मोफसल

धनकुटामा नारी दिवस

सन्तोष रुचाल
धनकुटा, २६ फागुन

मार्च ८, १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी धनकुटामा पनि यो दिवस मनाईएको छ । दिवसको नारा ‘बदलिँदो परिवेशमा कामकाजी महिला सन् २०३० सम्म बराबरी पाइला’ तय गरिएको छ ।
यस्तै दिवसको अन्तराष्ट्रिय नारा भने ‘महिला सम्मानको आधार  सीपयुक्त हात र स्वरोजगार’ भन्ने रहेको छ । दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय धनकुटाको आयोजनामा ¥याली सहित सभाको आयोजना गरिएको छ । स्थानीय भीमनारायण चौकबाट शुरु भएको ¥यालीले बजारको विभिन्न भागको परिक्रममा गरी स्थानीय मदनचौकमा सभामा परिणत भएको थियो । सभामा बोल्ने वक्ताहरुले महिला अधिकार सुनिश्चित गर्नका लागी हरेक क्षेत्रमा महिलाको समान सहभागिता हुनु आवश्यक रहेको बताएका छन् । उनिहरुले महिला सशक्तिकरणका लागी महिलाहरुका लागी आय आर्जन सीपमुलक कार्यक्रमको खाँचो रहेको भन्दै ग्रामीण क्षेत्रमा हिंसा न्युनिकरणका लागी सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा जोड दिएका छन् ।
सभामा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती, महिला तथा बालबालिका कार्यालय धनकुटाका महिला विकास अधिकृत मञ्जु लोहनी, नेपाली काग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई, नेकपा एमाले जिल्ला कमिटी धनकुटाका सचिवालय सदस्य टंक चौहान, नेकपा माओवादी केन्द्रका सचिव ऋषिराम ढुङ्गगाना, पारालिगल समन्वय समिति धनकुटाका अध्यक्ष कोपिला शंकर लगायतले बोल्नु भएको थियो । दिवसको अवसरमा आयोजित ¥यालीमा सहभागिहरुले महिला हिंसा अन्त्य गरौँ, हिंसा र भेदभाव रहित परिवार, शान्ति र उन्नतिको आधार भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर सहभागिता जनाएका थिए । दिवसका अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।
सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलन गरे । जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । १९११ मा पहिलोपटक अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो । त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग यो दिवस मनाउने गरेका छन् ।