन्द्र

आफ्नो नाम शिवराम गौतम बताउने त्रिभुवन विश्वविद्यालय डीन कार्यालयका शाखा अधिकृत शिवशंकर गौतम विद्यार्थीलाई थेसिस बेच्ने काम गर्छन् । उनको अर्को काम पुराना थेसिस ‘स्वीकृत गर्न’ विश्वविद्यालयभित्र ‘सेटिङ’ मिलाउने पनि हो । हामीले उनलाई “समाजशास्त्रको थेसिस चाहियो, त्यो स्वीकृत पनि हुनुप¥यो” भन्यौं । उनले तुरुन्तै “आफूसँग पहिल्यैको थेसिस भएकोले १२ हजार रुपैयाँमा दिनसक्ने” र “त्यो स्वीकृतसमेत गराइदिने” बताए । उनले हाकाहाकी भने “कृष्ण भट्टचनलाई राखेर गराइदिन्छु । चिन्तै लिनुपर्दैन ।” ‘अरूलाई राख्न सकिंदैन ?’ भन्ने प्रश्नमा शाखा अधिकृत गौतमले भने, “जसलाई पनि भन्न सकिन्छ ।”

गौतम त्रिविकै पूर्वकर्मचारी तथा नयाँबजारस्थित युनिभर्सल फोटोकपी सञ्चालक जनक केसीसँग मिलेर यो ‘धन्दा’ चलाउँदा रहेछन् । ‘समाजशास्त्रको थेसिस मिलाउन सक्नुहुन्छ ?’ भन्दा केसीले भने “साइन्सबाहेक अरू सबै विषयको मिलाउन सक्छु । १६ हजार रुपैयाँ पर्छ ।” किन यति महँगो भनेर प्रश्न गर्दा उनले भने “थेसिस लेख्ने÷मिलाउनेलाई दिनुप¥यो । सरलाई दिनुप¥यो । फेरि सरले ‘डिपार्टमेन्ट’ मा पनि मिलाउनुपर्छ । लास्टमा दुईरतीन हजार गोजीमा पर्ने हो ।”

अंग्रेजी विभागमा एक लाख रुपैयाँसम्म खर्च गरेमा ‘प्रपोजल’ नै नलेखिकन र भाइवाको बेलामा मात्र गाइडलाई भेटेर पनि थेसिस स्वीकृत गराउन सकिनेरहेछ । अंग्रेजी विभागका कर्मचारी, लेक्चरर र विद्यार्थीको बीचमा अहिले सेटिङ मिलाउने काम खगराज लामिछाने भन्ने व्यक्तिले गर्दा रहेछन् । उनका भनाइमा सबैलाई मिलाउनुपर्ने भएकोले पैसा धेरै लागेको हो । उनले भने, “सबैतिर च्यानल मिलाउनुपर्छ । इन्टरनल, एक्सर्टनल र प्रशासनका सबैलाई खुवाउनुपर्छ । कहींबाट ‘लिक’ नहुने गरी बनाउनुपर्छ ।” कसले तयार गर्छ यति महङ्गो थेसिस भन्ने प्रश्नमा उनले, “आवश्यकता अनुसार डिपार्टमेन्टकै सरहरूले लेख्ने” बताए । त्रिवि अंग्रेजी केन्द्रीय विभागमै पढेका खगराज हाल स्यूचाटारस्थित एक निजी स्कूलमा पढाउँछन् ।

त्रिवि परिसरकै कला बुक्सका गोकुल घिमिरेले फाइनान्सको थेसिस २० हजारमा ‘लेख्न लगाइदिने’ बताए । उनले ‘थेसिस स्वीकृत गराउन विभागका सरहरूसँग कुरा गरिदिने’ जिम्मा पनि लिए । घिमिरेले भने, ‘सरोज सर, महानन्द सर, भवानी सर हुन् भन्ने मान्छे चाहिं ।’ उनले नाम लिएकामध्ये भवानी (शङ्कर आचार्य) त्रिविका विद्यावारिधि प्राध्यापक हुन् ।

