राजनीति

धनकुटा जिल्लामा १ सय १७ वटा मतदान स्थल

सन्तोष रुचाल

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागी धनकुटा जिल्लामा १ सय १७ वटा मतदान स्थल कायम गरिएको छ ।
तीन नगरपालिका र चार गाउँ पालिकाकाका स्थानीय राजनीतिक दलसँग छलफल पछि जिल्ला सिफारिस समितिको बैठकले जिल्लामा १ सय १७ वटा मतदान स्थल कायम गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारी अनुसार सवैभन्दा बढी मतदान स्थल महालक्ष्मी नगरपालिका, चौबिसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा कायम गरिएको छ ।
महालक्ष्मी नगरपालिकामा २१ वटा, चौबिसे गाउँपालिकामा २१ वटा र साँगुरीगढी गाउँपालिकामा २१ वटा रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका नायव सुब्बा एवम् सुचना अधिकारी केशव पौडेलले बताउँनुभयो । यसैगरी धनकुटा नगरपालिकामा १४ वटा, पाख्रीवास नगरपालिकामा १५ वटा, खाल्सा छिन्ताङ्ग शहिदभुमि गाउँपालिकामा १३ वटा, छथर जोरपाटी गाउँपालिकामा १२ वटा रहेका छन् । संविधानसभाको दोश्रो निर्वाचनमा धनकुटामा १ सय १० वटा मतदान केन्द्र रहेका थिए ।
स्थानीय तहको निर्वाचनका लागी ११ वटा पुराना मतदान केन्द्र हटाइएको छ भने १६ वटा नयाँ मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै जिल्ला निर्वाचन कार्यालय धनकुटाले चैत्र अन्तिम साताबाट मतदाता शिक्षाको काम शुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचन जिल्लामा सम्पन्न गर्नका लागी जिल्ला निर्वाचन कार्यालय सक्षम र पूर्ण तयार रहेको सुचना अधिकारी पौडेलले बताउँनुभयो ।