मोफसल

जीप दुर्घटनामा श्रीमान्–श्रीमतीसहित तीनको मृत्यु, ६ घाइते

पाँचथर: अर्घाखाँचीमा सोमबार एक बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइते छन् ।

कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको लु१ज ४३३९ नम्बरको जीप नरपानीनजिकै दुर्घटना भएको हो ।

मृत्यु हुनेमा अर्घाखाँचीको ढाकाबांग घर भइ हाल दाङको लमही बस्दै आएका ५१ वर्षीय घनश्याम खनाल र उनकी श्रीमती ४६ वर्षीया श्यामकला खनाल छन् ।

मृतक एकजना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

दुर्घटनामा जीपचालक कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका वीरेन्द्र श्रेष्ठ, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौरका उमेश रेग्मी, सोही ठाउँका सीमा रेग्मी र उनका एक वर्षीय छोरा आदित्य, दाङको लमही नगरपालिका–५ का अनिता खनाल र विन्दु खनाल घाइते भएका छन् ।

घाइतेहरुमध्ये चारजनालाई थप उपचारका लागि चौराह अस्पताल बुटवल पठाइएको छ । अरु घाइतेहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा जीप ओरालो सडकमा अनियन्त्रित भइ सडकदेखि करिब साढे ३०० मिटर तल खसेको देखिएको प्रहरीले जनाएको छ । मध्याह्न साढे १२ बजेतिर दुर्घटना भएको हो ।

इमेजखबर