घिमिरे जस्ता पुस्तक पसलेहरूको पहुँच यतिसम्म हँुदोरहेछ कि उनीहरूले जतिसुकै पुरानो र जोसुकैले लेखेको होस् त्यो थेसिस सहजै स्वीकृत गराइदिन सक्दारहेछन् । त्रिविकै पूर्व कर्मचारी जनक केसीले “समाजशास्त्र विभागमा आफ्नो राम्रो चिनजान भएकोले प्रपोजल नै पेश नगरी थेसिस स्वीकृत गराइदिने” बताए । उनले भने, “सुरेन्द्र मिश्र सरलाई भनेपछि अरू केही गर्नुपर्दैन, म च्यानल मिलाइदिन्छु । तपाईंलाई प्रपोजल नदिइकन एकैपटक ‘भाइवा’ मिलाइदिन्छु ।”

व्यवस्थापन र ग्रामीण विकास विभागका लागि पनि आफूले भनसुन गरिदिनसक्ने केसीको भनाइ थियो । उनले भने “हाम्रो च्यानल छ । बाहिर हल्ला गर्नुहुँदैन ।” कुराकानीकै क्रममा उनले पोखराको पृथ्वीनारायण क्याम्पससम्म पनि आफूले थेसिस पठाउने गरेको खुलाए ।

नयाँबजारको एभरेष्ट फोटोकपीका केशव अधिकारीले ग्रामीण विकास, समाजशास्त्र, अंग्रेजी जुन विषयको पनि थेसिस मिलाइदिने बताए । तर, रकम भने २२÷२३ हजार रुपैयाँसम्म लाग्ने उनको भनाइ थियो । उनले भने “त्रिविकै टिचरले लेखिदिन्छन् । राम्रो लेखिदिन्छन् । पहिले आरडी पढाएकै टिचर हुन् ।” उनले पहिले ५० हजारसम्म लिएर थेसिस गराइदिएको र भाइवामा अप्ठेरो परेको बेला सरहरूलाई भनसुन गरेर पास गराइदिएको दाबी गरे ।

लेख्नेलाई दश हजार

थेसिस लेख्ने र बेच्ने धन्दामा संलग्नहरूले विश्वविद्यालयको केन्द्रीय र विभागीय पुस्तकालय तथा विभिन्न क्याम्पसहरूमा संग्रहित पुराना थेसिस तल–माथि गरेर बेच्ने गर्दा रहेछन् । यस्ता खेताला लेखकहरूसँग पुराना थेसिसको संग्रह हुने र उनीहरूमा त्यसलाई पटकपटक स्वीकृत गराउन सक्ने सामथ्र्य हुँदोरहेछ । क्याम्पस प्रशासन र थेसिस कमिटीमा रहेका व्यक्तिसम्म पहुँच पु¥याएर उनीहरू थेसिस पास गराउँदा रहेछन् ।

अरूका पुराना थेसिस तल–माथि पारेर विद्यार्थीलाई बेच्ने एकजना व्यक्ति हुन्, मनमोहन थापा । कसैलाई पाटन क्याम्पस त कसैलाई एशियन कलेज पढाउने व्यक्ति हुँ भन्ने थापा त्रिवि परिसरको ज्ञानकुञ्ज फोटोकपी र हिराबुक्स सेन्टरमार्फत काम गर्छन् । पहिल्यैदेखि ‘थेसिस कारोबार’ गर्दै आइरहेको बताउने उनी एउटा थेसिसको पन्ध्रहजार रुपैयाँ लिन्छन् । हामीसँगको कुराकानीमा उनले “व्यवस्थापन, ग्रामीण विकास र राजनीतिशास्त्रका सरलाई ‘राम्ररी चिनेको’ भन्दै सजिलै थेसिस पास गर्न सकिने” बताए । उनले “ग्रामीण विकास विभागका लेक्चरर उमेशप्रसाद आचार्यलाई अनुरोध गरे पास गर्न सजिलो हुने” ठोकुवा गरे । उनले यस्तोसम्म दाबी गरे कि तीस हजार रुपैयाँ खर्च गरे व्यवस्थापन विभागको थेसिस विना प्रपोजल पास गर्न सकिन्छ । “म मिलाइदिन्छु टिचर” उनले भने “सही गर्नेले दश हजार लिन्छन् । लेख्नेले दशहजार । कर्मचारीलाई पनि दिनुपर्छ ।” उनले राजनीतिशास्त्र विभागका प्रा.डा. रामकुमार दाहाललाई मनाएर प्रपोजल नबुझाइकनै पनि थेसिस स्वीकृत गर्न सकिने बताए । मनमोहन थापाप्रति विश्वास गर्न भन्दै त्रिवि परिसरको ज्ञानकुञ्ज फोटोकपी पसले टुकानाथ शर्माले भने, “अहिलेसम्म सयौं थेसिस गरिसकेका मान्छे हुन् । चिन्ता लिनै पर्दैन । ढुक्क भए हुन्छ ।”

