मोफसल

इलाममा असोज पहिलो साता साहित्य महोत्सव हुने

पाँचथर : आगामी असोज ३ र ४ गते इलाम सदरमुकाममा ‘इलाम साहित्य महोत्सव २०७६’ हुने भएको छ । ‘पर्यटनको लागि साहित्य’ भन्ने नाराको साथ इलाम साहित्य समाजले महोत्सव आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी जनाइएको छ ।

सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्«िट्रय क्षेत्रका चर्चित साहित्यकार, लेखक, कवि, चिन्तक, विश्लेषक, कलाकार, राजनीतिज्ञहरु सहभागी हुने आयोजकले जनाएको छ । महोत्सवले लेखक र पाठकबीच अन्तरक्रिया गर्ने मञ्च दिनुको साथै सामाजिक बहस र स्वतन्त्र विचार निर्माण गर्न सघाउ पुग्ने, देश विदेशका चर्चित साहित्यकार, लेखक, पत्रकार, राजनीतिज्ञसँग पाठकले प्रत्यक्ष अन्तरक्रिया गर्ने, विश्व साहित्यको उतारचढावलाई बुझ्न मद्दत गर्नको साथै विषयगत ज्ञानको दायरा फराकिलो पार्ने आयोजकको विश्वास छ ।

पछिल्लो समय इलाममा साहित्यिक गतिविधि सुस्ताइरहेको अवस्थामा पुनर्जागरण र पुनर्उत्थानका लागि महोत्सवको आयोजना गरिएको इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए । इलाममा २००९ सालमा करफोकमा बृृहत् साहित्यिक सम्मेलन आयोजना गरिएको थियो । त्यसपछि २०४५ सालमा महानन्द पुरस्कार समारोहपछि २०६३ र २०६९ सालमा विशेष साहित्यिक कार्यक्रम गरिएको थियो । यसपछि कुनै पनि साहित्यिक महोत्सव तथा सम्मेलनहरु आयोजना गरिएको थिएनन् ।

महोत्सवमा नेपाल भ्रमण वर्ष २०२० लाई समेत प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, चिन्तक प्रदिप गिरी, वरिष्ठ साहित्यकार बैरागी काइँला, चर्चित अभिनेता दयाहाङ राई, अभिनेतृ ऋचा शर्मासहित ख्याती प्राप्त साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनीतिज्ञलगायत ढेड सय र भारतको दार्जिलिङ, सिक्किमबाट २० गरी करिब २०० को जनाको सहभागिता रहनेछ ।

दुई दिनसम्म चल्ने महोत्सवमा विभिन्न विषयका ११ वटा सेसन तय गरिएका छन् । समृद्धि कस्तो र कसका लागि, करोड क्लब र अफवाह, सत्ता कि प्रतिपक्ष, मानकमाथि प्रश्न, किन बिक्न छोड्यो ?, दश वर्षपछिको नेपाल, अधिकारको पेवा, ‘अ’ मा अल्झेको इलाम, पछिल्ला साहित्यिक आन्दोलनहरु, गीतको दुःख र पर्यटनको आयाम शीर्षक तयार गरिएका छन् । यसभन्दा अन्य विषयहरु पनि थप हुन सक्ने आयोजकले जनाएको छ ।

प्रस्तुत शीर्षकहरुमा साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनीतिज्ञ र सहभागीहरुबीच छलफल हुने समाजका सचिव रोशन राइले बताए । महोत्सव सम्पन्न गर्नको लागि करिब २५ लाख रुपैयाँ लागत लाग्ने इलाम साहित्य समाजका कोषाध्यक्ष सुरेन्द्र राईले जानकारी दिए । साहित्यको इतिहासमा इलामले विशिष्ट महत्त्व राखेको र इलामे भूमिबाट नै सन्त ज्ञानदिल दास, महानन्द सापकोटा, विष्णु नवीन, तारानाथ शर्मा आदि विशिष्ट स्रष्टाहरुले इलामलाई चिनाएको छ ।

nagarikkhabar.com