अर्थ

भेडेटारमा पर्यटकको आकर्षण बन्दै, होटल व्यवसाय फस्टाउँदो

पाँचथर:प्रदेश– १ को चर्चित पर्यटकीय क्षेत्रमध्येको भेडेटार पूर्वको मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ ।

पर्यटकको आवागमन बढेपछि यस स्थानमा युवाहरुले होटल व्यवसायमा लगानी गर्न थालेका छन् ।

सुनसरीको धरानबजार भन्दा १७ किलोमिटर माथि रहेको भेडेटारमा बेलायतका तत्कालीन युवराज चाल्र्स आएर सैलुङ डाँडाको तारिम गरेपछि यहाँ पर्यटकहरुको आगमन सुरु भएको हो ।पूर्वी नेपालकै प्रसिद्ध क्षेत्रमध्येको भेडेटारमा पर्यटकहरुको आवागमन बढ्न थालेसँगै होटल व्यवसायमा लगानी गर्नेहरु पनि बढ्दै गएका छन् ।

धनकुटाका किरण राई वर्षौँ पहिलेबाट गर्दै आएको सुनचाँदी व्यवसायलाई छाडेर अहिले यस क्षेत्रमा रिसोर्ट सञ्चालन गरिरहेका छन् ।गत वर्षदेखि ३ करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको रिसोर्टबाट लगानी सुरक्षित हुुनुका साथै प्रतिफल पनि बढी हुनेमा उनी विश्वस्त छन् ।

राईजस्तै अन्य युवा पर्यटन व्यवसायी पनि यस क्षेत्रमा लगानी गर्न हौसिएका छन् ।२०५० सालबाट व्यवस्थित रुपमा होटल व्यवसाय सञ्चालनमा आएको भेडेटारमा अहिले साना ठूला गरी झण्डै १ सय ५० होटल सञ्चालनमा छन् ।

२६ वर्षको अन्तरालमा जग्गाबाहेक अन्य संरचना निर्माणमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको तथ्यांकमा उल्लेख छ ।जहाँ दैनिक १ हजारको संख्यामा आन्तरिक र बाह्य पर्यटकहरु अवलोकन गर्न आउँछन् ।

पर्यटकको आकर्षण देखिेर होटल व्यवसायमा उत्साहपूर्ण लगानी भइरहेको होटल एसोसियसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीको भनाइ छ ।

छिनमै कुहिरो लाग्ने र उघ्रिने, बाहै्र महिना चिसो मौसम विभिन्न हिमशृंखलासहित तराईका फाँट देख्न पाइने भएकाले यो ठाउँ पर्यटकको आकर्षणमा परेको युवा व्यवसायी लिलाराज लावती बताउँछन् ।समुद्री सतहभन्दा १४ सय २६ मिटरको उचाइमा पहाडको टुम्पोमा अवस्थित भेडेटारमा ७० प्रतिशतभन्दा बढी भारतीय पर्यटक र बाँकी आन्तरिक पर्यटक आउने गरेका छन् ।

पर्यटकलाइ थप आकर्षित गराउन नमस्ते झरनामा क्यानोनिङसहित जिपलाइन, स्काइ वे सञ्चालनको तयारी भइरहेको छ ।

इमेजखबर