त्रिविमै अंग्रेजी साहित्यमा एमफील गर्दै गरेका राजु अधिकारी र एनजीओकर्मी राजेन्द्र पौडेल पनि खेताला थेसिस लेखक हुन् । दुवैले पहिल्यै पेश गरेको थेसिस तलमाथि पारेर अक्सफोर्ड पुस्तक पसलमार्फत विद्यार्थीकहाँ उपलब्ध गराउँछन् । त्रिवि केन्द्रीय विभागबाटै अंग्रेजी विषयमा स्नातकोत्तर गरेका अधिकारी र पौडेलले “आफूहरू दुवै मिलेर थेसिस लेख्ने गरेको” बताए । प्रति थेसिस बीस हजार रुपैयाँ लिने उनीहरू सोझै विद्यार्थीसँग भेटेर नभई त्रिवि परिसरकै अक्सफोर्ड पुस्तक पसलमार्फत काम गर्छन् । थेसिस लेख्न चाहने विद्यार्थी मिलाइदिएबापत अक्सफोर्डकी रुमा हमालले चाहिं कमिसन लिन्छिन् ।

पुराना थेसिस तलमाथि गरेर बेच्ने अर्का व्यक्ति हुन् श्यामचन्द्र अधिकारी । थेसिस कारोबार गर्दा उनी आफनो नाम रामहरि सुवेदी बताउँछन् । उनी पनि केन्द्रीय पुस्तकालयमा भएका थेसिसहरू ल्याएर अलिअलि तोडमोड गरेर बिक्री गर्छन् । उनले चितवनको वीरेन्द्र क्याम्पसका विद्यार्थीलाई पनि आफूले थेसिस बेचेको सुनाए । स्थायी घर नवलपरासी, गैंडाकोट बताउने उनी आफुलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको जागिरे हुँ भन्छन् ।

मच्छेगाउँको विवरण कर्मैयामा

कर्मचारी, पुस्तक र फोटोकपी पसलेहरूले लगाएको आरोप परीक्षण गर्न हामीले सकेसम्म धेरै थेसिस खोतलेर हेर्न खोज्यौं । कीर्तिपुरस्थित केन्द्रीय, विभागीय र क्याम्पसहरूका छुट्टाछुट्टै पुस्तकालय पुगेर हेर्दा एउटै थेसिस विभिन्न व्यक्तिका नाममा सूचीकृत भएको भेटियो । विद्यार्थीहरू खेताला लेखक खोज्दै हिंड्ने, खेताला लेखकले पहिल्यैका थेसिसलाई काँटछाँट गरेर एउटा स्वरुपमा ल्याउने र थेसिस सुपरभाइजरसँगको मिलेमतोमा स्वीकृत गर्ने गरिएकाले एउटै थेसिस एकभन्दा बढी विद्यार्थीका नाममा प्रयोग भएको प्रशस्तै भेटियो ।
क्ष्ःन्)द्दण्ज्ञटण्ढण्द्द)ज्ञटद्दण्ण्ठएउटा उदाहरण हो, त्रिवि अन्तर्गतको ग्रामीण विकास विभागमा रहेको नेपालका बालश्रमिक सम्बन्धी थेसिस । यादव भट्टराई, बिन्दुकुमारी घर्तीक्षेत्री र मुनाकुमारी आचार्यको ‘डोमेस्टिक चाइल्ड लेबर इन नेपाल’ थेसिसले सबैलाई हँसाउँछ । अनुसन्धान गरिएको भनिएको ठाउँको नाममा कसैले पुतलीसडक, कसैले ठमेल त कसैले गोंगबु भनेर लेख्ने बाहेक बाँकी विवरण एउटै छ ।
यी तीनमध्ये दुई वटाको थेसिस सुपरभाइजर (उमेशप्रसाद आचार्य), एक्सटर्नल एक्जामिनर (सुमन बास्कोटा) समेत उही व्यक्ति छन्, जसमा विभागीय प्रमुख प्रा.डा.प्रदीपकुमार खड्काले हस्ताक्षर गरेका छन् । यसैगरी शान्ता पहाडी र अन्जना बिष्ट भण्डारीको नाममा लेखिएका बालश्रमिक सम्बन्धी थेसिसको शिरपुछार एउटै छ । यिनलाई चन्द्रलाल श्रेष्ठ र विमल पौडेलले स्वीकृत गरेका छन् । पहाडी र बिष्टको थेसिससँग मिल्दोजुल्दो थेसिस प्रतिमा शर्माले पेश गरेकी छन् । जसलाई चन्द्रलाल श्रेष्ठले नै स्वीकृत गरिदिएका छन् ।

