कला साहित्य

बटुक बिहिन बन्यो विद्यापिठ

लक्ष्मी गौतम
पाँचथरको सभाङ ८ र भारपा २ को संगमस्थाल जोरपोखरीमा सञ्चालीत मेची अञ्चलकै सबैभन्दा पुरानो विद्यापिठ बटुकविहिन जस्तै भएको छ।

विक्रम सम्वत १९९० सालमा स्थापना भएको ब्रह्मयोगेश्वर बैदीक विद्यापिठमा वर्षेनी बटुक घट्दै गएपछि यस्तो भएको हो ।
कुनैवेला यो विद्यापिठबाट एक बर्षमा ४५ जनासम्म बटुकहरुले गुरुकुल शिक्षा लिएको तथ्यांक छ । हाल विद्यापिठमा चार जना बटुकले गुरुकुल शिक्षा लिइरहेको आश्रमका शिक्षक योगेश्वर भट्टराइ वताँउछन । २०५२देखि २०६२ सम्म चलेको दशवर्षे द्वन्दपछि गुरुकुल शिक्षा प्रतिको आकर्षण घटेको स्थानीयको भनाई छ । गुरुकुल शिक्षा प्रति आस्था कम हुँदै जानु र द्वन्दका समयमा माओवादीले सस्कृत शिक्षा बन्द गर्न विभिन्न हर्कत गरेपछि गुरुकुल शिक्षाको आकर्षण घटेको भट्टराईको भनाई छ ।
ब्रह्मयोगाश्रम सिद्धस्थल गुरुकुल आश्रम द्वारा नै विद्यापिठ सञ्चालन गरिएको हो । सुरक्षा चुनौतीका कारण गुरुकुल आश्रम संकटमा पर्दै गएकाले विद्यापिठमा शिष्यहरुको संख्या घट्दै गएको आश्रमका अध्यक्ष चिदानन्द खतिवडाले जानकारी दिए । आश्रममा पठन पाठनका लागि आवस्यक फर्निचरसँगै गतिलो भवन नहुुँदा पटक–पटक अज्ञात व्यक्तिहरुले आक्रमण गर्दै छात्रहरुलाई अपमान र गाली गलौज गर्ने र धम्काउने गरिएको उनी बताउँछन् । अरुतिर सुविधासम्पन्न विद्यालय र आश्रमहरु भएकाले यहाँ बटुकहरु आउन छाडेको खतिवडाको भनाई छ ।
१९८३ सालमा स्थापित यो आश्रममा बैदिक विधि अनुसार चण्डी, रुद्री, बेद, व्याकरण र कौमादी जस्ता विषयमा एसएलसी सरहको पठन पाठन गरिँदै आएको छ । जसका लागि जिल्ला शिक्षा कार्यालय पाँचथरले विद्यालयलाई एकजना शिक्षक र एकजना कार्यालय सहायक गरी दुईजना कर्मचारीको दरवन्दी दिएको छ । हाल चार जना शिष्यहरुले मात्र आवासिय रुपमा अध्ययन गर्दै आएका छन् ।
विगतमा सस्कृत भाषा र व्याकरण अध्ययन गर्न ब्राह्मण समुदाय वाहेकका वटुकलाई निषेध गरिएकोमा पछिल्लो समय उक्त आश्रमको

सञ्चालक समितिले आदीवासी जनजाती दलित लगायत सवै जाती र समुदायका विद्यार्थीलाई अध्ययन गर्ने अवसर प्रदान गरेको छ । यहाँबाट बेदसम्मको अध्ययन गरिसकेका विद्यार्थी उच्च शिक्षा हासिल गर्न झापाका विद्यापिठ र भारतको वनारस पठाउने गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय पाँचथरवाट समेत स्विकृति लिइएर चलाँइदै आएको उक्त आश्रममा वस्ने वटुकहरुका लागि राम्रो भवन नहुँदा यस अघि पटक पटक अज्ञात समूहले आक्रमण गरेर त्यहाँ राखिएका सोलारसेट जस्ता सामग्री लुटपाट भएका थिए । गुरुकुलमा रहने वटुकलाई विभिन्न स्थानवाट आउने मानिसले टुप्पी पाल्ने, टपरे जस्ता अपमानित शव्द प्रयोग गर्दै गाली वेइज्जति र घृणा भावले हेरिने गरेकाले पनि गुरुकुल थप संकटमा पार्ने षड्यन्त्र भएको सारोकारवालाहरु बताउँछन् ।
जिल्ला को प्रसिद्ध र धार्मिक तिर्थस्थल समेत रहेको जोरपोखरीमा सञ्चालित यो विद्यालय गुरुकुल पद्धतिबाट पढाइ हुने मेची अञ्चलकै पहिलो हो । पछिल्लो समयमा विभिन्न कोणवाट संस्कृत भाषामाथि प्रहार भइरहेको अवस्थामा यस्ता विद्यालयहरुमा भौतिक रुपमा आक्रमणसँगै छात्रहरुलाई गाली वेइज्जति गर्नेहरुलाई कानूनी दायरामा ल्याउन, आश्रममा भौतिक पुर्वाधार निर्माण गर्नसँगै सुरक्षा प्रदान गर्न राज्यका निकायको ध्यानाकर्षण हुनुपर्ने सरोकारवालाहरु बताउँदै आएका छन् ।