विज्ञान प्रविधी

फेसबुकमाथि साढे ५ खर्ब रुपैयाँ रकमको जरिबाना सिफारिस

अमेरिकाको द फेडेरल ट्रेड कमिसन (एफटिसी)ले सामाजिक सञ्जाल फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको छ ।

प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक स्वार्थका लागि अवैध रुपमा प्रयोग भएकोबारे अनुसन्धान गरिरहेको एफटिसीले फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराउनुपर्ने ठहर गरेको हो । फेसबुकका ८ करोड ७० लाखभन्दा बढी प्रयोगकर्ताको जानकारी राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले अवैधरुपमा प्राप्त गरी निहित राजनीतिक स्वार्थका लागि प्रयोग गरेको सम्बन्धमा एफटिसीले अनुसन्धान गरिरहेको छ ।

फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिराउनेसम्बन्धी प्रस्ताव एफटिसीमा ३–२ भोटले पारित भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यस सम्बन्धमा फेसबुक र एफटिसीले कुनै प्रतिक्रिया दिन नचाहेको बीबीसीले जनाएको छ । एफटिसीले सन् २०१८ को मार्चमा अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा फेसबुकले सन् २०११ मा भएको सम्झौता उल्लंघन गरे या नगरेको सम्बन्धमा हेरिएको जनाइएको छ । सो सम्झौताअनुसार कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत जानकारी प्रयोग गर्न सम्बन्धित प्रयोगकर्तालाई जानकारी गराउनुपर्ने र त्यसका लागि सहमति लिनुपर्ने व्यवस्था छ ।

एफटिसीमा फेसबुकका प्रयोगकर्ताको जानकारी अवैध रुपमा प्रयोग भएको सम्बन्धी विषयको अनुसन्धानलाई पाँच अर्ब अमेरिकी डलर तिराएर अन्त्य गर्ने प्रस्तावमा सदस्यबीच विमति भएको दि वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ । 

जरिवानासम्बन्धी प्रस्ताव न्याय विभागको सिभिल डिभिजनले अन्तिम रुप दिनुपर्छ । यसका लागि कति समय लाग्छ भन्ने थाहा नरहेको स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । यो जरिवाना सम्बन्धी प्रस्तावले अन्तिम रुपमा पाएमा एफटिसीले कुनै पनि प्रविधिसम्बन्धी कम्पनीलाई लगाएको अहिलेसम्मकै ठूलो जरिवाना हुनेछ । (एजेन्सी)