फिचर

कोरियामा कार्यरत युवाद्वारा विद्यालयलाई ७ थान कम्प्युटर प्रदान

फिदिम : सदरमुकाम आसपासका माध्यमिक विद्यालयहरुमा अनलाइन शिक्षा सञ्चालनको तयारी भइरहेका बेला जिल्लाको हिलिहाङ गाँउ पालिका अन्तरगत सुभाङको एक आधारभूत विद्यालयलाई वैदेशिक रोजगारीमा रहेका युवाले ७ थान कम्प्युटर प्रदान गरेका छन् ।
रोजगारीको सिलशिलामा दक्षिण कोरियामा रहेका जिल्लाका विभिन्न गाविसका १८ जना युवाहरुले कमजोर आर्थिक तथा भौतिक अवस्थाको सुभाङ–९ मसरगाँउको भाग्योदय आधारभूत विद्यालयलाई सोमवार ३ लाख ३० हजार रुपैँया बराबरको कम्प्युटर, प्रिन्टर लगायत सामग्री प्रदान गरेका हुन् ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरु ‘अनलाइन शिक्षा’ मार्फत युगअनुकुल शिक्षा लिन सक्षम बनाउने उद्देश्य सहित सामग्री प्रदान गरिएको दक्षिण कोरियामा रहेका युवाहरुका प्रतिनिधि चन्द्र कुविर लिङ्देनले वताए । शनिवार उक्त विद्यालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा लिङ्देनले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद मैनाली र प्रधानाध्यापक वीरेन सुहाङलाई ७ थान ब्रान्डेड कम्प्युटर, एउटा सीसी क्यामेरा, एउटा प्रिन्टर, एउटा स्टेपलाइजर र ४ थान मल्टिप्लग हस्तान्तरण गरे ।

 

सामग्री खरिदका लागि दक्षिण कोरियामा रहेका पञ्चमीका लिङ्देन सहित पञ्चमीकै सरोज योङहाङ, डम्बरसिंह लिङ्देन, प्रदीप राई, मणिकुमार लिङ्देन, मचिन्द्र योङहाङ र पारस लिङ्देन, सुभाङका तुलसीप्रसाद मैनाली, डम्बर सुहाङ, राजकुमार श्रेष्ठ, अर्जुन श्रेष्ठ, गोपाल बयलकोटी, लक्ष्मी योङहाङ, दिलकुमार खुदाङ, मेमेङका राम लावती र नागीका किरण योङहाङले एकतीस लाख ५० हजार वन संकलन गरेका थिए । यस्तै मलेसियामा रहेका सुभाङका जहरमान सुहाङ र सुजन सुहाङले समेत सामग्री खरिदमा सहयोग गरेका थिए ।

 

कम्प्युटर लगायत सामग्री हस्तान्तरण गर्दै लिङ्देनले युवाहरुलाई एकीकृत गरेर शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने योजना बनाइएको र यसैको सुरुवात स्वरुप उक्त सामग्री प्रदान गरिएको वताए । युवाहरुलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान गर्न आफूले उत्प्रेरित गरिरहेको लिङ्देनले वताए । उनले प्रदान गरिएका सामग्रीको उचित सदुपयोग गर्न र विद्यार्थीहरुले कम्प्युटर सिक्ने वातावरण सिर्जना गर्न अभिभावक तथा सरोकारवालाहरुसँग आग्रह गरे । लिङ्देनले जिल्ला शिक्षा कार्यालय, स्थानीय निकाय, विद्यालय र अभिभावकहरुले कम्प्युटरको सदुपयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी राजकुमार विक, गाविस सचिव लक्ष्मीप्रसाद बाँस्कोटा सहित राजनीतिक दलका प्रतिनिधिहरु, संघ संस्था तथा विद्यालयका प्रतिनिधिहरु लगायतले मन्तव्य राखे । उनीहरुले विदेशमा पसिना बगाएर विद्यार्थीको उज्वल भविश्यका लागि सहयोग गर्ने युवाहरुको योगदान महत्वपूर्ण रहेको वताए । कार्यक्रममा युवाका परिवारजन तथा जग्गा दाताहरु नरमाया सुहाङ र लक्ष्मीप्रसाद सुहाङलाई जिशिअ राजकुमार विकले सम्मान गरे ।
२०५४ सालमा स्थापित उक्त विद्यालयमा हालसम्म एक जनापनि दरबन्दीका शिक्षक छैनन् । हाल ३ जना राहत दरबन्दीका शिक्षकहरु र २ विद्यालयको निजी स्रोतमा आश्रित शिक्षकहरुले विद्यालय सञ्चालन गरिरहेको प्रधानाध्यापक वीरेन सुहाङले वताए । उनले शिक्षकहरु कम्प्युटर शिक्षामा दक्ष नरहेकाले कम्प्युटर शिक्षकको व्यवस्था गरिदिन जिल्ला शिक्षा कार्यालयसँग माग समेत गरे ।