राजनीति

स्थानीय निकायको निर्वाचन बैशाख ३१ गते गर्ने दलहरुको निर्णय

मन्त्रिपरिषद बैठकले आगामी २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिए।
निर्वाचन आयोगले वैशाख ३१ मै निर्वाचन गर्न प्रस्ताव गरेअनुसार मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। आजै तेस्रोपटक मन्त्रिपरिषद बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेको थियो। यादवले वैशाख ३१ मा चुनाव गर्न सकिने सरकारलाई बताएका थिए। त्यसपछि झन्डै दुई घन्टा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन मिति घोषणा गरेको हो।
सरकारले निर्वाचनका लागि आवश्यक रकम दिन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएको छ। यसअनुसार १० अर्ब २९ करोड ६३ लाख ७६ हजार रुपैयाँ आयोगलाई तुरुन्तै प्रदान गरिनेछ। यसअघि वैशाख ३० र ३१ मा निर्वाचन गरेर जेठ ७ गतेसम्म सकाउने भन्ने थियो। यसो गर्दा निर्वाचन परिणाम आउन थप १० दिन समय लाग्छ। संविधानमा जेठ १५ सम्म अर्को आर्थिक वर्षको बजेट ल्याइसक्नुर्छ भन्ने प्रावधान छ। कांग्रेस सभापति शेरबहादुर देउवा आगामी बजेट आफ्नै सरकारले ल्याउनुपर्छ भन्ने मनस्थितिमा छन्।
कांग्रेस र माओवादीबीच चैत मसान्तसम्म पुष्पकमल दाहाल प्रधानमन्त्री र वैशाखदेखि देउवा प्रधानमन्त्री हुने सहमति भएको थियो।