विश्व

आप्रवासी बाबु–छोरीको दाहसंस्कार

मेक्सिको सिटी, असार १७ । मेक्सिको–अमेरिका सीमा नदी रियो ग्रान्डेमा डुबेर मृत्यु भएका ओस्कार मार्टिनेज र उनकी २३ महिनाकी छोरी भ्यालेरीको एलसाल्भाडोरमा सोमबार दाहसंस्कार गरिएको छ ।अवैध आप्रवासीकारुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्नेक्रममा सीमा नदी रियो ग्रान्डेमा डुबेर उनीहरु दुवैको गत जुन २३ मा मृत्यु भएको थियो ।

उनीहरु मध्य अमेरिकी मुलुक एलसाल्भाडोरका स्थायी बासिन्दा हुन् ।साल्भाडोरका सन्चारमाध्यमकाअनुसार एलसाल्भाडोरको राजधानी सान साल्भाडोरबाट दक्षिणस्थित ला बारमेजा समाधिस्थलमा पारिवारिक कार्यक्रमबीच उनीहरु दुवैको दाहसंस्कार गरिएको हो ।परिवारका सदस्यहरुको अनुरोधमा त्यस अवसरमा विशेष कार्यक्रम केही राखिएको थिएन ।

सन्चारमाध्यमहरुकाअनुसार करिब ५० जना शोकाकुल आफन्तले मृत व्यक्तिको सम्झनामा सेतो पुष्पगुच्छा अर्पित गरेका थिए ।ओस्कार र भ्यालेरीको गत जुन २३ मा मृत्यु भएको थियो ।अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले दुवैको शव रियो ग्रान्डे नदीको मेक्सिकोतर्फको किनारामा जुन २४ मा फेलापारेका थिए ।छोरी भ्यालेरीको शव भने बाबुको शर्टमा बाँधिएको अवस्थामा भेटिएको थियो ।ओस्कार र भ्यालेरीको शव आइतबार मेक्सिकोबाट सान साल्भाडोर ल्याइएको थियो ।मार्टिनेज र उनकी पत्नी सान–साल्भाडोरको एक रेस्टुराँमा काम गर्दथे । तर, उनीहरु संयुक्तराज्य अमेरिकामा राम्रो अवसरको खोजीमा गत अप्रिलमा मेक्सिको प्रस्थान गरेका थिए र रियो ग्रान्डे नदी पार गरेर अमेरिका प्रवेश गर्न चाहन्थे ।

यस्तै दुःखद् घटना यसअघि पनि भएका छन् । गत जुन २५ मा पनि रियो ग्रान्डे नदीमै एक व्यक्तिको शव फेलापरेको थियो । यस वर्ष थुप्रै व्यक्ति नदीमा डुबिसकेका छन् ।अमेरिकी सीमा प्रशासनले सन् २०१८ मा २८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ । तर, अधिकारकर्मीहरुले मृत्यु हुनेको वास्तविक संख्या अझ बढी रहेको दाबी गरेका छन् ।अमेरिका–मेक्सिकाबीच करिब तीन हजार किलोमिटर सीमा रहेको छ ।

मध्य अमेरिकी मुलुकहरु ग्वाटेमाला, एलसाल्भाडोर र होन्डुरसबाट हरेक वर्ष ठूलो संख्यामा अवैधरुपमा अमेरिका प्रवेश गर्नेक्रम वर्षौंदेखि जारी छ ।अमेरिकी ट्रम्प प्रशासनले अवैध आप्रवासी नियन्त्रणका लागि प्रवेशमा कठोर कदम चाल्ने बताउँदै आएको छ । रासस/सिन्ह्वा