अर्को उदाहरण ग्रामीण विकास विभागका प्राध्यापकहरू डा. मंगला श्रेष्ठ र डा. उमाकान्त सिलवालले दुई विद्यार्थीका नामबाट बुझाइएको एउटै व्यहोराको थेसिस एकै वर्ष स्वीकृत गरेका छन् । पारस भण्डारीको नामको ‘रोल अफ रेमिट्यान्स इन दी रिडक्सन अफ रुरल पोभर्टी–अ केस स्टडी अफ मच्छेगाउँ भीडीसी अफ् काठमाडौं डिस्ट्रिक, नेपाल’ र तुलसीराम नेपालको नाममा रहेको ‘रोल अफ रेमिट्यान्स इन दी रिडक्सन अफ रुरल पोभर्टी–अ केस स्टडी अफ कर्मैया भीडीसी अफ सर्लाही डिस्ट्रिक, नेपाल’ शीर्षकको थेसिसमा सबैजसो विवरण एउटै छ । पारसले सन् २०१४ मा र तुलसीरामले सन २०१५ मा बुझाएका यी थेसिसकै भाषासँग जुनमाया घर्तिको नाममा रहेको अर्को थेसिसको भाषा पनि धेरै हदसम्म मिल्दोजुल्दो छ, जसको सुपरभाइजर छन् प्रा.डा. चन्द्रलाल श्रेष्ठ । ग्रामीण विकास विभागबाटै स्वीकृत भएका थेसिसहरू हेर्दा रेमिट्यान्स, सोसल इन्क्लुजन र टुरिजम विषयका प्रायः थेसिसहरूको भाषा एउटाको अर्कोसँग मिल्दो छ ।क्ष्ःन्)द्दण्ज्ञटण्ढण्द्द)ज्ञटद्दज्ञछघ

समाजशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्र विभाग पनि यो रोगबाट मुक्त छैनन् । वैदेशिक रोजगारीले निम्त्याएको असर÷परिवर्तन, विभिन्न जातजातिमा आएको सामाजिक, आर्थिक परिवर्तन, सहभागिता र समावेशिता जस्ता विषयमाथि लेखिएका थेसिसहरूको भाषा र तथ्यांकसमेत धेरै मिल्छ । राजनीतिशास्त्र विभागमा बुझाइएका थेसिसमध्ये नेपालको संविधानसभामा महिला सहभागिता विषयमा लेखिएका दुईवटा थेसिस हुबहु भेटिए । बमबहादुर रावल र राजु कुँवरको नाममा रहेको एउटै शीर्षकको थेसिसका सुपरभाइजरहरू क्रमशः सिद्धिलक्ष्मी वैद्य र मनोहर पराजुली छन् ।

राजनीतिशास्त्र विभागमै नेपाली पत्रकारिताको विकासबारे २०६३ र २०६४ सालमा लेखिएको राजेश झा (२०६३) र तेजविलास अधिकारी (२०६४) को थेसिस पनि एउटै छ । यी दुवै थेसिसले नेपाली पत्रकारिताको अवस्था नै चित्रण गर्दैनन् । जस्तो कि ‘नेपालमा कार्यरत आमसंचारमाध्यम र पत्रकारिताका व्यावसायिक संगठनहरू’ शीर्षकमा नेपालका सञ्चारमाध्यमहरूमा रेडियो नेपाल, नेपाल टेलिभिजन र राससको नाम मात्रै उल्लेख छ । यतिसम्म कि नेपाल पत्रकार महासंघ नाम गरेको संस्था छ भन्ने यो थेसिस पढ्दा थाहा हुन्न । थेसिसका सुपरभाइजरहरू क्रमशः प्रा.डा. अनन्तराज पौडेल र प्रा.डा. रामकुमार दाहाल छन् ।

