फिचर मोफसल समाज

देशैभर चीसो बढ्योः उच्च भागमा हिमपात, मुस्ताङमा जम्यो खोला

पाँचथर:मौसममा आएको परिवर्तनसँगै देशभर चिसो बढेको छ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले देशभर चिसो बढेको मौसम पुर्वामानुमान महाशखाले वर्नाको छ ।
देशका उच्च भागका ठाउँ ठाउँमा हिमपात भएको छ भने चिसो अत्यधिक बढेको छ । पहाडी तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ । हाल देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली हुनुका साथै मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहेको महाशाखाले उल्लेख गरेको छ ।

हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् । हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताउनुभएको छ ।

विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको बतादै उहाँले साना साना बालबालिका चिसोका कारण विद्यालयको प्राङ्गनमा आगो बालेर परीक्षा दिने काम भइरहेको बताउनुभयो ।

त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीयवासी जुनराज रोकायले बताउनुभयो ।
हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिनुभयो । डोल्पामा दुई शैक्षिक शत्र शुरु हुने गरेका छन् ।

चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।

यसैगरी सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ । तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताउनुभयो ।

बिहीबार रातिदेखि हिउँ पर्न थालेको छ । स्थानीयवासी चिसोका कारण घरबाहिरको काम गर्न सकेका छैनन् । गाईवस्तु गोठमै राखेर भण्डारण गरिएको सुख्खा घाँस खुवाइएको छ । जोमसोम–कोरला सडकलगायत विकास आयोजना चिसोले प्रभावित भएका छन् ।

उपकरण र मजदूरले काम गर्न सकेका छैनन् । जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन् ।

गाउँमा घर कुरुवा राखेर स्थानीयवासी न्यानो ठाउँमा गएका छन् । उनीहरु गर्मी बढेपछि फागुनमा मात्र घर फर्कने जनाइएको छ । स्थानीय तह, वडा र सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि पनि अधिकांश पोखरा गएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका कर्मचारीले पोखरामा सम्पर्क कार्यालय राखेर सेवा दिएका छन् । उपल्लो मुस्ताङका विद्यालयहरु पनि पोखरामा घुम्ती कक्षा सञ्चालन गरिएको छ ।

बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायतका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।

हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले बताउनुभयो ।

हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले हिउँ परेका कारण स्थानीय किसान भने हिउँ पर्दा हिउँदेबाली सप्रिने आशमा खुशी भएका छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको अर्का स्थानीयवासी ध्वजबहादुर विष्टले जानकारी दिनुभयो ।

हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । त्यस क्षेत्रका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका ठाउँहरुमा मसिनो पानी परिरहेको छ ।

पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ । चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न उच्च सर्तकता अपनाउनुपर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सुझाएको छ ।

बिहीबारको हिमपातले रुकुमपूर्वका हिमशृंखला सेताम्मे बनेका छन् । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा बिहीबार हिमपात हुँदा पत्थर देखिने पुथा आसपासका साना हिमाल र सिस्ने हिमाल सेताम्मे बनेका हुन् ।

चाररपाँच वर्ष अघिसम्म सेताम्मे देखिने यहाँका हिमाल पछिल्लो समय भने जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर पत्थर मात्र देखिने गरेको थियो । तर बिहीबार परेको हिउँले सिस्नेलगायत हिमाल सेताम्मे देखिएका छन् ।

हिमपात भएसँगै चिसो बढेको छ । चिसोले नागरिकको जनजीवन प्रभावित बनेको छ । हिमपातसँगै आकाशमा लागेको बादलको कारणले गर्दा रुकुमपूर्वलगायत आसपासका क्षेत्रमा टेलिफोन सेवामा पनि अवरुद्ध भएको छ । घामको भरमा सञ्चालन हुने रुकुमपूर्वका टावर आकाशमा बादल लाग्ने वित्तिकै फोनले काम गर्न छोड्छ ।
लामो समयपछि रुकुमपूर्वको उच्च हिमाली क्षेत्र सिस्ने र पुथा हिमाललगायत ती आसपासका क्षेत्रमा हिमपात भएको हो । रुकुमपूर्वलगायत अन्य जिल्लामा पनि बिहीबार हिमपात भएको छ ।

हिमपातकै कारण लामो समयसम्म पत्थर मात्र देखिने हिमाल सेतै देखिएका छन् । तर जिल्लामा चिसो बढ्दा नागरिकको जनजीवनमा असर परेको छ । रुकुमपूर्वलगायत अन्य जिल्लामा पनि बिहीबार हिमपात भएको छ ।

रासस

error: Content is protected !!