मोफसल

विपन्न र जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न अक्षयकोष स्थापना

पाँचथरको पञ्चमी गाविसका जेहेन्दार तथा विपन्न विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउन वैदेशिक रोजगारीमा रहेका स्थानीय दुई युवा संरक्षक रहेको अक्षयकोष स्थापना गरिएको छ ।

 
यसका लागि ‘गरिव तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष पञ्चमी’ स्थापना गरिएको छ । पञ्चमी घर भई वैदेशिक रोजगारीका क्रममा हाल दक्षिण कोरियामा रहेका कुवेर लिङ्देन प्रधान संरक्षक तथा सरोज योङहाङ संरक्षक रहेको अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषमा अहिले १ लाख २० हजार रुपैँया जम्मा गरिएको छ । अक्षयकोष सञ्चालनका लागि स्थानीय जीवन गिरीको संयोजकत्वमा समिति समेत निर्माण गरिएको छ । समितिको सहसंयोजकमा चित्रबहादुर कार्की, सचिवमा योगेश लिम्बू र कोषाध्यक्षमा तुलसी पुरी रहेका छन् । यस्तै सदस्यहरुमा रुद्र भण्डारी, धनबहादुर पालुङ्वा र कल्पना शिगू रहेका छन् ।
गत मंगलबार स्थानीय समाजसेवी पदमसिंह लिङ्देनको अध्यक्षतामा सम्पन्न भेलाले अक्षयकोष स्थापनाका लागि सञ्चालन समिति गठन गरेको हो । भेलामा पञ्चमीका शिक्षासेवीहरु, स्थानीय अगुवाहरु, विद्यालय व्यवस्थापन समिति तथा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु सहभागी थिए । अक्षयकोषलाई बढाएर कम्तिमा ५ लाख पु¥याउने र पञ्चमी गाविसका विपन्न समुदायका तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग गर्ने प्रधान संरक्षक कुवेर लिङ्देनले वताए । सञ्चालक समितिलाई मंगलबारै प्रारम्भिक रुपमा १ लाख २० हजार रुपैँया नगद हस्तान्तरण समेत गरिएको छ ।