राजनीतिशास्त्र विभागमा नेपालमा संयुक्त राष्ट्रसंघको भूमिका, नेपाल–भारत तथा नेपाल–चीन सम्बन्ध, नेपालको मानवअधिकार र शान्तिप्रक्रिया जस्ता विषयमा लेखिएका थेसिसहरू छन् । आश्चर्यको कुरा तिनमा पनि धेरैको भाषा एक अर्कासँग हुबहु मिल्छ । समाजशास्त्र विभाग अन्तर्गत पूजा बस्नेत र ललिताकुमारी पराजुलीले लेखेका थेसिसहरूको भाषा र व्याख्या अधिकांश एउटै छ । यी दुवै थेसिसका सुपरभाइजर छन् डा. कृष्ण भट्टचन । पराजुलीको नाममा रहेकोे ‘महोत्तरी जिल्ला हाथिलेट गाविसका कामी जातिको अन्य जातजातिसँगको सम्बन्ध’ शीर्षकको थेसिस र बस्नेतको नाममा रहेको ‘महोत्तरी जिल्ला हाथिलेट गाविसका मगर जातिको अन्य जातजातिसँगको सम्बन्ध’ शीर्षकको थेसिस स्वीकृत गर्ने थेसिस कमिटीमा डा. सुरेन्द्र मिश्र, मधुसूदन सुवेदी र प्रा.डा.तुलसीराम पाण्डे छन् ।

अर्थशास्त्र विभागको लागि नेपालमा पर्यटनको सम्भावना र चुनौतीका विषयमा लेखिएका सृष्टि कर्माचार्य र इन्दिरा घिमिरेको नाममा रहेका थेसिसहरूको भाषा र विषयवस्तु मिल्दो छ । जसलाई स्वीकृत गर्ने थेसिस कमिटीमा डा. रामप्रसाद ज्ञवाली, डा. उमाशंकर प्रसाद, रश्मि राजकर्णिकार र सञ्जयबहादुर सिंह छन् ।

थेसिसमा यतिबिध्न लापर्वाही कसरी हुन्छ ? डा.कृष्ण भट्टचन भन्छन, “गुणस्तरीय थेसिस नलेखिनुमा संरचनागत समस्या छ, दोष विश्वविद्यालय प्रणालीमा छ । राम्रो अभिलेखालयको अभाव र नमिल्दो शिक्षक–विद्यार्थी अनुपात कायम रहेसम्म यो समस्या नियन्त्रण गर्न मुस्किल छ ।”

आंगिक क्याम्पस उही ताल

शंकरदेव क्याम्पसछेउको डिजिटल फोटोकपीका डीआर पोखरेल पनि थेसिसको व्यापार गर्दा रहेछन् । ‘एउटा थेसिस चाहियो’ भनेर पसलमा पुग्दा उनले हाकाहाकी भने, “अकाउन्ट या फाइनान्सको भए १३ हजार रुपैयाँ लाग्छ र अंग्रेजीको लागि १८ हजार चाहिन्छ ।”

कुराकानीबाट थाहा भयो उनले थेसिस तयार पार्न पैसा दिएर केही मान्छे खटाएका रहेछन् । अंग्रेजी विषयको थेसिस तयार पार्न सेडाइँ थरका एक व्यक्तिलाई आग्रह गर्दा रहेछन् । अकाउन्ट र फाइनान्सको थेसिस आफैं पनि तयार गर्दा रहेछन् । ‘अंग्रेजीको चाहिं किन महङ्गो नि !’ भन्ने प्रश्नमा उनले भने, “प्रायः हाइली स्किल्ड मान्छेले यस्तो काम गर्दैन । ऊ हाइली स्किल्ड हो त्यसैले अलि महँगो पर्न सक्छ ।”

 

पोखरेलले हामीलाई ‘आफूसँग गरेको कारोबार कच्चा नहुने’ विश्वास दिलाए । उनले भने “मैले एउटा थेसिस पास गराइदिनुस् भनेर भन्नैपर्दैन, भन्ने गरेको पनि छैन । मैले आफूले गरेको कामको जिम्मा लिन्छु ।” क्षणभरमै यो विघ्न आत्मविश्वासको स्रोत खोल्दै उनले भने, “मेरो कमलदीप ढकालसँग घरमा जाने–आउने सम्बन्ध छ ।” उनले नाम लिएका ‘कमलदीप’ शंकरदेव क्याम्पसका प्रमुख प्रा.डा. कमलदिप ढकाल हुन् ।

 

