खेलकुद

भुटानलाई हराउँदै बंगलादेश साफ यू–१८ फुटबल च्याम्पियनिसपको फाइनलमा

जारी साफ यू–१८ फुटबल च्याम्पियनिसपमा बंगलादेश फाइनलमा पुगेको छ । गएको संस्करणको उप–विजेता बंगलादेशले भुटानलाई ४–० गोल अन्तरले पराजित गरी दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

समूह चरणमा समान गोल अन्तर भएपछि भारतसँग गोला प्रथामा उप–विजेता भएको बंगलादेशले समूह ए को विजेता भुटानमाथि ३–० को सानदार जित दर्ता गर्न सफल भयो । तीन गोल पहिलो हाफमा गरेको बंगलादेशले दोस्रो हाफमा १ गोल थपेको थियो ।

हलचोकस्थित एपीएफ मैदानमा बंगलादेशले पहिलो हाफको दोस्रो मिनेटमै अग्रता बनाएको थियो । कप्तान यासिन आराफातले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा मोहम्मद अहमेद फाहिमले गोल गर्दै बंगलादेशलाई दुई शून्यको अग्रता दिलाए । भुटानमाथि सुरुदेखि नै दबाव बनाएको बंगलादेशले ३२ औं मिनेटमा मोहम्मद मराजले तेस्रो गोल थपेका थिए ।

पहिलो हाफमा ३ गोल गरेको बंगलादेशमाथि दोस्रो हाफमा भुटानले सम्हालिएर खेले पनि गोल फर्काउन भने असफल रह्यो । खेल सकिन केही मिनेट बाँकी रहेका बेला बंगलादेशका दिपकले डी बक्स बाहिरबाट गोल गर्दै ४–० को फराकिलो जित दिलाए । शुक्रबार अर्को सेमिफाइनलमा भारत र माल्दिभ्स खेल्दैछन् । यो खेलको विजेताले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

उज्यालो