मोफसल

डाक्टर केसीलाई लिन डडेल्धुरा गयो सेनाको हेलिकप्टर

पाँचथर :डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीलाई ल्याउन काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर गएको छ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार डाक्टर केसीको स्वास्थ्य जटिल बन्दै गएकाले उनलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर गएको हो।

यसअघि आइतबार विज्ञप्ति निकालेर डडेल्धुरा अस्पतालले केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको जनाएको थियो।

केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएकाले चिकित्सकीय हैसियतले क्षमताभन्दा बाहिर गएका बखत अस्पतालले कुनैपनि जटिलता व्यवस्थापन गर्न नसक्ने अस्पतालको भनाइ छ।

केसीको थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण नभएको अस्पतालले जनाएको छ।

‘यस अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति र उपकरण उपलब्ध नभएकाले उहाँको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गर्दै यहाँबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ,’ अस्पतालको विज्ञप्तिमा भनिएको छ।

कात्तिक १८ देखि डाक्टर केसी डडेल्धुरामा १७ औं अनसनमा बसेका छन्। पहिला निजी घरमा अनसन बसेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल ल्याइएको थियो।

प्रशासनले डाक्टर केसीलाई काठमाडौं पठाउन पहल गरे पनि केसीले मानेका छैनन्।

‘उहाँले काठमाडौं जान मान्नुभएको छैन। हामी कोशिश गरिरहेका छौं,’ प्रजिअ पौडेलले भने।

काठमाडौंबाट गएको हेलिकप्टर डडेल्धुरास्थित सैनिक ब्यारेकमा राखिएको छ।

सेतोपाटी

error: Content is protected !!