‘कमलदीप’ ले प्रमाणित गरेका केही थेसिसहरू हेरेपछि थाहा भयो, पोखरेलले भनेको साँचो रहेछ । उनले प्रमाणित गरेका थेसिसहरू पटकपटक दोहोरिएका र एकअर्कासँग हुबहु भेटिए । जस्तो कि सृजना ढकाल र सप्तसिंह तामाङले बुझाएका ‘डिभिडेन्ड पोलिसी अफ कमर्सियल बैंक’ शीर्षकको एउटै व्यहोराको थेसिस उनी संलग्न थेसिस कमिटीले पास गरिदिएको छ । थेसिसहरू स्वीकृत गर्ने अन्यमा एसोसिएट प्रोफेसर रुचिला पाण्डे (थेसिस सुपरभाइजर), प्रोफेसर विश्वेश्वरमान श्रेष्ठ (रिसर्च हेड) र डा. सिलु बज्राचार्य (थेसिस सुपरभाइजर) छन् । यस्तै ढकालले शंकरदेव क्याम्पसमा प्रमाणित गरेको अर्को एउटा थेसिस सोही वर्ष (सन् २००९) पिपल्स क्याम्पसबाट स्वीकृत भएको थेसिससँग हुबहु मिलेको भेटियो । महिम भट्टराईले शंकरदेवबाट र पुरुषोत्तम लामिछानेले पिपल्सबाट बुझाएको एउटै व्यहोराको थेसिस प्रमाणित गर्नेहरूमा प्रोफेसर विश्वेश्वरमान श्रेष्ठ, श्रीभद्र न्यौपाने, एसोसिएट प्रोफेसर लक्ष्मण जोशी, मंगलदास प्रधानाङ्ग र भरतकुमार प्रधान छन् । भट्टराई र लामिछानेमध्ये कसले कसको थेसिस सारेको हो वा दुवैले अरू कसैको ‘कपी’ गरेका हुन् भन्ने यकिन गर्न मुश्किल छ ।

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसछेउको ओमसाई फोटोकपीका पवन श्रेष्ठ पुराना थेसिस एकअर्कामा मिसमास गरेर १० हजारमा बेच्छन् । उनले क्याम्पस पुस्तकालयबाट ‘प्रपोजल’ र थेसिस निकाल्न र स्वीकृत गराउन आफूले क्याम्पसका कर्मचारी राजन लामामार्फत रिसर्च कमिटीसम्म पहुँच राख्ने खुलासा गरे । उनले यस्ता थेसिसहरू सहजै स्वीकृत गराउन ‘रिसर्च हेड’ प्रा.डा. सुशीलभक्त माथेमा, मदन कँडेलसँग भनसुन गर्दारहेछन् । पवनले हामीसँग भने “तपाइँले केही टेन्सन नै लिनुपर्दैन । जसरी पनि थेसिस पास गर्ने हो ।”

उनको भनाइ परीक्षण गर्न हामीले सो क्याम्पसमा संग्रहित केही थेसिसहरू निकालेर हे¥यौं । अवस्था पवनले भनेजस्तै देखियो । त्यहाँ एउटै थेसिस पटकपटक दोहोरिएका थिए । स्वीकृत गर्ने थेसिस सुपरभाइजरहरूमा डा. सुशीलभक्त माथेमा र मदन कँडेलकै नाम भेटियो । सन् २०१० मा माथेमा र कँडेल दुईले हस्ताक्षर गरेको रवीन्द्रप्रसाद ओझाको नाममा रहेको थेसिस एक वर्ष अगाडि सुरक्षा नेपालको नाममा लेखिएको थियो । सुरक्षा नेपालका थेसिस सुपरभाइजरहरू प्रा.डा. विहारी विनोद पोखरेल र उमेशकुमार कोइराला थिए । दुवै थेसिसमा क्याम्पस प्रमुख दिवाकर पोखरेलले पनि सही गरेका छन् । यी दोहोरिएका थेसिसहरूबाट थपघट गरेर देवकी आचार्यले अर्को थेसिस बुझाइएकी छन्, जसको अधिकांश जानकारी र व्याख्या अघिल्ला दुवै थेसिसहरूसँग मिल्छ । यो थेसिस स्वीकृत गर्नेमा पनि माथेमा, पोखरेल र गणेश भट्टराई छन् । क्रेडिट म्यानेजमेन्ट, क्यापिटल एडेक्वेसी, क्यास फ्लो, कस्ट भोल्यूम एनालिसिस जस्ता विषयमा लेखिएका थेसिसको धेरै विवरण हुबहु छ, जसमा माथेमाकै हस्ताक्षर छ ।

पचास रुपैयाँमा फोटोकपी

थेसिसको उत्पादन र किनबेचमा पुस्तक÷फोटोकपी पसलका व्यक्ति, विश्वविद्यालयका कर्मचारी र प्राध्यापकसम्मको मिलेमतो हुन्छ । विद्यार्थीहरूसँग आफैंले सम्पर्क राख्दा ‘लिक’ हुने डरले थेसिस लेख्ने÷बेच्नेहरूले पुस्तक पसले र कतिपय एजेन्टमार्फत चाँजोपाँजो मिलाउँछन् । पुस्तक÷फोटोकपी पसलेहरू कमिसन लिन्छन् ।

खेताला लेखकले केन्द्रीय पुस्तकालय, विषयगत विभाग या अन्यत्रका क्याम्पसहरूको अभिलेखालयमा भएका थेसिस ‘मिसमास गर्ने, तलमाथि गर्ने र नयाँ बनाउने’ काम गर्छन् । बाहिर बुद्धिजीवी र प्राज्ञ भनेर चिनिने धेरै शिक्षक, लेक्चरर र उपप्राध्यापकहरू यो काम गर्छन् । थेसिस बेचेर आएको पैसा प्राध्यापक, उपप्राध्यापक, कर्मचारी र पसलेले मिलेर लिन्छन् । कतिपय अवस्थामा विद्यार्थीको थेसिस विना प्रपोजल छिट्टै पास गर्नुपरेमा विभागको प्रशासनमा काम गर्ने कर्मचारीसँग पनि ‘सेटिङ’ मिलाउनुपर्छ । यस्तो बेला प्रशासनका व्यक्तिले पनि पैसा लिन्छन् । थेसिस खोजिदिए÷मिलाइदिएबापत खेताला लेखकले, विना रोकतोक स्वीकृत गरिदिएबापत कर्मचारी र सुपरभाइजरले र सबै प्रक्रियामा सहयोग गरेबापत फोटोकपी पसलका व्यक्तिले पैसा पाउँछन् । सामान्यतया जसले शुरूमा विद्यार्थीसँग ‘डिल’ गरेको छ पैसा उसले बुझ्छ र अरूलाई वितरण गर्छ ।

थेसिस तयार गर्न धेरै समय लाग्दैन । खेताला लेखक, पुस्तक पसले, थेसिस प्रिन्ट, वाइन्डिङ र फोटोकपी गर्न भनेर पसल खोलेर बसेका व्यक्तिसँग त्रिभुवन विश्वविद्यालयको केन्द्रीय तथा विभागीय लाइब्रेरीमा रहेका प्रायःजसो थेसिसको ‘हार्ड कपी’ र ‘इलोक्ट्रोनिक कपी’ हुन्छ । कतिपयलाई जस्ताको तस्तै, कतिपयको तथ्यांक मात्र परिवर्तन गरेर, कतिपयलाई ‘पाराफ्रेज’ गरेर ‘नयाँ’ थेसिस तयार हुन्छ । केन्द्रीय पुस्तकालयमा पचास रुपैयाँ तिरेपछि एउटा थेसिसको विद्युतीय प्रति (इलेक्ट्रोनिक कपी) पाइन्छ । यसले ‘खेताला लेखक’ लाई ‘नयाँ थेसिस तयार पार्न’ हाइसन्चो भएको छ ।

थेसिस किनबेचको अभ्यास कहिलेदेखि हुन थालेछ भनेर खोज्दा रोचक सामग्री भेटियो । त्रिवि केन्द्रीय पुस्तकालयमा पाइएको विवरण हेर्दा वर्षौं अघि र हालसालै लेखिएका थेसिसहरू हुबहु चोरेर प्रयोग गरेको भेटियो । तीस वर्ष अगाडि अर्थशास्त्र विभागका विद्यार्थीहरू सिद्धिबहादुर शाह र जय सत्यालले ‘कृषि विकास बैंकको पर्फमेन्स इभ्यालुयसन’ सम्बन्धमा एउटै जानकारी र भाषा लेखेर थेसिस बुझाएका रहेछन् । ती थेसिसहरू लेक्चरर आरडी सिंहले एकै वर्ष (सन् १९८५) स्वीकृत गरेका रहेछन् ।

व्यवस्थापन विभाग अन्तर्गत ‘नेपालका बैंकहरूको डिभिडेन्ड पोलिसी’ माथि सन् १९९७ मा हरिराम अर्यालले र सन् २००३ मा शिवनाथप्रसाद साहले लेखेको थेसिसको भाषा पनि करीब करीब एउटै भेटियो । अघिल्लो थेसिस सुपरभाइजर प्रा.डा. मनोहरकृष्ण श्रेष्ठ र पछिल्लो थेसिसको सुपरभाइजर प्रा.डा. भवानीशङ्कर आचार्य छन् ।

नेपालका ‘केही फाइनान्स कम्पनीहरूको डिभिडेन्ड पोलिसी’ बारे अजित पोखरेल र रवीन्द्रकुमार पौडेलको नाममा रहेको थेसिसको भाषा र डाटा लगभग एउटै छ । यी दुवैका सुपरभाइजर अजयप्रसाद ढकाल छन् । केन्द्रीय पुस्तकालयमा संग्रहित थेसिसहरू हेर्दा फाइनान्स र अकाउन्ट विषय पढ्ने विद्यार्थीले धेरैजसो बैंक, इन्सुरेन्स कम्पनी र उद्योगहरूको क्यापिटल स्टक्चर, डिभिडेन्ड पोलिसी, रेसियो एनालिसिस र एकाउन्टिङ प्राक्टिसमा थेसिस लेखेका छन् । यिनमा पनि धेरैको भाषा एकअर्कासँग मिल्छ ।

नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय यसलाई गम्भीर लापरबाहि र गैरजिम्मेवार काम ठान्छन् । अध्यक्ष उपाध्यायले भने, “एउटै थेसिस, एउटै गाइड, त्यो पनि पटकपटक ! यो गम्भीर कुरा भयोे । एउटै थेसिस बुझाएर एउटै सुपरभाइजरमार्फत धेरै विद्यार्थीले प्रमाणपत्र पाउनु पुरै विश्वविद्यालय र प्रोफेसरहरुको लज्जाको कुरा हो ।” उनले भने, “टिचरले यस्तो गर्छन् भन्ने म कल्पनै गर्न सक्दिन । यसो हो भने विश्वविद्यालयको गरिमा रहेन अब ।”

थेसिस अनुसन्धानमूलक लेखन हो । अनुसन्धानमूलक भएकैले यो आफैंमा एउटा लामो प्रक्रिया पनि हो । यसका लागि समय लाग्छ, खर्च र त्याग चाहिन्छ । विश्वका राम्रा विश्वविद्यालयहरूले थेसिस लेखनमा ठूलो रकम लगानी पनि गर्छन् । विद्यार्थी मात्रै होइन, प्राध्यापक समेतले आफ्नो महत्वपूर्ण समय अनुसन्धानमा लगाउँछन् र नयाँ तथ्य सार्वजनिक गर्छन्, नयाँ निष्कर्षमा पुग्छन् । त्यो बौद्धिक उत्पादन दुनियाँका लागि ज्ञानको स्रोत मानिन्छ ।

थेसिस चोरी नैतिक दृष्टिले मात्रै होइन कानूनी रूपमा समेत गम्भीर अपराध हो । विश्वका कतिपय विश्वविद्यालय तथा क्याम्पसले त ‘बौद्धिक चोरी’ थाहा पाउन ‘प्लेजरिजम डिटेक्सन सफ्टवेयर’ को प्रयोग गर्न थालेका छन् । नेपालमा विश्वविद्यालय र क्याम्पसहरूको चरम लापरवाही र हेलचेक्र्याइँ, विद्यार्थीमा हुर्किएको ’कापी पेस्ट’ मनोविज्ञान र पैसामुखी प्राध्यापकको अनैतिक तथा अविवेकी कामले यो प्रवृत्ति बढ्दो छ । व्यवस्थित अभिलेखालय र वैज्ञानिक प्रणालीको अभावमा अनुसन्धानमूलक सिर्जना समेतमा चोरी मौलाएको छ । गम्भीर पक्ष यो हो कि– यसरी अर्काको सिर्जना चोरेर पास गरेकाहरू समाजमा प्राज्ञिक वा बौद्धिक व्यक्तिको परिचय बनाएर बसेका छन् ।